लन्डन । लन्डन स्टक मार्केटको सूचांक सोमबार बिहान रेकर्ड अंकले बढेको छ । यस हप्ताको पहिलो दिनको पहिलो घन्टाको कारोबारमा लन्डन स्टक मार्केटको ठूला १०० कम्पनीको शेयर सात हजार ८२२ भन्दा बढि नाघेको हो । सोमबार ७ हजार ८०० भन्दा बढि अंकले पहिलाको सबै रेकर्ड तोडेको छ । ७ हजार अंकको घेरा नाघेपछि मनोवैज्ञानिक हिसाबले लगानीकर्तामा थप उत्साह आउने ऐतिहासिक तथ्य रहेको विश्लेषकहरुले बताउंदै आएका छन् ।
इयू बहिर्गमनपछि बेलायतको अर्थतन्त्रमा भइरहेको उतारचढाव र अस्थिरताबीच यस हप्ताको शुरुमा भने लन्डन स्टक मार्केटमा उत्साह थपिएको हो ।
लगानीकर्ताहरुमा उत्साह र लन्डन स्टक मार्केट यति धेरै बढ्नुको कारण अमेरिका तथा चीनबीच जारी व्यापार तनाव कम हुने अमेरिकी सरकारको घोषणाले महत्वपूर्ण भूमिका निर्वाह गरेको लन्डनस्थित अर्थ ब्यवस्थापन जानकार विकलचन्द्र आचार्य बताउंछन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही महिना अघि बढ्दो अमेरिकी व्यापार घाटा कम गर्न चिनिया समानमा अतिरिक्त शुल्क (टारिफ) लगाउने चेतावनी दिएका थिए । संसारकै क्रमशः पहिलो र दोश्रो ठूलो अर्थतन्त्र भएका अमेरिका र चीनबीच हुनसक्ने व्यापार युद्धले अन्तर्राष्ट्रिय ब्यापारमा क्षति हुने आंकलन गरिएको थियो । तर, दुवै देश चेतावनीयुक्त भनाइबाट पछि हटेका छन् भने अमेरिकाले करिव १५० अर्ब डलर बराबरको शुल्क (टारिफ) कम गर्ने विषय हाल रोकेको छ ।
हाल अमेरिकी सरकारले चीनसंग ब्यापार शुल्क नलगाउने घोषणाले अमेरिकी डलरको भाउ अन्तर्राष्ट्रिय मुद्रा बजारमा बढेको छ । सोमबार बिहान पाउण्ड स्टर्लिङको मूल्य अमेरिकी डलरसंग शुन्य दशमलब चार प्रतिशतले गिरावट आइ १ दशमलब ३४ पुगेको छ ।
कमजोर पाउन्ड बेलायती स्टकका लागि खराब समाचार भएपनि लन्डन स्टक मार्केटमा भएका ठूला १०० कम्पनीको करिब ७० प्रतिशत विक्रीको कारोबार बेलायत बाहिर हुन्छ । पाउन्डको विनिमय दर अमेरिकी डलरसंग तल झरेपछि लन्डन स्टक मार्केटको ठूला १०० कम्पनीको अंक यसरी रेकर्डमा पुग्न सफल भएको आचार्यको विश्लेषण छ ।
बेलायत इयूबाट बहिर्गमन (ब्रेक्जिट) को जनमत संग्रहपछि पाउन्ड स्टर्लिङको भाउमा आएको भारी गिरावटले बेलायतमा रहेका विदेशी कम्पनीहरुको कमाइ पाउन्डमा रुपान्तरण गर्दा बढेकाले स्टक मार्केट बढ्न सहयोग पुगेको पनि बताइन्छ ।
युरोपियन केन्द्रिय बैंकले कायम गरेको मौद्रिक उत्साहको कार्यक्रम निरन्तर गर्ने र अमेरिकामा डोनाल्ड ट्रम्पको कर र खर्चको नीतिले पनि स्टक मार्केट गत वर्षदेखि नै उकालो लागिरहेको छ ।
सन् १८०१ मा आधुनिक लन्डन स्टक मार्केटको स्थापना गरिएपनि यसको इतिहास सन् १५७१ मा रानी एलिजावेथ प्रथमले रोयल एक्सचेन्ज भनेर उद्घाटन गरे पछि नै शुरु भएको ठानिन्छ । ६ ट्रिलियन (६ हजार अर्ब) पाउन्ड भन्दा बढी जम्मा सेयरको मूल्य रहेको लन्डन स्टक मार्केट अमेरिकाको डाओ जोन र नास्डाक पछि संसारको तेश्रो ठूलो मार्केट हो । यहां औसत दिनमा करिब ६ अर्ब पाउन्ड मुल्यको सेयर कारोबार हुनेगर्छ । यसमा ६० भन्दा बढी मुलुकका तीनहजार बढी कम्पनी सूचीवद्ध छन् ।
स्टक मार्केट बढेपछि सुनको भाउ प्राय घट्ने गर्छ भने सेयर बजारमा अस्थिरता आएपछि लगानीकर्ताले सुनलाई सुरक्षित लगानी ठान्ने हुनाले सुनको भाउ बढ्छ । सन् २००८ को आर्थिक मन्दीपछि बैंक अफ इंग्ल्यान्डले ब्याजदर निकै कम गरि लगानीलाई थप उत्प्रेरित गर्ने कदम चाल्दै आएको छ ।
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]