देशभर पहिरोको जोखिम, सात वर्षमा १६ सयको मृत्यु

कञ्चनपुरको महाकाली नगरपालिका–१० स्थित ठगुन्ना टोलमा पानीको निकास नभएर घर डुबान परेपछि सुरक्षित स्थानतर्फ जाँदै स्थानीय । तस्बीर- शेरबहादुर सिंह, रासस

काठमाडौँ, १८ असार – ग्रामीण तथा पहाडी क्षेत्रमा प्राविधिकरुपमा परीक्षण नगरी सडक निर्माण गर्ने प्रवृत्ति बढेका कारण बाढी पहिरोबाट जनधनको क्षति हुने क्रम बढेर गएको छ ।

कमजोर भू–धरातलमा बिनाअध्ययन निर्माण गरिएका सडक संरचना, बसाइँ सराइका कारण बढेको वन फँडानी तथा अन्य मानवीय अतिक्रमणका कारण बाढी पहिरोको जोखिम बढेर गएको हो ।

जानकारहरुका अनुसार महाभारत पर्वत शृङ्खलाको भूगोल कमजोर रहेको र सोही क्षेत्रमा डोजर र एक्काभेटरको प्रयोग गरेर सडक निर्माण गरिनाले नै पहिरोको मात्रा बढ्दै गएको हो ।

पछिल्लो सात वर्षमा बाढी पहिरोका कारण एक हजार ६७२ जनाको मृत्यु भएको छ । यस वर्षको हालसम्म २७५ जनाको निधन भएको छ ।

सरकारको पछिल्लो तथ्यांकअनुसार यस अवधिमा बाढी पहिरोबाट ६८२ जना घाइते भएका छन् । यस्तै अविरल वर्षाका कारण ५५ जनाको निधन भएको छ । यस वर्षमात्रै रु ६६ करोड ७४ लाख ४३ हजार ६८२ बराबरको क्षति भएको छ ।

यस वर्ष प्राकृतिक विपत्तिका कारण ४८ जना हराइरहेका छन् । यस्तै दुई हजार १२१ जना घाइते भएका छन् । यस्तै महामारीका कारण पछिल्लो सात वर्षमा ९५ जनाको मृत्यु भएको छ भने ७९ जना घाइते भएका छन् ।

देशभर नै मनसुन सक्रिय भई भारी वर्षा शुरु भएको छ । मनसुनका कारण वर्षा बढी हुने क्रम शुरु भएकाले बाढी पहिरोको जोखिमसमेत बढ्दै गएको देखिन्छ ।

बाढी पहिरोका कारण हुने मानवीय क्षति न्यूनीकरणका लागि सरकारले आवश्यक तयारी गरेको जनाएको छ ।

यसकारण बढ्यो बाढी पहिरो 

भूगर्भविद् डा कृष्ण देवकोटाका अनुसार पहाडी तथा महाभारत क्षेत्रमा मानवीय अतिक्रमणका कारण पहिरोको जोखिम बढेको हो । बिना अध्ययन, प्राविधिक तयारी नगरी डोजरको प्रयोग गरेर सडक निर्माण गर्ने प्रवृत्तिका कारण पनि महाभारत तथा पहाडी क्षेत्रमा पहिरोको मात्रा बढेको हो ।

यस्तै अन्य प्राकृतिक एवं भौगर्भिक कारणले पनि ठूला–ठूला पहिरो जाने गरेको छ । केही दिन पहिले बागलुङमा गएको पहिरो त्यस्तै भौगर्भिक कारणले गएको डा देवकोटाको भनाइ छ । धादिङको पछिल्लो पहिरो पनि त्यस्तै प्रकृतिको हुन सक्ने देवकोटाको दाबी छ ।

चुरे तथा तराईका क्षेत्रमा पछिल्लो समय बढेको वन फँडानीका कारण पनि बाढी र पहिरोको मात्रामा वृद्धि भएको छ । वर्षात्को पानी रोक्ने रुख कटान हुँदा पानी सोझै जमिनमा पर्ने र सोस्न नसक्दा समस्या बढेर गएको छ ।

यस्तै महाभारत पर्वत शृङ्खला र चुरे क्षेत्रमा एकखालको दरार पैदा भएको जानकारी दिँदै डा देवकोटाले भन्नुभयो, “प्राकृतिकरुपमा नै सो क्षेत्रमा केही दरार पैदा भएको छ । जसका कारण प्राकृतिकरुपमा नै पहिरोको मात्रा बढ्दै गएको छ । त्यसलाई नियन्त्रणका लागि वन संरक्षण तथा बायो–इन्जिनियरिङ गर्नुपर्छ ।”

पछिल्लो समय मुग्लिन–नारायणगढ सडकखण्डमा बढेको पहिरो पनि मानवीय अतिक्रमणका कारण बढेको उहाँको भनाइ छ । “सडक निर्माण गर्दा बढी मात्रामा मेशिन तथा अन्य उपकरणको प्रयोग गरियो । कमजोर धरातलमा अत्यधिक मात्रामा गरिएका मेशिनको प्रयोग नै पहिरोको कारण बनिरहेको छ ।”

त्रिशूली नदीका कारण पानीको दबाबसमेत सोही क्षेत्रमा पर्ने, भौगर्भिक दरारसमेत सोही क्षेत्रमा रहेको र सडक निर्माणमा अत्यधिक मात्रामा मेशिनको प्रयोग गरिएका कारण सो सडकखण्डमा दैनिक पहिरो खसेको डा देवकोटाको भनाइ छ । पहिरो नियन्त्रणका लागि बायो इन्जिनियरिङ नै उपयुक्त विकल्प रहेको उहाँको सुझाव छ ।

कुन कुन स्थान बढी जोखिममा

विशेषगरी मध्यपहाडी राजमार्गको अधिकांश खण्डमा पहिरोको जोखिम बढी रहेको छ । यस्तै महाभारत तथा पहाडी क्षेत्र, चुरे र महाभारत पर्वत शृङ्खलाको बीचको क्षेत्र, बुटवल–पाल्पा सडकखण्ड, नेपालगञ्ज–सुर्खेत–जुम्ला सडकखण्ड पनि पहिरोको उच्च जोखिममा रहेको छ । डा देवकोटाका अनुसार धनगढी–डडेल्धुरा सडकखण्ड, बनेपा–बर्दिवास, ओखलढुंगा, सोलुखुम्बु, धादिङ, रसुवा, नुवाकोट, गोरखा, लमजुङ, पूर्व पहाडका धेरैजसो जिल्लासमेत पहिरोको जोखिममा रहेका छन् ।

यस्तै पासाङ ल्हामु राजमार्ग, पृथ्वी राजमार्ग पनि पहिरोको जोखिममा रहेको छ । ती क्षेत्रमा राहत तथा उद्धारका लागि तम्तयारी हालतमा राख्नुपर्ने आवश्यकता देखिएको छ ।

के छ सरकारको तयारी ?

गृह मन्त्रालयका राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख शंकरहरि आचार्यका अनुसार बाढी पहिरोजस्ता प्राकृतिक प्रकोपको क्षति न्यूनीकरणका लागि मुलुकका विभिन्न पाँच स्थानमा आपत्कालीन क्षेत्रीय भण्डारण गृहलाई तम्तयारी हालतमा राखिएको छ ।

राहत तथा उद्धारका लागि आवश्यक हेलकप्टर तम्तयारी हालतमा राखिएको छ । यस्तै सडक आवागमन सहज बनाउन नेपाली सेनासँगको समन्वयमा ‘हेभी इक्यूपमेन्ट’ परिचालन गर्ने गरी व्यवस्था मिलाइएको छ ।

साविकको क्षेत्रीय प्रशासन कार्यालयमा राहत तथा उद्धारका लागि योजनाबद्ध प्रयास गरिएको प्रमुख आचार्यको भनाइ छ । यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मानवीय सहायता कक्षमा विपद्पछिको उद्धारका लागि त्रिपाल, खाद्य सामग्री तथा अन्य औषधोपचार सामग्री राखिएको छ ।

यस्तै सहयोगी संस्था, नेपाल रेडक्रस तथा अन्य संस्थालाई समेत राहत तथा उद्धारका लागि तम्तयारी हालतमा रहन आग्रह गरिएको छ । यस्तै स्थानीय तहमा पनि विपद् व्यवस्थापनका लागि समिति गठन गरी तयारी हालतमा राखिएको छ ।

चट्याङबाट ८०० भन्दा बढीको मृत्यु 

चट्याङबाट मृत्यु हुनेको संख्यासमेत पछिल्लो समयमा बढेर गएको छ । यस वर्षको हालसम्ममात्रै ११९ पटक चट्याङ परेका कारण ३६ जनाले ज्यान गुमाएका छन् । यस्तै १४६ जना घाइते भएका छन् भने १७७ परिवार प्रभावित भएका छन् । कूल ८५ घरपालुवा जनावरको मृत्यु हुँदा चारवटा घर पूर्णरुपमा क्षतिग्रस्त भएको गृह मन्त्रालयले जनाएको छ ।

विसं २०६८ देखि गत चैतसम्म चट्याङका कारण ७७३ जनाको ज्यान गएको छ । यस्तै सो अवधिमा एक हजार ६९५ जना घाइते भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री