चीन जानुअघि ओलीले पूर्वप्रधानमन्त्रीहरुलाई भेटे

काठमाडौँ, ३ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमण सबै दृष्टिले उपलब्धिमूलक बनाउने तयारी भएको बताउनुभएको छ । चीन भ्रमणको तयारीबारे आइतबार सिंहदरबारमा पूर्वप्रधानमन्त्रीहरुलाई जानकारी दिँदै उहाँले भन्नुभयो, “तपाईंहरु सबैको भावनालाई समेटेर म चीन जाँदैछु । मुख्यतः राष्ट्रिय हितलाई ध्यानमा राखेको छु ।”

पूर्वप्रधानमन्त्रीहरुसँगको भेट अघि प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीसँग भ्रमण सम्बन्धमा छलफल गर्नुभएको थियो ।  परराष्ट्र मन्त्री ज्ञवालीसँगको भेटमा उहाँले भ्रमणपछि नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा प्रवेश गर्ने र चीन– भारतबीचको बढ्दो समझदारीबाट नेपालले थप अवसर प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

आफ्नो आसन्न भ्रमणलाई चिनिया पक्षले दुई पक्षीय सम्बन्धमा सबैभन्दा महत्वपूर्ण पहलकदमीका रुपमा अंगीकार गरेको पनि उहाँले बताउनुभयो । उहाँका अनुसार भ्रमणका अवसरमा नेपाल–चीन सीमा क्षेत्रमा थप पाँच नाका खोल्ने समझदारी हुन गइरहेको छ ।
भ्रमणका अवसरमा समझदारी पत्रमा हस्ताक्षर र ‘लेटर अफ एक्सचेन्ज’ आदानप्रदान हुने जानकारी दिँदै उहाँले दुवै देशको राजनीतिक स्थिरताले विकास र समृद्धिको नयाँ मार्ग प्रशस्त हुने अपेक्षा गरिएको बताउनुभयो ।

परराष्ट्रमन्त्री ज्ञवालीले भ्रमणले विगतका समझदारी र सम्झौता कार्यान्वयनको बाटो खुल्ने विश्वास व्यक्त गर्नुभयो । “भ्रमणका क्रममा सहयोगका नयाँ क्षेत्र पनि पहिल्याइने छ, दुई देशबीच ‘कनेक्टेभिटी’का क्षेत्रमा महत्वपूर्ण समझदारी हुनेछ ,” परराष्टक मन्त्री ज्ञवालीले भन्नुभयो । केरुङ–काठमाडौ, काठमाडौँ–पोखरा रेल परियोजनाका सम्बन्धमा विस्तृत परियोजना प्रतिवेदन बनाएर अघि बढ्ने समझदारी हुने जानकारी पनि उहाँले गराउनुभयो ।

पूर्वप्रधानमन्त्रीहरुसँगको छलफलमा नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चीन भ्रमणमा नेपालको तयारी राम्रो रहेको बताउँदै भ्रमणले नेपालको हित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताका लागि शुभकामना पनि दिनुभयो ।

नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–चीन–भारत बीच त्रिदेशीय सम्बन्ध अगाडि बढ्नु सकारात्मक भएको बताउनुभयो ।

त्यस्तै, पूर्वप्रधानमन्त्री झलनाथ खनालले रेल परियोजनाप्रति सबैको आशा रहेको बताउनुभयो भने अर्का पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई लिखित सुझाव प्रस्तुत गर्नुभएको थियो ।

पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले नेपाल र चीन बीचको बहुआयामिक सम्बन्धलाई महत्वका साथ अघि बढाउन रणनीतिक साझेदारीको दिशामा अग्रसर हुनुपर्ने धारणा राख्नुभयो ।

मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले नेपालमा चिनिया लगानी भित्र्याउने वातावरण बन्नु पर्ने राय व्यक्त गर्नु भयो ।

प्रधानमन्त्रीको चीन भ्रमण – आर्थिक क्षेत्रले नयाँ उचाइ लिने विश्वास

प्रधानमन्त्री ओलीको चीन भ्रमणले दुई देशको पारस्परिक सम्बन्ध थप प्रगाढ बनाउँदै देशको आर्थिक क्षेत्रले नयाँ उचाइ लिने विश्वास लिइएको छ ।

चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा आगामी मंगलबार हुन लागेको प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा पर्यटन एवं आर्थिक क्षेत्रमा विविध विषयमा समझदारी हुनेछ ।

प्रधानमन्त्रीको उपस्थितिमा आज भ्रमण टोलीसँग परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीन भ्रमणलाई उपलब्धिमूलक र दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हिमालयन वारपार रेल्वेसम्बन्धी सम्झौतामा हस्ताक्षर हुनेछ, यो सबैभन्दा महत्वपूर्ण पहल हो, जसले पारस्परिक सहयोगका क्षेत्रमा नयाँ युगको शुरुआत गर्नेछ ।

भ्रमणको तयारीबारे जानकारी दिँदै उहाँले देश राजनीतिक स्थायित्वमा गएको र अबको यात्रा आर्थिक विषयमा केन्द्रीत भएकाले प्रधानमन्त्रीको भ्रमणलाई पनि सोहीअनुरुप तयार गरिएको बताउनुभयो ।

प्रधानमन्त्रीको यसपटकको भ्रमणले दुई देशबीचका परम्परागत सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले भन्नुभयो, “प्रधानमन्त्री ओलीको अघिल्लो पटकको भ्रमणमा भएका सम्झौतालाई पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अगाडि बढाउनुभएको र ती सम्झौता कार्यान्वयनमा लैजाने विषयमा विचार विमर्श हुनेछ ।”

उहाँले भ्रमणका अवसरमा कोशी आर्थिक करिडोर, गण्डकी आर्थिक करिडोर र कर्णाली आर्थिक करिडोरका सम्बन्धमा भएका घोषणालाई सम्झौतामा रुपान्तरण गरिने जानकारी दिनुभयो ।

परराष्ट्रमन्त्रीका अनुसार प्रधानमन्त्रीको भ्रमणका बेला चीनको स्वशासित क्षेत्र (तिब्बत) को राजमार्ग खाद्यान्न ढुवानीका निम्ति आठवटा सीमा नाका खोल्नेसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर हुनुका साथै केरुङ–काठमाडौँ रेलमार्ग निर्माण, दुई देशका परराष्ट्र मन्त्रालयबीच संयन्त्र स्थापना, रसुवाको केरुङ र सिन्धुपाल्चोकको तातोपानीमा ‘नेपाल–चीन मैत्री पुल’ निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।

तिब्बतबाट खाद्यान्न ढुवानी गर्ने तथा नेपालबाट तिब्बततर्फ मालसामान निर्यात गर्ने प्रयोजनका निम्ति बझाङको उरिपासमा दुई, रसुवागढी, दार्चुलाको तिंकरमा दुई, ताप्लेजुङको तिप्लापासमा दुईवटा र हुम्लाको हिल्सामा एक व्यापार नाका खुल्नेछन् ।

प्रधानमन्त्री ओलीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्रमन्त्री ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, सांसदहरू, नेपाल सरकारका उच्च अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी सहभागी हुनुहुनेछ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री