बेलायतमा च्यारिटीभित्रको आर्थिक अपारदर्शिता

शुद्ध मन, वचन र कर्मले दुःखमा परेका मानिसलाई आर्थिक सहयोग 
गर्ने कार्य आफैंमा बडो प्रशंसनीय छ । मर्दा पर्दा चाहिने समाज नै हो । बेलायतमा सांच्चिकै दयालु मन भएका व्यक्ति रातदिन च्यारिटीतिर होमिएका पनि छन् । बेलायतमा करिव तीन सय हाराहारीमा रहेका नेपाली संघसंस्था मध्ये राजनैतिक, जातीय, क्षेत्रीय, धार्मिकलगायत संस्थाले वर्षमा कम्तीमा एक पटक च्यारिटी गरी मातृभूमिमा सेवा गरेका छन् ।

आफ्नो जन्मभूमिका लागि दमकल, एम्वुलेन्स, व्हीलचेयर, निशुल्क शिक्षा, भवन निर्माण 
हुंदै अघि बढेको च्यारिटी कार्यक्रम अहिले फेसनमा बदलिएको छ । बेलायतमा कानून अनुसार च्यारिटीमा दर्ता भएका संघसंस्था औंलामा गन्न सकिन्छ । च्यारिटीमा दर्ता नभएका गाउं, टोलपिच्छेका संघसंस्थाहरु र निजी सोखका लागि खोलिएका प्राइभेट मिडियाले पनि च्यारिटी कार्यक्रम गर्न थालेपछि यसको पारदर्शिता माथि प्रश्न चिन्ह खडा भएका छन् ।

विज्ञापन वापत उठाउने पैसामा समेत सम्पादककै निजी बैंक खाता प्रयोग गर्ने निजी मिडियाले च्यारिटी वापतको रकम कसरी पारदर्शी राख्लान् ? यसको 
परीक्षण कसले गर्ने ? सही ठाउंमा रकम पुगे नपुगेको कसले निगरानी गर्ने ? यस्ता अनेकौं प्रश्न उब्जिएका छन् समाजमा । हामीले माथिका प्रश्नलाई समेट्दै जवाफ खोज्ने जमर्को गरेका छौं । सामान्यतया मध्यमवर्गीय परिवारकै मानिसहरु यस्ता कार्यमा लागेको घाम जत्तिकै छर्लङ छ ।

व्यक्तिगत रुपमा सामान्य जागिर खाएर जीवन 
सञ्चालनमा धौ धौ परेका मध्ये नै यस्ता च्यारिटी कार्यक्रममा प्रमुख व्यक्ति हुने गरेको देखिन्छ । बेलायतको दैनिक जीवनमा सामान्य जागिरेलाई महिनै पिच्छे घरको मोर्गेज वा भाडा, काउन्सिल ट्याक्स, स्मार्ट फोन, ग्यांस, बिजुली र पानीको बील तिरेर परिवार चलाउनु पर्ने वाध्यता छ । घर चलाउन गारहो भएका व्यक्ति नै यस्ता कार्यक्रमका प्रमुख हर्ताकर्ता छन् । त्यसबाहेक 
जागिरमा जांदा आउंदा चढ्ने कारको पेट्रोल वा डिजेल खर्च, इन्स्यूरेन्स, एमओटीलगायतमा खर्चले 
दैनिक जीवन सामान्य ढंगले सञ्चालन गर्न मुस्किल परेपछि धेरैलाई समाजसेवा पहिलो रोजाइमा परेको देखिन्छ ।

विदेशमा व्यापार व्यवसाय गरेको धनी व्यक्तिलाई कार्यक्रममा बोलाउने र खादाले सम्मान गर्ने, व्यापारीलाई कार्यक्रमको स्पोन्सर गर्न अनुनय गरि खादा लगाई दिने र यस्तो कार्यक्रम संयोजन गरेर धनीसंग नजिक हुंदै व्यक्तिगत फाइदा लिने मानिस समाजसेवामा ह्वात्तै बढेका छन् । खाजा खुवाउनेदेखि पाहुना घुमाउनेसम्मको स्पोन्सर खोजेर मिडियामा छाउने र समाज सेवालाई पेशाका रुपमा अघि बढाउने विरुद्ध अब डायस्पोराका नेपालीले बोल्नै पर्छ । सामान्य जागिर खाएर बेलायतमा घरपरिवार चलाएका र समाजमा हैकम जमाउन अनेक प्रपञ्च जानेकासंग किन नराम्रो हुने भनेर हामी मध्येकै नेपालीले जे जस्तो च्यारिटी गर्दा पनि रकम दिन थाल्यो भने यसमा शुद्धीकरण आउनै सक्दैन् । हामीले कम्तीमा पनि च्यारिटीमा दर्ता भएको संस्था हो कि होइन ? त्यो कार्यका लागि कस्ता मानिसहरु लागेका छन् ? तिनीहरु समाजमा रोलमोडल बन्न सकेका छन् वा च्यारिटीको नाममा रकम उठाउंदै आफ्नो जीवन निर्वाह गरिरहेका छन् ? सामान्यत यस्ता कुरा केलाउन अब जरुरी भइसकेको छ ।

श्याम लुईंटेल

आफ्नो काम गर्ने, सुःख दुःख आफैंले व्यवहार टार्ने गरेका हामीले कानूनी राज्यमा कोही देखि डराउन जरुरी छैन् । फलानो रिसायो भने जीवन नै बर्वाद हुन्छ कि ? व्यापार नै चौपट हुन्छ कि ? वा भोलि अप्ठ्यारो पर्दा समुदायको सहयोग पाईंदैन कि भनेर डराउने हो भने डायस्पोराको नेपाली समाज बेलायत जस्तो उन्नत हुन सक्दैन् । त्यसकारण पनि च्यारिटीलाई व्यापार बनाउने समाजका धमिराहरुलाई बेलैमा निर्मुल पार्न जरुरी छ । हामीले बेलायती समाजभित्र रहेका धमिरा नियन्त्रण गर्न सकेनौं भने एक दिन उठ्न नसक्ने गरि हामी नै ढल्नेछौं । त्यसकारण हाम्रो कलमलाई साथ दिनुहोस् । नेपाली समाजलाई सचेत बनाउंदै खबरदारी गर्दै तपाईं हामी एकै ठाउं उभिऔं ।

विनेपाली डट कमले बेलायतस्थित नेपाली समाजमा देखिएको विकृतिलाई केलाउंदै समाज शुद्धीकरण तथा मन, वचन र कर्मले काम गर्नेलाई प्रोत्साहित तुल्याउने अभियान सुरु गरेको छ । विशुद्ध समाज सेवालाई प्रोत्साहित गर्ने र समाजसेवा मागी खाने भांडो बनाउनेका विरुद्ध सशक्त कलम चलाउने प्रण हामीले लिएका छौं । यस सत्कार्यमा तपाईंहरुको साथ सहयोग रहने अपेक्षा हामीले गरेका छौं । हामी व्यक्ति भन्दा पनि गलत प्रवृत्तिका विरुद्ध सतिसाल झैं खडा हुनेछौं । अबका केही साता च्यारिटीलाई कमाई खाने भांडो बनाउने र संघसंस्था कब्जामा लिएर स्वयं ठूलो भएको घोषणा गर्ने विरुद्ध कमल चल्नेछ । फेरी पनि जोड दिएर भन्छौं- हामी कसैका विरुद्ध लाग्दैनौं, तर गलत प्रवृत्तिलाई 
छाडदैनौं । तपाईंले पनि व्यक्तिगत लान्छनारहित लेख रचना पठाई च्यारिटी रकम लक्षित वर्गसम्म पुरयाउन हामीलाई सहयोग गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री