
विश्व सम्पदा सूचीमा सूचिकृत बौद्धनाथ स्तुप क्षेत्र अगाडिको मूल सडकमा परेको खाल्डाखुल्डी । खाल्डाखुल्डीले गर्दा हिलाम्मे भएको सडकमा आवतजावत गर्ने सवारीसाधन, यात्रुलगायत पर्यटकलाई सास्ती भएको छ । तस्बिर – रासस
काठमाडौँ, ३ असार – असार महिना चुच्चेपाटी–बौद्ध–जोरपाटी सडक पेटीबाट हिँड्दा लाग्छ धान रोप्न तयार पारिएको यो एउटा लामो गरो हो । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तुप क्षेत्रमा महिनामा हजारौँ विदेशी पर्यटक आउँछन् । सम्पदा अघिको सडकको यो अवस्था हुँदा पर्यटकमार्फत् विश्वव्यापी रुपमा के सन्देश जाला ? त्यसको हेक्का सरोकार भएका निकायले राखेको देखिँदैन ।
चाबहिल–चुच्चेपाटी सडकको अवस्था पनि यस्तै थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला रातारात यो सडक तयार भएको थियो । त्यो गतिमा काम भएको भए यो सडकको अवस्था पनि यस्तो हबिगतको नहुने स्थानीय पार्वती तामाङ सुनाउनुहुन्छ ।
“‘साइड क्लियर’ भएका स्थानमा पनि काम भएको छैन, निर्माण व्यवसायी काम गर्न साइड नै नभएको रटान लगाइरहेका छन्, खाली भएको स्थान जति बनाइदिए पनि सवारी र पैदल यात्रुका लागि सहज हुने थियो”–उहाँले भन्नुभयो ।
सडकको दायाँबायाँ केही घर भत्काउने काम पनि भइरहेको छ तर सकिएको छैन । भत्काउन शुरु नभएका घर कहिले भत्कने हो टुंगो छैन । चाबहिलबाट जोरपाटीसम्मको ३.६ किमी सडक विस्तारका लागि २०७२ असोज १३ गते युनाइटेड बिल्डर्स एण्ड इन्जिनियर्स प्रालिसँग सम्झौता भएको थियो ।
अदालतको अन्तरिम आदेश, विभिन्न स्थानमा सडकको अधिकार क्षेत्रको विवाद र बजेट अभावले विस्तारको काम अवरुद्ध भएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।
बौद्ध पीपपलबोट सडक किनारमा कपडा सिलाउने व्यवसाय गर्दै आएका दैलेखका टेकबहादुर नेपाली एक हप्ता अघि गिट्टी मिसिएको माटो हालेपनि पहिलेकै अवस्थामा सडक पुगेको बताउनुहुन्छ । सडकमा जमेको पानी सवारी साधनले छचल्काउँदा निथ्रुक्क भएर भिजिने उहाँको गुनासो छ ।
“पानी नपरेका बेला मास्क लगाएर काम गर्नुपर्छ, कहिले त धुलो उडेर सडक नै नदेखिने गरी फैलन्छ”–नेपालीले सडकको अवस्था सुनाउँदै भन्नुभयो । जोरपाटीसम्मको क्षेत्रमा सडक अधिकार क्षेत्रकै विवाद छ । दायाँ भागमा सडक बन्नु अघिको राजकुलो मिचेर व्यक्तिले जग्गा धनी प्रमाण पूर्जा बनाएको बायाँ किनारका स्थानीयवासीको भनाइ छ ।
आयोजनाका सूचना अधिकारी विश्व विजयलाल श्रेष्ठ पुरानो र नयाँ नापीका बारेमा विवाद भएर घर नभत्केको बताउनुहुन्छ । जोरपाटी ओरालोसम्म यो विवाद छ । बौद्ध र जोरपाटी क्षेत्रमा खानेपानी तथा ढल चुहावट भएर सडकमा दह नै जम्ने गरेको छ । वर्षाद्का समयमा बाढीले बौद्ध क्षेत्रमा सवारी चल्दैन । खानेपानी र ढल चुहिँदा यो क्षेत्रको सडकमा धेरै खाल्डाखुल्डी छन् । अझ दायाँबायाँ भत्काउँदै गरिएका घरको धुलो र हिलोले सडकमा निस्कन नसकिने अवस्था रहेको स्थानीयवासी बताउँछन् ।
जोरपाटी–थली–साँखु सडक पनि उस्तै
वाग्मती पुलबाट थलीसम्मको २.४ किमी सडक विस्तारको कार्य तीन वर्षमा ४० प्रतिशतमात्र भौतिक प्रगति भएको छ । २०७२ असोज १३ गते नै सम्झौता भएको यो सडक आगामी पुस १४ सम्म विस्तार सक्नुपर्छ । बज्रगुरु÷च्याङ्मिला÷खानी जेभीले काम गरिरहेको यो खण्डमा दक्षिणढोकाका २३ घरको अन्तरिम आदेशका कारण घर भत्काउन नसकिएको सूचना अधिकारी श्रेष्ठले सुनाउनुभयो ।
मूलपानी क्षेत्रमा सडकको अधिकार क्षेत्रको विवाद छ । यो क्षेत्रमा पनि विद्युत् र टेलिफोनको तार हटेको छैन । मूलपानीमा वनको रुखका कारण समेत काममा ढिलाइ भएको छ । थलीबाट खुलालटारसम्म तीन किमीको खण्डमा काठमाडौँ उपत्यका विकास प्राधिकरणले घर भत्काउन क्षतिपूर्ति दिन ढिलाइ गरेको आयोजनाले जनाएको छ ।
प्राधिकरणका प्रवक्ता केशवप्रसाद न्यौपाने क्षतिपूर्ति दिन करोडौँ लाग्ने भए पनि सरकारले बजेट उपलब्ध गराउन नसकेको बताउनुहुन्छ । थली क्षेत्रका ३८ घरले सर्वोच्च अदालतबाट अन्तरिम आदेश गराएकाले काम हुन सकेको छैन ।
आयोजनाका प्रमुख दीपक केसी प्राधिकरणले सडक अधिकार क्षेत्रको रेखांकन, क्षतिपूर्ति दिएर घर टहरा हटाउने काम नसकेकाले कालोपत्र गर्न नपाएको बताउनुहुन्छ । यसका कारण चाबहिलबाट साँखुसम्म घाम लागेका बेला धुलाम्य र पानी परेका समयमा हिलाम्य हुने गरेको छ । डाँछी तथा ब्रह्मखेल क्षेत्रमा सडकको सीमा विवाद छ । यहाँ पनि विद्युत् र टेलिफोनका तार हटेको छैन ।
खुलालटारबाट सलम्बुटारसम्मको २.४६ किमी क्षेत्रमा ५१ घर नभत्काउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । बिटी-सुनकोशी-वल्डवाइड जेभीले निर्माण जिम्मेवारी पाएको यो खण्डको इन्द्रायणी र सलम्बुटार क्षेत्रमा समेत सडकको सीमा विवाद छ । विद्युत् र टेलिफोनका पोल एवम् तार यो क्षेत्रमा हट्न सकेको छैन ।
लामा-समानान्तर जेभीले निर्माण गरिरहेको १.०४ किमी साँखु क्षेत्रका केही घरमा समेत अन्तरिम आदेश जारी भएको छ । अन्तिम खण्डको ६०० मिटर क्षेत्रमा विस्तारका कुनै काम गर्न नदिने भनी स्थानीयवासीले अवरोध गरेका छन् । साँखु क्षेत्रमा पनि विद्युत् र टेलिफोनका पोल एवं तार हटेका छैनन् । स्थानीय हरिराम श्रेष्ठ उचित क्षतिपूर्ति र मुआब्जाको माग गर्दै सर्वोच्चमा मुद्दा दिएको बताउनुहुन्छ । १२.५० किमी सडक विस्तार गर्न वर्षौं लाग्ने भएको छ । केही खण्डको समय सकेर एक वर्ष थप गरिएको आयोजनाले जनाएको छ ।
सर्वोच्च अदालतले गत असोज १३ गते सडक विस्तार सम्बन्धमा परेका मुद्दाको फैसला गरेपनि पूर्णपाठ नआउँदा पनि काममा ढिलाइ भएको छ । सर्वोच्चका प्रवक्ता नारायणप्रसाद पन्थी केही महिनामै पूर्णपाठ दिइने प्रतिबद्धता जनाउनुहुन्छ ।
विभागका प्रवक्ता मुक्ति गौतम भने नौ पूरा भइसक्दा पनि मत मतान्तरका कारण फैसलाको पूर्णपाठ नआएकाले विस्तारमा समस्या भएको सुनाउनुहुन्छ । विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग यस विषयमा छलफलको तयारी गरेको विभागले जनाएको छ ।
त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडकमा पनि मुद्दाकै कारण विस्तार हुन नसक्दा वर्षामा हिलो र हिउँदमा धुलोले यात्रा कठिन छ । विस्तार भइरहेका बाहेक देशभरका सबै सडकको अवस्था राम्रो रहेको प्रवक्ता गौतमले दाबी गर्नुभयो ।
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित