लन्डन । विदेशको नेपाली डायष्पोरामा सबैभन्दा वृहत ठानिएको नेपाली इभेन्ट गोर्खा कप फुटबल प्रतियोगितामा यसपटक ४२ टिमले प्रतिष्पर्धा गर्ने भएका छन् । आयोजक तमुधिं यूकेले आइतबार एक पत्रकार सम्मेलन गरि ३२ नन भेट्रान (मेन क्याटेगोरी) र १० भेट्रान टिमबीच प्रतिष्पर्धा हुने जनाएको हो । प्रतिष्पर्धा गर्न हङकङ, बेल्जियम र हल्याण्डबाट समेत खेलाडी आउने भएका छन् ।
आउंदो २७ मे आइतबार अल्डरसटस्थित क्वीन्स एभिन्यू स्पोर्टस मैदानमा हुने १६ औं गोर्खा कपको तयारी अन्तिम चरणमा छ । ९ ए साइड उक्त प्रतियोगिता फिफाकै नियम अनुसार खेलाइने तमुधिं यूकेले जनाएको छ । विगत ६ महिनायता ३१ सदस्यीय समिति इभेन्ट सफल बनाउन अहोरात्र खटिएको छ ।
पत्रकार सम्मेलनमा तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङ, महासचिव कृष्ण गुरुङ, कार्यक्रम संयोजक एवं स्पोर्टस सेक्रेटरी क्याप्टेन पिताम्बर गुरुङ, सहसंयोजकहरु ले. कुसाङ गुरुङ र कुमार गुरुङले गोर्खा कपबारे विस्तृत जानकारी दिए । कुसाङ गुरुङ र कुमार गुरुङले टिम क्याप्टेन, मिडियाकर्मी र तमुधिं पदाधिकारीहरुमाझ टिम ड्र गराएका थिए ।
कार्यक्रम संयोजक क्याप्टेन पिताम्बर गुरुङले उक्त इभेन्ट हेर्न १० हजार बढि दर्शक उपस्थित हुने विश्वास व्यक्त गर्दै आपतकालिन सेवा जस्तै एम्बुलेन्स, प्रहरी बल, टवाइलेट र कार पार्क सुविधा, खाना आदिको व्यवस्थापन भइसकेको बताए । त्यसदिन करिब एकसय २० जना स्वयंसेवक खटिनेछन् । खानाका कम्तीमा दश वटा स्टल र हस्तकलाका ४० बढि स्टल रहने बताइएको छ । गैर आवासीय नेपाली संघ बेलायतले निशुल्क स्वास्थ्य शिविर राख्ने भएको छ । संयोजक गुरुङले कार्यक्रम गर्न करिब ४५ हजार पाउण्ड खर्च हुने जानकारी दिए ।
खेलाडीलाई हौसला बढाउन यसपटक पुरस्कार राशी वृद्धि गरिएको छ जसमा नन भेट्रान (मेन) वीनरको पुरस्कार राशी २५ सय पाउण्ड छ । नन भेट्रानतर्फ रनरअपले १५०० पाउण्ड, भेट्रानतर्फ पहिलो विजेता टिमले १२०० पाउण्ड र दोश्रो हुनेले ८०० पाउण्ड पाउनेछन् । पुरस्कारमा नगद, ट्रफी र सर्टिफिकेट पनि छ ।
तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले गोर्खा कप विदेशमा बस्ने नेपालीको सबैभन्दा ठूलो कुम्भ मेला भएको बताउंदै सहभागिताका लागि समस्त नेपाली समुदायमा आव्हान गरेका छन् । अध्यक्ष गुरुङले गोर्खा कपको विशेष आकर्षणहरुमा एफए कप डिस्प्ले, ब्रिगेड व्याण्ड डिस्प्ले, प्यारासुट डिस्प्ले, मार्सल आर्टस, मिलिट्री डिस्प्ले, पञ्चे बाजा, पाइपर धुन, कल्चरल डान्स, खुकुरी डान्स, खाना, हस्तकला सामाग्री, कमर्सियल र च्यारिटी स्टल आदि हुने जनाए । उनले गोर्खा कपले स्थानीय व्यापार व्यवसाय र नेपालको पर्यटन प्रवर्धन, विश्वभरका नेपालीमाझ सकारात्मक सन्देश प्रवाह, स्थानीय समुदायसंग अन्तरघुलन र सामुदायिक एकतामा बल पुग्ने विश्वास समेत व्यक्त गरे ।
उक्त इभेन्टमा करिब २०० जना विशिष्ट अतिथीसहित हजारौं नेपाली तथा ब्रिटिश नागरिक सहभागी हुने अपेक्षा छ ।
कार्यक्रममा तमुधिं यूकेले शनिबारमात्र निर्विरोध निर्वाचित नेपाल पत्रकार महासंघ बेलायत शाखाका पदाधिकारी र अन्य सञ्चारकर्मीलाई खादा र मायाको चिनो प्रदान गरि सम्मान गरेको थियो । सम्मानपछि शाखाका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष श्याम लुईंटेलले महासंघ तमुधिं यूकेसंग सहकार्य गरेर केही रचनात्मक कार्य गर्न इच्छुक रहेको बताए ।
उक्त अवसरमा गोर्खा कपको इतिहास समेटिएको वृत्तचित्र र हालै तमुधिं यूके नेतृत्वको टिमले गरेको क्होंला सोथर अध्ययन भ्रमणबारे बनाइएको भिडियो देखाइएको थियो । उक्त भ्रमणको विस्तृत भिडियो भने आगामी जुन १६ मा एक अन्तरक्रियात्मक कार्यक्रममाझ सार्वजनिक गर्ने योजना रहेको तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले जानकारी दिए ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष नन्दजंग गुरुङले स्वागत मन्तव्य दिएका थिए ।
तस्विरहरु- शिव भण्डारी
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]