लन्डन । बेलायती राजकुमार हयारी र अमेरिकी नायिका मेगान मर्केलबीच गत सप्ताहन्त (१९ मे) धुमधामसंग विवाह भयो । उक्त शाही विवाहलाई विश्वभरका झण्डै १८ मिलियन दर्शकले टिभीमार्फत अवलोकन गरेको अनुमान छ ।
विवाह समारोहस्थल विन्सोर क्यासलमै सहभागी हुनेको संख्या नागरिक समाजबाट दुई हजार ६४० र च्यापलभित्रै जाने विशेष निम्तालु ६ सय थिए । सडक किनारमा लामवद्ध हुनेको संख्या त लाख बढि थियो ।
विन्सोर क्यासलमा गएर शाही विवाह अवलोकन गर्न पाउने थोरै भाग्यमानी मध्ये भूपू गोर्खा अनिल गुरुङ र उनकी जीवनसंगिनी बबिना पनि थिए । बेलायती प्रधानमन्त्री टेरेजा मे, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, पूर्व राष्ट्रपति बाराक ओबामा जस्ता कयौं विश्व नेताहरुलाई नबोलाइएको उक्त विशेष समारोहमा दरबारले गुरुङ दम्पत्तिलाई भने सम्झिएको थियो ।
‘राजखान्दानको विवाहमा प्रत्यक्ष साक्षी बन्न पाउंदा हामीलाई ज्यादै गर्व छ’, अनिलले भने, ‘रेड कार्पेटमा हयारी मेगानलाई नजिकबाट अभिवादन गर्ने मौका पायौं । यो हाम्रा लागि ठूलो भाग्यको कुरा हो । घमाइलो मौसमले पनि समारोहको वातावरण झन् रमाइलो र अविष्मरणीय बनाएको थियो ।’
विवाह हुने दिन १९ मे शनिबार बिहानै ६.३० बजे मेडस्टोनबाट विन्सोर क्यासल साइत गरेका थिए गुरुङ दम्पत्ति । ड्रेस कोड थिएन, कम्फोर्टेबल पोशाक लगाए हुने भनिएको थियो । बरु ९.३० बजेसम्म पुगिसक्नुपर्ने निर्देशन थियो । ट्राफिक जाम नभएकाले बेलैमा पुगे उनीहरु । ‘कार पार्कबाट विवाहस्थल पुग्न झण्डै एक माइल हिंड्नुपर्ने रहेछ’, अनिल स्मरण गर्छन्, ‘बाटो देखाउने गाइडहरु बाटोभरि थिए । पुलिस अफिसरको पनि बाक्लो उपस्थिति थियो । निम्तालुका ब्याग, निमन्त्रणा पत्र र आइडी हेरेर एयरपोर्ट स्तरकै जांच भएपछि प्रवेश दिइएको थियो ।’
विन्सोर क्यासलस्थित सेन्ट जोर्जेज च्यापल बाहिर पब्लिक मेम्बरहरु बस्न छुट्याइएको क्षेत्रमा अनिल दम्पत्ति बसे । उनीहरुले पानीको बोटल, चलकेट, बिस्कुट, कार्यक्रमबारे बनाइएको लिफ्लेट आदि राखिएको ‘गिफ्ट ब्याग’ पाएका थिए । ‘मानिसहरु ज्यादै उत्साहित देखिन्थे, वनभोजमा सहभागी भए जस्तो । हयारी दम्पत्ति च्यापलबाट बिहे सकेर बाहिरिएपछि च्यापल भित्र जान पाइन्थ्यो तर लामो लाइन भएर मलाई उभिन गारो भएपछि झण्डै २ बजेतिर निस्कियौं’, अनिलले भने ।
शाही विवाहमा निम्तो पाउनुका पछाडि अनिलको पृष्ठभूमिले पनि काम गरेको हो । ब्रिटिश आर्मीको टु आर जिआरमा ६ वर्ष काम गरेपछि अनिलले सन् २०१३ मा मेडिकल ग्राउण्डसमा अवकास लिएका थिए ।
गस्तीका क्रममा अफगानिस्तानको मुसाकला भन्ने ठाउंमा तालिवानको बम विस्फोटमा परे अनिल । गहुंगो सामान बोकेर हिंडेका बेला बेलुका उनी एकजना मात्र विष्फोटमा परेका थिए । घट्नापछि उनी बांचे तर दाहिने खुट्टा गुमाएर छिट्टै आर्मी सेवाबाट विश्राम लिनु परयो, शारिरीक अपांगता जीवनभर । गोर्खाहरुसंग हयारीको निकट सम्वन्ध र अनिलको पनि च्यारिटीमा सक्रियताले विवाह हेर्ने अवसर अनिल दम्पत्तिलाई जुटेको थियो ।
उनीहरुले विवाहको निम्तो पत्र एक महिना अगाडि अप्रिल पहिलो सातातिर पाएका थिए । पछि आउने ‘कन्फर्म’ गरेपछि अप्रिल अन्तिममा पास आएको अनिल बताउंछन् ।
राजकुमार हयारीले स्थापना गरेको ब्रिटिश आर्मीका अपांगताहरुको अन्तर्राष्ट्रिय खेल इन्भिक्टस गेममा अनिलले सिटिङ भलिबलमा गोल्ड मेडल ल्याउन सफल भए । सन् २०१४ मा लन्डनस्थित क्वीन एलिजावेथ ओलम्पिक पार्कमा पहिलोपटक उक्त प्रतियोगिता भएको थियो ।
त्यसैगरि, सन् २०१६ मा अमेरिकाको फलोरिडामा दोश्रो इन्भिक्टस गेम हुंदा अनिलले सिल्भर मेडलमात्र जितेनन्, हयारीसंग प्रशिक्षणका क्रममा नजिकबाट गफिने मौका पनि पाए । ‘त्यतिबेला हयारीले मेरो अवस्थाबारे सबै सोध्नुभयो । मैले घट्ना वेलिविस्तार लगाएं । यसबाहेक च्यारिटीमा मेरो प्रत्यक्ष संलग्नताले पनि विवाहमा अतिथी छानिएको हुनुपर्छ’, अनिल भन्छन् ।
अनिल हाल रोयल ब्रिटिश लिजन इन्डष्ट्री (आरबीएलआइ) मा काम गर्छन् । उनले गत वर्ष नोभेम्बर २०१७ मा एभरेष्ट बेस क्याम्पसम्म ट्रेकिङ च्यारिटी गरेर ११ हजार २२५ पाउण्ड उठाउन सफल भएका थिए ।
च्यारिटी गर्न हुरुक्कै हुन्छन् उनी । आगामी जुन ८ देखि १० सम्म च्यारिटी साइक्लिङ आरबीएलआइ सेन्टेनरी राइडका लागि बेल्जियमको यात्रा तय गर्दैछन् अनिल । दिनमा ७५ माइल साइक्लिङ गर्नुपर्ने भएकाले चुनौति भएपनि आत्मविश्वास रहेको उनले सुनाए ।
उनी आरबीएलआइको सय उत्कृष्ट कामदारका रुपमा छानिइसकेका छन् । कान्तिपुर साप्ताहिक
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
नेपालको प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस
पोखरा विमानस्थल अनियमितता प्रकरणमा नेपाली कांग्रेस नेतासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित