एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट जेठ १३ देखि

काठमाडौँ- राष्ट्रिय खेलकुद परिषद्को आयोजना एवं नेपाल इन्टरनेशनलको व्यवस्थापनमा हुन लागेको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली एपिएफ र प्रदेश नं ४ बीच प्रतिस्पर्धा हुने भएको छ ।

राखेपद्वारा शुक्रबार सार्वजनिक गरिएको खेल तालिकानुसार यही जेठ १३ गतेको उद्घाटन खेलमा एपिएफ र प्रदेश ४ बीच प्रतिस्पर्धा हुनेछ । नेपालयले प्रतियोगिताको मुख्य प्रायोजक एक्सेल्सिया कलेजसँग पनि प्रायोजन सम्झौता गरेको छ । एक्सेल्सिया कलेजका क्षेत्रीय प्रमुख बबी अब्राहम र नेपालय इन्टरनेशनलका प्रबन्ध निर्देशक सुवास प्रधानबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतानुसार एक्सेल्सिया कलेजले नेपालय इन्टरनेशनललाई २४ हजार अष्ट्रेलियन डलर उपलब्ध गराउने भएको छ ।

सोही कार्यक्रममा प्रतियोगितामा लगाइने जर्सी एक्सेल्सिया कलेजका प्रतिनिधि बबी र नेपालका प्रबन्ध निर्देशक सुवासले सार्वजनिक गरे । प्रतियोगिता जेठ २९ गतेसम्म चल्नेछ । सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताका समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिताको विजेताले रु २० लाख तथा उपविजेताले रु १० लाख हात पार्नेछन् । यस्तै म्यान अफ द सिरिजले रु एक लाख र विधागत उत्कृष्ट हुनेले जनही रु ५० हजार पाउने छन् ।

नेपाललाई पारामा ३ स्वर्ण

दोस्रो काठमाडौँ अन्तर्राष्ट्रिय ग्यरोगी र पुम्से तेक्वान्दो च्याम्पियनसिपको पहिलो दिन आज पारातर्फ नेपालले स्वर्णपदक हात पारेको छ । राखेपको कभर्ड हलमा आजदेखि शुरु भएको उक्त च्याम्प्यिनसिपअन्तर्गत पारातर्फको विधामा नेपाली खेलाडीले तीन स्वर्णपदक हात पारेका हुन् ।

पाराको महिला ४८ केजीमुनि तौल समूहमा नेपालकी पलेशा गोवर्धनले स्वर्ण जितिन् । उनले फाइनलमा नेपालकै सीता भण्डारीलाई पराजित गरेकी हुन् । भारतकी भिना अरोराले सो विधामा कास्यपदक हात पारिन् । पुरुषतर्फ ४० केजीमुनिमा नेपालका सोम सुनुवारले नेपालकै दीपेश महतलाई हराउँदै स्वर्ण जिते । पाराको पुरुष ५८ केजीमुनि भारतका मोहम्मद हैदरले नेपालका गोविन्द थापालाई हराउँदै स्वर्ण पदक हात पारे । उनन्सत्तरी केजीमुनिमा नेपालका रामबहादुर अधिकारीले नेपालकै संघु भोटेलाई हराउँदै स्वर्ण पदक आफ्नो बनाउन सफल भए ।

त्यसैगरी फाइटतर्फको विधामा नेपाली खेलाडीले राम्रो प्रदर्शन गरेका छन् । फाइटको पुरुष २१ केजीमुनिमा नेपालका अमन श्रेष्ठ र सुशान्त पाण्डे फाइनलमा पुगेका छन् । सेमीफाइनलमा अमनले अञ्जल पुन मगर र सशान्तले राजेन्द्र थामीलाई हराउँदै स्वर्णको यात्रा तय गरेका हुन् । पुरुष २५ केजीमुनिको सेमिफाइनलमा नेपालकै तिलक विकले नेपालकै दीपक वादीलाई तथा प्रशान्त पुन पुन मगरले नेपालकै प्रीतम ठकुरीलाई हराउँदै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेका छन् ।

त्यसैगरी पुरुष सिनियर (३९ वर्षमुनि) पुम्सेमा भारतका सरोज गुरुङले स्वर्ण, नेपालका आशिष चन्दले रजत तथा नेपालकै वीरबहादुर बम्जन र भारतका खुम्लिन्दिङ हमारले कास्यपदक पाए । यता २९ वर्षमुनि पुम्सेमा मलेसियाका अगिस्टन रुडीले स्वर्ण, नेपालका तिलक पुन मगरले रजत र बंगलादेशका सफ्यात नुरले कास्यपदक जित्न सफल भएको प्रतियोगिताका संयोजक बद्रीप्रसाद घिमिरेले जानकारी दिए ।

उन्नाइस वर्षमुनि पुरुष पुम्सेमा मलेसियाका टेरेन्ज योङ स्वर्ण, नेपालका राम गोले रजत तथा नेपालकै सुजन गुरुङ र दक्षिण कोरियाका बोसुक होङ कास्य जित्न सफल भए ।

उक्त प्रतियोगिताको उद्घाटन राखेपका सदस्य सचिव केशवकुमार विष्टले गर्नुभएको थियो । च्याम्पियनसिपमा आयोजक नेपालसहित भारत, बंगलादेश, भुटान, पाकिस्तान, दक्षिण कोरिया, मलेसिया, इण्डोनेसिया, चीन (मकाउसमेत), अष्ट्रेलिया, सिंगापुर र अफगानिस्तानले प्रतिष्पर्धा गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री