बेइजिङ-चीनका राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बुधबार भएको भेटवार्ताले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुरयाएको छ । चीनको बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’ मा आज सम्पन्न दुई नेताबीचको भेटवार्तासहित चीन भ्रमणबारे जानकारी दिँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री ओलीको यो भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा महत्वपूर्ण खुड्किलो सावित भएको बताए ।
मन्त्री ज्ञवालीले भने, “यो भ्रमणको मुख्य उद्देश्य मित्रतालाई सुदृढ गर्ने थियो । दुई देशबीचको सहयोगका क्षेत्र पहिल्याउने विषयमा पनि विचारविमर्श भयो । चिनियाँ राष्ट्रपतिले प्रधानमन्त्री ओलीको सन् २०१६ को चीन भ्रमणका बेला भएका समझदारीको सुखद स्मरण गर्दै नेपालले यसबीचमा प्राप्त गरेको उपलब्धि र सक्षम नेतृत्वका लागि बधाई दिनुभएको थियो ।”
संविधानको कार्यान्वयन हुनु र तीन तहको निर्वाचन सम्पन्न भई मुलुक राजनीतिक स्थायित्वमा जानु चीनको निम्ति पनि सुखद भएको र यो नेपालको विकासका निम्ति अनिवार्य पूर्वाधार भएको विचार राष्ट्रपति सीले व्यक्त गरेको मन्त्री ज्ञवालीले जानकारी दिए ।
मन्त्री ज्ञवालीका अनुसार राष्ट्रपति सीले नेपालको समृद्धिका लागि प्रधानमन्त्री ओलीले अगाडि बढाएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभियानलाई पूरा गर्न चीन सदैव सहयोगी रहने वचनबद्धता व्यक्त गरे ।
नेपालको स्वतन्त्र छनोटको अधिकारलाई चीनले सदैव समर्थन गर्ने प्रतिवद्धता राष्ट्रपति सीले व्यक्त गर्नुका साथै नेपालको विकासमा हरतरहले सहयोग गर्ने विश्वास दिलाउनुभएको पनि मन्त्री ज्ञवालीले जानकारी दिए ।
‘बेल्ट एण्ड रोड इनिसियटिभ’ र ट्रान्स हिमालयन कनेक्टिभिटीको परिधिभित्र रहेर नेपालले पूर्वाधार विकास गर्न चाहेको र त्यसमा चीन सहयोग गर्न तत्पर रहेको चिनिया राष्ट्रपतिलाई उद्धृत गर्दै मन्त्री ज्ञवालीले बताए ।
अबको सात वर्षमा रेल
अन्तरदेशीय रेलमार्गलाई नेपालले विशेष प्राथमिकतामा राखको उल्लेख गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले अबको सात वर्षमा नेपाल र चीन रेलमार्गले जोडिने विश्वास व्यक्त गरे । राष्ट्रपति सीसँगको भेटवार्तापछि मन्त्री ज्ञवालीले भने, “छिट्टै रेलमार्ग नेपाल पुग्दैछ । त्यसको अध्ययनका लागि दुवैतर्फ निर्देशन हुन्छ ।”
उनले पूर्व सम्भाव्यता अध्ययन नेपाली प्रविधिज्ञसहितको टोलीले अगष्टसम्म सकिने र डिपिआर शुरु हुने विश्वास व्यक्त गर्दै नेपालको अर्थतन्त्रका लागि बहुआयामिक महत्वको रेलमार्ग विस्तारमा नेपालले पनि लगानी गर्ने बताए । “चीनको रेल काठमाडौँ पुग्नेछ, यसले नेपालको विकासमा ठूलो सहयोग पुग्नेछ,” चिनिया राष्ट्रपति सीलाई उद्धृत गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले भने, “राष्ट्रपति सीले नेपालको चाहनालाई ‘इन्डोर्स’ गर्नुभएको छ ।”
उत्तर दक्षिण करिडोर निर्माण, थप उडानको प्रवर्धन र तिब्बेतियन हाइवेको नाका प्रयोग गरी विभिन्न नाकामा पुग्ने विषयका प्रोटोकलमा हस्ताक्षर हुने जानकारी दिँदै चिनिया राष्ट्रपतिले पारवहनको सुविधाले नेपालको व्यापार विविधीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको पनि उनले जानकारी दिए ।
चिनिया पक्षबाट तातोपानी नाका छिट्टै खोल्ने आश्वासन प्राप्त भएको र नेपालको पूर्वाधार विकासको चाहनालाई पूर्णरुपमा साथ दिने वचनबद्धता पनि आएको मन्त्री ज्ञवालीले बताए । त्यस अतिरिक्त नेपालका उच्च हिमाली जडीबुटीको बजार प्रवद्र्धन गर्न सघाउन चीन तयार रहेको उल्लेख गर्दै मन्त्री ज्ञवालीले आगामी नोभेम्बरमा हुने संघाई एक्स्पोमा नेपाली व्यापारी सहभागी हुने जानकारी दिए ।
अन्तरदेशीय व्यापार क्षेत्र बनाउने, स्वतन्त्र व्यापार सम्झौतालाई टुङ्ग्याउने, ऊर्जा क्षेत्रमा सहयोग गर्ने र नेपालमा तेल र ग्यासको अन्वेषण तथा भण्डारणमा सघाउने चिनियाँ पक्षको प्रतिबद्धता रहेको पनि उनले जानकारी दिए । उनका अनुसार नेपालमा शैक्षिक जनशक्ति उत्पादनका लागि मदन भण्डारी मेमोरियल इन्स्टिच्युट सघाउने प्रतिवद्धता पनि चिनिया पक्षबाट व्यक्त भएको छ ।
“नेपालले अन्य देशसँग घनिष्ट सम्बन्ध राख्दा चीनलाई कुनै पनि समस्या हुँदैन र नेपालको चीनसँगको घनिष्ट सम्बन्धबाट कोही चिन्तित हुनुपर्दैन, नेपालको त्यो स्वतन्त्र छनोटको कुरा हो, यसलाई स्वाभाविक रुपमा लिनुपर्छ,” राष्ट्रपति सीलाई उद्धृत गर्दै मन्त्री ज्ञवालीले भने ।
म अवश्य नेपाल आउनेछु – राष्ट्रपति सी
भेटवार्ताका अवसरमा प्रधानमन्त्री ओलीले नेपाल भ्रमण गर्न दिएको निम्तोको प्रत्युत्तरमा चिनिया राष्ट्रपति सीले ‘म अवश्य नेपाल आउँछु’ भनेको जानकारी मन्त्री ज्ञवालीले दिए । प्रधानमन्त्री ओलीले नेपाल भ्रमणको निम्तो दिँदै नेपाली जनता राष्ट्रपति सीलाई स्वागत गर्न चाहन्छन् भनेका थिए ।
“नेपाल भ्रमणका लागि यो उपयुक्त अवसर हो,” चिनिया राष्ट्रपतिलाई उद्धृत गर्दै मन्त्री ज्ञवालीले भने ।
आपसी कूटनीतिक माध्यमबाट दुवै पक्षलाई अनुकूल हुने मिति तय गरेर चिनिया नेताको नेपालको भ्रमणको तयारी अगाडि बढाउने मन्त्री ज्ञवालीले जानकारी दिए ।
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम