संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषद् : एक आवश्यकता

गणेश रानामगर

सात समुन्द्र पारिको भौतिक बसाई भए पनि गृहजिल्लाको माया र यादगारको धड्कन बनि हृदयभरि सजिँदो रहेछ । बाहिरी रङ्गीबिरङ्गी फूलबुट्टाको सजावटभन्दा अनन्तसम्म जन्मभूमिको सजावट नै मनभित्रको कुनामा सजिँदो रहेछ।

पूर्वी नेपालको १ नं. प्रदेशमा पर्ने कोशी अञ्चलको सुन्दर पहाडी जिल्ला, सर्वोच्च शिखरमा मोतीको दाना झैँ टलक्क टल्किने सेतो अनि कञ्चन, अमूल्य गहनाको रुपमा सजिएको संसारकै पाँचौ अग्लो मकालु हिमालको काखमा रहेको जिल्ला संखुवासभा । हिमशिखरबाट बगेको स्वच्छ र निश्चल सदाबहार रुपमा हरियो रङ्गको आभाष दिलाउने नेपालकै ठूलो र प्रसिद्ध अरुण नदी संखुवासभा जिल्लाकै मेरुदण्ड र पहिचानको रुपमा अवस्थित छ ।

नेपालमै सबैभन्दा धेरै विभिन्न प्रकारको राष्ट्रिय फूल लाली गुराँस फूल्ने अग्रणी जिल्लाको रुपमा चिरपरिचित छ भने जिल्लाको शान र संखुवासभाको पहिचानको रुपमा जिल्लाको उत्तर र पश्चिममा बग्ने संखुवा नदी, जिल्लाको मध्य भागबाट बग्ने सभा नदी, यही दुई नदीको मिलनविन्दुबाट जिल्लाको नाम संखुवासभा नामाकरण गरिएको वास्तविक यथार्थ जिल्लावासीमा रहेको छ ।

संसारकै सु-प्रसिद्ध सबैभन्दा गहिरो र होचो ठाउँमा रहेको अरूण उपत्यका तुम्लिङटार विमान स्थल (एयरपोर्ट) ले जिल्लाको शानलाई उच्च तहमा राखेको छ। मकालु हिमालको काखैमा रहेको बरुण राष्ट्रिय निकुञ्ज, उत्तरमा मित्र राष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिनुको साथै ताप्लेजुङ तेह्रथुम धनकुटा भोजपुर सोलुखुम्बु जिल्लासँग सिमाना जोडिएको छ। जिल्लामा विभिन्न मठमन्दिर शक्तीपीठ देवालय देवीदेवताको मन्दिर आस्था र विश्वासका प्रसिद्ध धार्मिक स्थलसहित पर्यटकीय मनमोहक स्थलहरु संखुवासभामा प्रशस्त छन्।

विदेशी आगन्तुकलाई मात्र नभई नेपाली मनहरुलाई पनि सजिलै लोभ्याउन सक्ने पहाड पर्वत खोला नाला झरना छाँगा अनेकन देउराली चौतारी भन्झ्याङ लेक बेँशी,फाँट र समथर वमैदानहरूले भरिभराउ हुनुको साथै भूगोल र प्राकृतिक रूपमा रहेको जडिबुटी, बनस्पति र बनपैदावर प्रचुरत्ताको खानी भएको असाध्यै सुन्दर र रमणीय पहाडी जिल्लाको रुपमा संखुवासभाले भिन्नै पहिचान बनाएको छ । संखुवासभा जिल्लामा बसोबास गर्ने बिभिन्न जातजाति भाषाभाषीहरुको आ-आफ्नै मौलिक कला र संस्कृति, नृत्य, संगीत, भेषभूषा रितीरिवाज रहनसहन र बसोबासले पनि संखुवासभालाई नेपालमा एउटा नमुना जिल्लाको रुपमा चिनाउन सफल भएको छ ।

प्राकृतिक सम्पदाको खानी भएको संखुवासभाले नेपालको ईतिहासमा देखिएका आर्थिक, सामाजिक, राजनैतिक फरक फरक खालको साना ठूला समस्या र कठिन चुनौतीको सामना गर्दै राष्ट्र निर्माणमा आमूल परिवर्तनको मार्गरेखा कोरिँदा होस् या नयाँ नेपाल निर्माणको निम्ती होस् दशकौंदेखि महत्वपूर्ण भूमिका निभाउँदै आईरहेको इतिहास साक्षी छ ।

भौगोलिक रुपमा नेपालको एकीकरण भए पश्चात, नेपालको केन्द्रीय राज्यसत्तामा संखुवासभा जिल्लाबासीले प्रतिनिधित्व गर्नबाट बन्चित हुनु परेको तीतो यथार्थ आम संखुवासभालीहरुको मानसपटलमा अहिले पनि ताजै छ। तीन वटा देश नेपाल चीन भारतलाई जोड्ने जोगबनीदेखि किमाथांका सम्मको सबैभन्दा नजिक ४१९ कि.मी.को दुरी भएको नाकालाई यदी संचालन गरिएमा नेपालको मुख्य द्वारको रुपमा सावित हुने थियो ।

राष्ट्र निर्माणको निम्ति संभावित विकास परियोजनाको ठुल्ठुला सम्भावना हुदाँहुदै पनि सदियौँदेखि केन्द्रीय राज्यसत्ताले सँधैजसो संखुवासभालाई ओझेलमा पार्ने गरेको दिनको घाम झै छर्लङ्ग छ । परिवेश र परिस्थिति भित्रको समयसापेक्षतामा नेपालको राजनैतिक इतिहासले जतिसुकै कोल्टे फेरे पनि संखुवासभा जिल्ला एक ज्वलन्त ईतिहासको रुपमा पर्खाल बनि खडा भएकै छ ।

कुनै एक जमानामा बिकटताको नामले पुकारिने “संखुवासभा”ले वर्तमान अवस्थामासम्म आई पुग्दा विकासको गति सँगै संखुवासभाले फड्को मारेको अवस्था छ। पाँच वटा नगरपालिका र पाँच वटा गाउँपालिकाभित्र सुगमताको फूलहरु फुल्न खोजिरहेछन्।

“संखुवासभाको शान, संखुवासभाली हाम्रो पहिचान” लाई आत्म मनन् गरी मकालु हिमालको काखमा रहेको संखुवासभा जिल्लाबाट समयको परिवेशसँगै विश्वको विभिन्न मुलुकमा प्रवासी नेपालीको रूपमा स्थाई वा अस्थायी रुपमा बसोबास गरिरहेका सम्पूर्ण संखुवासभालीहरूलाई मूल सुत्रमा एकाकार गरी अन्तर्राष्ट्रिय स्तरबाटै एकीकृत र संगठित रूपमा गोलबन्द गर्दै सम्पूर्ण संखुवासभालीहरूलाई एक साथ अगाडि बढाउने महान उद्देश्य रहेको “संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषद्” नामक साझा संस्था स्थापना गरेका छौँ  ।

संखुवासभा जिल्लामा जन्मि हुर्कि, बिदेशी भूमिलाई कर्मथलो बनाई, प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग जुटाई आफ्नो जन्मभुमि थाकथलोलाई सदैव माया गरी गर्वका साथ जिल्ला र जिल्लाबासीहरुलाई साथ र सहयोग गर्दै समग्र जिल्लाको विकास उन्नति र प्रगतिको बारेमा चिन्तित रहनुहुने सहयोगी मनका धनी संखुवासभालीहरु र घरदेशमा रहनु भएका संखुवासभाली माझ निस्वार्थ सहयोग, सद्भाव,मायाबोध, प्रेमभाव,आत्मियताको सुमधुर सम्बन्धलाई अझ प्रगाढ र मजवुत बनाउदै एकताको मालामा गाँसेर अगाडि लैजाने संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषद्को संकल्प छ ।

“संखुवासभालीको पहिचान” विश्वसामु चिनाउने हाम्रो महान अभियानलाई आत्मसात गर्दै “जन्मभूमिका लागि अब केही गरौँ” भन्ने भावनाको साथ विश्वभर छरिएर रहेका संखुवासभालीहरुलाई आफ्नो गृहजिल्लाको विकास र समृद्धिको सपनालाई साकार पार्न संगठित र गोलबन्द हुनको निमित्त प्रवासी संखुवासभालीहरुको साझा छाता संस्था संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषद्द्धारा  सबै संखुवासभालीहरुलाई हार्दिकताको साथ आह्वान गरिन्छ। संखुवासभा जिल्लाबासीहरुलाई भई परिआउने प्राकृतिक प्रकोप,भबितब्य, प्रत्यक्ष देखिएका जटिल चुनउती एवं अचानक आईपर्ने बिभिन्न खाले समस्याहरूसँग एक आपसमा सामुहिकरूपले हातमा हात, काँधमा काँध मिलाई संगठात्मक रुपमा मुकाबिला र सामना गर्न सदैव संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषद् तत्पर रहनेछ।

बर्तमान परिप्रेक्ष्यमा सिंगो जिल्लाको सेरोफेरोमा रहेर हामी तमाम संखुवासभालीहरु बिभिन्न जातजाती,भाषाभाषी,धर्मकर्म संस्कार संस्कृति,वर्ग लिङ्ग,ठाउँ क्षेत्र,आस्था र विचार भन्दा पनि माथि उठी हरपल संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई सबै प्रकारको संखुवासभाली भावनाको शुन्दर फूलहरु फुल्ने साझा फूलवारीको रुपमा रुपान्तरण गरी रोप्ने, हुर्काउने र फुलाउने ठूलो जिम्मेवारी अन्तर्राष्ट्रिय स्तर मै हामी सबै संखुवासभालीहरुको काँधमाथि आईपरेको अवस्था छ । संखुवासभाली मनका विभिन्न प्रकारको फूलहरु फुल्ने साझा फूलवारीको रुपमा विकास गर्दै संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषदमा सबै संखुवासभालीहरूलाई समेट्न प्रयासरत रहनेछ।

संखुवासभाली गाउँले दाजुभाईदिदीबहिनी,

आमाबुबाहरूको भाबनात्मक रूपमा भित्री आत्मादेखि नै आत्मियता जगाउने एवम् संखुवासभा जिल्लावासीहरुसगँको सद्भाव तथा समन्वयलाई विस्तार गरी एकआपसमा सम्पर्क र गाउँले सम्बन्धलाई सुदृढ बनाउँदै अघि बढ्नको निम्ति उत्प्रेरित तथा मार्गनिर्देशन गर्नको लागि विश्वको विभिन्न देशमा स्थापना भएका संखुवासभा समाजहरु आवद्ध रहेको विशुद्ध साझा छाता संस्थाको रूपमा संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई परिचालन गरिने छ ।

गृहजिल्लाको विकास र जिल्लाबासी जनहितको लागि (एक थोपा सुकी सय थोपा नदी) भने जस्तो यदि तपाई हाम्रो प्रयासले थोपा थोपा जम्मा गरेर जिल्लाबासी र जिल्ला विकासमा टेवा पुग्छ भने हामीले किन अरुको मुख ताक्ने ?

भौगोलिक हिसाबले मातृभूमिदेखि सात समुन्द्र टाढा भए पनि गाउँले भावनात्मक सम्बन्धले गर्दा जिल्लाबासी माझ संखुवासभाली एकता, जुझारुकता, लगनशीलता र आत्मियता मजबुत गर्नको निमित्त संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषद्मार्फत महत्वपूर्ण भूमिका निभाउन सकिनेमा सायद दुईमत नहोला । ऐतिहासिक रुपमा संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषद्ले निर्माण गरेको अन्तर्राष्ट्रिय संखुवासभाली गोरेटो बाटोबाट हिँड्नको निम्ति चाल्दै गरेको प्रत्येक पाईलाहरुमा सम्पूर्ण संखुवासभालीहरुले आत्मसात गर्नेमा परिषद् विश्वस्त छ ।

हामी सबै संखुवासभालीहरुको थातथलो जन्मभूमि संखुवासभालाई समृद्ध जिल्लाको रुपमा देखिने गरेको सपनालाई विपनामा साकार पार्न सबै संखुवासभाहरु एकीकृत हुन जरुरी छ ।

समृद्ध जिल्ला र जिल्लाबासीको सुखद भविष्यको परिकल्पनाको आधारमा हाम्रो जिल्ला र जिल्लाबासीको लागि मार्गरेखाको मार्गचित्र कोर्नलाई एक नयाँ संखुवासभाली पानामा एक नयाँ उचाईको ईतिहास रच्नको निमित्त हाम्रो महान अभियानलाई सफल बनाउन विश्वको विभिन्न मुलुकमा बसोवास गरिरहेका सबै संखुवासभालीहरुले आफूसँग भएको भिजनसहित आ-आफ्नो ठाउँबाट साथ र सहयोग गर्नु हुनेछ भन्ने संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषद्ले अपेक्षा गरेको छ ।

जय संखुवासभा

प्रतिक्रिया

सम्बन्धित सामाग्री