विश्वमा झन बढ्दैछन् शरणार्थी

दक्षिणी सुदानस्थित संयुक्त राष्ट्रसंघीय शरणार्थी शिविरमा चिनिया शान्ति स्थापक सेनासंग खेल्दै स्थानीय बालबालिका । तस्विर सिन्हवा

काठमाडौँ, १६ असार – विश्वमा आन्तरिक राजीतिक विवाद, हिंसात्मक विद्रोह, जातीय दङ्गा र आतङ्कवादी क्रियाकलापका कारण आन्तरिकरुपमा विस्थापित र शरणार्थीको सङ्ख्या दिनप्रतिदिन बढ्दो मात्रामा देखिएको छ ।

यसरी शरणार्थी बनेकामध्ये धेरैजसो आन्तरिक राजनीतिक कारणले हिंसा सुरु भएका देशका नै बढी भएको देखिन्छन् । लामो समयदेखि देशमा राजनीतिक अस्थिरता बढ्नाले उत्पन्न विवाद र विद्रोहले ती देशबाट नागरिक लखेटिएर, आन्तरिकरुपमा विस्थापित भई शरणार्थी बन्नुपरेको देखिन्छ ।

संयुक्त राष्ट्रसंघले हालै मात्र सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनमा विश्वमा सन् २०१७ को अन्त्यसम्ममा छ करोड ८५ लाख व्यक्ति विस्थापित भएका छन् । सन् २०१७ को अन्त्यसम्ममा विश्वभरबाट विस्थापित हुने व्यक्तिको संख्या अघिल्लो वर्षको तुलनामा ३० लाखले बढेको जनाइएको छ । गत एक दशकयता विस्थापित भएका व्यक्तिको करिब ५० प्रतिशतले वृद्धि भएको पाइएको छ । संयुक्त राष्ट्र संघका अनुसार एक दशकमात्र यो सङ्ख्या चार करोड २७ लाख रहेको थियो । वर्षेनी विस्थापितको संख्या बढिरहेका देखिन्छ । आन्तरिकरुपमा विस्थापित भएरै देशभित्रै पनि शरणार्थीका रुपमा बाँच्नु परेको र देश छोडेर शरणार्थीका रुपमा बाहिरिनुपरेको व्यक्ति समेत पर्दछन् । यसरी विस्थापित हुनेमा धेरैजसो सिरिया, अफगानिस्तान, म्यानमार र दक्षिण सुडानका नागरिक नै बढी रहेका छन् ।

सिरियामा सन् २०११ को मार्च महिनाबाट त्यहाँको तत्कालिन राष्ट्रपति बसर अल असद्को राजिनामाको माग गर्दै जनआन्दोलन सुरु भएको थियो । सो जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो । सो गृहयुद्धमा अल कायदा र इस्लामिक स्ट्टेट (आइएस) समूहका आतङ्ककारीको घुसपैठ सुरुभयो । यसले नै शरणार्थीको सङ्ख्या बढ्दै गएको छ । यसैकारण सिरियाको द्वन्द्वमा परी चार लाखभन्दा बढीको ज्यानसमेत गएको छ । तर सिरियामा परिवेक्षण गरिरहेका मानवअधिकारवादी संस्थाले भने द्वन्द्वमा परी मारिनेको सङ्ख्या यो भन्दा घेरै बढी भएको दाबी र शरणार्थीको सङ्ख्या अत्यन्त भयावह देखिन्छ ।

एक तथ्याङ्क भन्छ सिरियाका ६३ लाख नागरिक देशबाहिर नै विस्थापिन हुनपुगेका छन् । यसरी देश छोडेर हिँडेका ती नागरिक विभिन्न छिमेकी देशमा शरणार्थीको जिवन विताउन बाध्य भएका छन् । यो सङ्ख्या विश्वकै विस्थापित नागरिकको करिब एक तिहाइँ हुन आउँछ । छिमेकी देश टर्की र जोर्डनमा सिरियाली प्रायःशरणार्थीले शरण पाएका छन् । अरु लगभग त्यति नै सिरियाली देशभित्र विस्थापित भएका छन् । यो अर्को खतरनाक अवस्था हो । उनीहरु खान लाउन अथवा आधारभूत आवश्यकता पनि प्राप्त नगरिरहेको अवस्थामा जिउन बाध्य छन् ।

हालै मनाइएको विश्व शरणार्थी दिवसका अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले विश्वभर हिंसाको कारण हरेक दिन हजारौँ परिवार शरणार्थी बन्न बाध्य भएका भन्दै सहयोगका लागि सबैसँग अपिल गर्नुभएको थियो । यी शरणार्थीलाई सहयोग गर्नु विश्वका सबै देश र समुदायको दायित्व भएको उहाँले बताउनुभएको थियो । द्वन्द्वगस्त राष्ट्रमा विविध खाले हिंसाका कारण हरेक दिन हजारौँ नागरिकले कुनै न कुनै देशबाट भाग्नुपरेकाले उनीहरुको बचाउ र सहयोग गर्नु मानवीय कर्तव्य भएको उहाँको भनाई थियो ।

दोस्रो सबैभन्दा धेरै शरणार्थी बनाइरहेको देश हो अफगानिस्तान । सन् २००१ बाट ‘अफगान युद्ध’को घोषणा गर्दै अफगान सरकारसँग युद्ध गर्दै आएका तालिबान र हाल आएर आइएस आतङ्ककारीको ठूलो बिगबिगी रहेको देश अफगानिस्तानबाट पनि ठूलो संख्यामा सर्वसधारण विस्थापित भएका छन् । यस देशमा सन् २०१७ मा मात्र कम्तीमा पनि २६ लाख नागरिक आन्तरिक तथा वाह्यरुपमा विस्थापित भएका थिए ।

उता म्यानमारको हालत त्यस्तै छ । म्यानमारमा गतवर्ष मात्र १२ लाख शरणार्थी बनेका छन् । विशेषगरी रोहिङ्ग्या मुसलमान समुदायका नागरिक यसरी शरणार्थी बन्नेमा परेका छन् । हाल बंगलादेशमामात्र म्यानमारका करिब सात लाख शरणार्थी पुगेका छन् । ती शरणार्थी गएको अगष्ट महिनाबाट बढ्दै गएका हुन् । उनीको सङ्ख्या आजका दिनसम्म यतिधेरै पुगेको छ एकै देशको एउटै स्थानमा । तर उनीलाई फिर्ता गर्ने सम्बन्धमा म्यानमारको कुनै भरपर्दो चासो केही देखिँदैन, सुनिँदैन ।

म्यानमारका शरणार्थी त्यहाँको सेनाका कारण बढेका छन् । देशभित्रै आफ्नै देशको सेनाले ती अल्पसङ्ख्यक मुस्लिम आदिवासीमाथि धरपकड गरेको आरोप उनीहरुको छ । उनीहरुमात्र नभएर सेनाले धरपकड गर्ने गरेको कुरा राष्ट्रसंघीय कैयौँ खोज अनुसन्धानले पनि देखाएका छन् । सेनाले धरपकड गर्ने गरेका कैयौँ उदाहरण यी खोजीका क्रममा भेटिएका पनि छन् ।

विश्वको कान्छो राष्ट्रका रुपमा उदाएको दक्षिण सुडान विश्वमा आफ्ना देशका नागरिकलाई शरणार्थी बनाउने देशका रुपमा गनिएको छ । यस देशमा गतवर्षको अन्त्यसम्ममा २४ लाख नागरिक शरणार्थी भएका थिए । उनीहरु उक्त वर्ष विशेषगरी हिंसात्मक विद्रोहका कारण यसरी देश छोड्न बाध्य भएका थिए ।

दक्षिण सुडान पछिल्लो समयमा हिंसाको खतरनाक चपेटमा परेको देश हो । यहाँको हिंसा अत्यन्तै क्रुर छ र नयाँ देश भएपनि हिंसाको फैलावट अति द्रुत गतिमा छ । यसलाई संयुक्त राष्ट्रसंघ र अरु सम्बन्धित निकाय वा व्यक्तिले हिंसाको विकराल रुप भनेर अध्ययन गरेका छन् । अहिलेकै अवस्थामा दक्षिण सुडानको हिंसा अघि बढ्ने हो भने यसले आगामी केही वर्षमै विश्वका अरु देशको हिंसाको तुलनामा ठूलो रुप लिने शरणार्थीसम्बन्धी राष्ट्रसंघीय निकायले भनेको छ ।

राष्ट्रसंघीय शरणार्थी निकायका एकजना अधिकारीले भनेका छन्, दक्षिण सुडानको हालत एकदमै खतरा छ, यसले आगामी दिनमा विश्वलाई नै स्तब्ध बनाउने छ किनकी यहाँको हिंसाको रुप क्रुर र खतरनाक छ । उनले हालैमात्र यस देशमा त्यहाँको सरकार र विद्रोहीपक्षबीच युद्धविराम भएको र यसपछि वार्ता गर्ने भनिएकोले समयमै शान्तिवार्ताको माध्यमबाट यो समस्याको समाधान गर्न आग्रह पनि उनले गरे ।

त्यस्तै इराक, सोमालिया, सुडान, कंगो, यमन, युगाण्डा, लेबनानजस्ता देशहरुबाट पनि लाखौँको सङ्ख्यामा नागरिक विस्थापित भएका छन् । ती देशबाट पनि आन्तरिक राजनीतिक कारण र हिंसात्मक विद्रोहकै कारण यसरी नागरिक विस्थापित बन्नु परिरहेको उक्त राष्ट्रसंघीय प्रतिवेदनमा छ । यसरी विस्थापितहरुमध्ये अधिकांश गरिब देशहरुबाट बढी देखिएका छन् । यसरी विस्थापितमध्येका ८५ शरणार्थी गरिब देशका भएको बताइन्छ ।

शरणार्थीहरुको यो सङ्ख्या दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा बढी हो भनिएको छ । विश्वका विकासशिल राष्ट्रबाट औषतमा हरेक दुई मिनेटमा एक व्यक्ति विस्थापित हुने गरेको छ । युद्ध, हिंसा र अत्याचारबाट भागेर शरणमा आएका शरणार्थीको रक्षाको लागि विश्वको कुनै पनि व्यक्ति समुदाय र राष्ट्रको कर्तब्य हो भन्ने भावनाका साथ काम गर्न राष्ट्रसंघ एवम् विश्वका दाताराष्ट्रको मान्यता रहेको भए पनि व्यवहारमा भने यसो हुन सकिरहेको छैन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई आप्रवासीको शिविर बन्न नदिने धारणा राख्दै आउनुभएको छ । उता युरोपेली देशहरु पनि शरणार्थीकै मामिलामा विभाजित छन् । यता शरणार्थीको सङ्ख्या प्रतिदिन बढ्दै गर्दा यसले वर्तमान मै दुःख पाइरहेका शरणार्थीको भविश्य पनि त्यति सुरक्षित र सुनिश्चित देखिन्न ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री