
न्यूयोर्क र बैंककमा गणतन्त्र र सगरमाथा दिवस
काठमाडौँ, १७ जेठ – गणतन्त्र एवं सगरमाथा दिवसका अवसरमा अमेरिकी महानगर न्यूयोर्क र थाइल्याण्डको राजधानी बैंककमा विविध कार्यक्रम आयोजना गरिएका समाचार प्राप्त भएका छन् ।
संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली नियोग र न्यूयोर्कस्थित नेपालको महावाणिज्य दूतावासले मंगलबार संयुक्त रुपमा ‘विश्वको सर्वोच्च शिखर र त्यसको परिवेश’ शीर्षकमा तस्वीर प्रदर्शनी गरेको थियो ।
उक्त कार्यक्रममा न्यूयोर्कस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारीका साथै त्यहाँ बसोबास गर्दै आएका नेपालीको सहभागिता रहेको संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली नियोगले जनाएको छ ।
नेपाल पर्यटन बोर्ड र अमेरिका–नेपाल पर्वतारोहण संघसँगको सहकार्यमा आयोजित तस्वीर प्रदर्शनीमा सगरमाथा र आसपासका हिमालका ३० वटा मनोरम तस्वीर समावेश गरिएको छ । प्रदर्शनी यही जेठ १८ गतेसम्म जारी रहने छ ।
यसैगरी, बैंककस्थित नेपाली राजदूतावासले स्वागत समारोह आयोजना गर्नाका साथै वृत्तचित्र प्रदर्शनी गरेको जनाइएको छ ।
कूटनीतिक नियोगका पदाधिकारी, नेपाल र थाइल्याण्डका पर्वतारोही, सगरमाथा आरोहण गरेका थाई नागरिक, त्यहाँका सञ्चारकर्मी र पर्यटन व्यवसायीको बाक्लो उपस्थितिमा गणतन्त्र र सगरमाथा दिवस आयोजना गरिएको बैंककस्थित नेपाली दूतावासले आज जनाएको छ ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- बेलायतमा कसरी बन्यो कोभिड–१९ बारे जानकारी दिने नेपाली भाषामा पर्चा ?
- आजदेखि बेलायत आइपुग्ने यात्रुले १० दिन होटल क्वारेन्टिनमा बस्न पर्ने
- कारोना संक्रमणका कारण प्रवासमा मृत्यु भएकाको शव नेपाल लैजाने पाइने
- गोरखा भूपू सैनिकको समस्याबारे प्राविधिक समितिको प्रतिवेदनमाथि बेलायतले नेपालसित वार्ता नगर्ने
- अस्ताए डा. चन्द्र लक्सम्बा