लन्डन । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र युवा स्पिनर सन्दीप लामिछाने बुधबार सांझ बेलायतका नेपालीसंग साक्षात्कारमा व्यस्त रहे ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आयोजना गरेको ‘मिट एण्ड ग्रीट’ मा नेपालीका गौरव खड्का र लामिछानेले क्रिकेट खेलको सम्भावना र उतारचढावका भोगाइ सुनाए ।
पारस केही दिनदेखि लन्डनमै थिए भने सन्दीप आज बिहीबार (३१ मे) सांझ आइसीसी विश्व ११ बाट लर्डस मैदानमा वेस्ट इन्डिजविरुद्ध टी–ट्वान्टी अन्तर्राष्ट्रिय म्याच खेल्न मंगलबार बिहानमात्र लन्डन उत्रिएका थिए ।
खेलाडीद्वयले नेपाली क्रिकेट अब सही बाटोमा आइपुगेको जनाउंदै व्यवस्थापकीय सुधार भए देशले अझ प्रगति गर्न सक्ने बताए । ‘ओडिआइ स्टाटस हाम्रा लागि ठूलो फड्को र अवसर पनि हो’, कप्तान पारसले आत्मविश्वास देखाउंदै भने, ‘सन् २०२२ सम्म हामी टेष्ट प्लेइंग देशहरुसंग पक्कै खेल्नेछौं ।’ उनले क्यानको निलम्बन फुकुवापछि खेलाडीको मनोवल उच्च हुने खालका गतिविधिको अपेक्षा समेत गरे ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष सिद्धार्थविक्रम क्षेत्रीले ‘टोकन अफ लभ’ र खादाले सम्मान गरेपछि प्रसन्न खेलाडीद्वयले विदेशका नेपालीले आफूहरुप्रति देखाएको माया र सद्भावप्रति आभार व्यक्त गरेका थिए ।
कप्तान पारसले आगामी २९ जुलाई आइतबार एमसीसी, नेपाल र नेदरल्याण्डसबीच लर्डसमा हुने त्रिकोणात्मक टि ट्वान्टी खेलमा उत्साहजनक सहभागिताका लागि नेपाली समुदायलाई पटक पटक अनुरोध गरे । दुई वर्षअघि लर्डसमा नेपालीको उल्लेख्य सहभागिताले एमसीसीको नेपाल हेर्ने दृष्टिकोण ज्यादै सकारात्मक भएको जनाउंदै खड्काले यसपटक अझ साथ दिन आग्रह गरे ।
कार्यक्रममा सहभागी गैर आवासीय नेपाली संघ पदाधिकारी, व्यवसायी र युवा खेलप्रेमीले नेपाल क्रिकेट र खेलाडीका लागि आर्थिक सहयोग गर्न तत्पर रहेको जनाएका थिए । प्रतिउत्तरमा पारसले आफूहरु व्यक्तिगत रुपमा कसैसंग आर्थिक सहयोग आशा नगर्ने बरु उचित संयन्त्रमार्फत क्रिकेट खेल विकासमा सहयोग गर्न सुझाए ।
सन्दीपले सर्वाधिक महंगो मानिने इन्डियन प्रिमियर लिग (आईपीएल) मा आफ्नो खेल प्रदर्शनपछि कमाएको लोकप्रियता र नेपाली क्रिकेटरहरुलाई हेरिने दृष्टिकोणको अनुभव सुनाएका थिए ।
१० जुनसम्म बेलायतमा रहने पारस यहां बेलायती क्रिकेटका उच्च पदाधिकारीसंग भेटघाटमा व्यस्त छन् । उनले मंगलबार इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्ड (इसिबी) का प्रमुख अधिकारीहरुसंग लर्डसमा भेट गरि नेपाली क्रिकेटका लागि अवसरबारे छलफल गरेका थिए । उनको एमसीसी पदाधिकारीसंग पनि भेट्ने कार्यक्रम छ ।
तस्विर सौजन्य- रुपक प्रजापति
तमु धीं यूकेले थाल्यो ‘त ल्हो’ ल्होछार उत्सव-२०२५ को तयारी
चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’ मा नवअभिनेत्री सोल गुरुङ
खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा