
राष्ट्रिय सभागृह काठमाडौँमा बिहीबार नेपाल कम्युनिष्ट पार्टीको एकीकरण घोषणा कार्यक्रममा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललगायत नेताहरु । तस्वीर – नवीन पौडेल, रासस
काठमाडौँ, ३ जेठ – नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता प्रक्रियाबाट बनेको नेपाल कम्युनिष्ट पार्टीको ऐतिहासिक घोषणा गरिएको छ ।
यहाँ आज आयोजित विशेष पत्रकार सम्मेलनमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ पार्टी स्थापना भएको घोषणा गर्नुभयो । विसं २००६ मा पुष्पलालको नेतृत्वमा गठित साम्यवादी दलको नाम नेकपा नै थियो । करीब सत्तरी वर्षअघि नेकपा घोषणा गर्दा पाँच जना संस्थापक (नरबहादुर कर्माचार्य, नारायणविला जोशी, निरञ्जनगोविन्द वैद्य र मोतीदेवी श्रेष्ठसहित) थिए भने आज ४४१ जनाको केन्द्रीय सदस्य घोषणा गरिएको छ । सो अवसरमा एक मिनेट ताली बजाएर खुशीयाली व्यक्त गरिएको थियो । कार्यक्रममा नवगठित कम्युनिष्ट पार्टीको घोषणापत्र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वाचन गरेर सुनाउनुभएको थियो ।
पूर्वप्रधानमन्त्री नेपालले नेपाल एकीकरण गर्दा पृथ्वीनारायण शाहले भन्नुभएको ‘मेरा साना दुःखले आर्जेको मुलुक होइन’ भन्ने भनाइलाई सापट लिँदै एकता प्रक्रिया सानो दुःखले सहज बनेको होइन भन्ने धारणा राख्नुभयो ।
सरकारले अगाडि सारेको ‘सुखी नेपाली समृद्ध नेपाल’ को विषयलाई अगाडि बढाउन नयाँ पार्टी जिम्मेवारपूर्वक अगाडि बढ्नुपर्नेमा जोड दिँदै उहाँले जनताको भावनालाई बुझेर काम गर्नुपर्ने बताउनुभयो । नेपालका कम्युनिष्ट पार्टीले सामन्तवादको अन्त्य र लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न योगदान दिएको बताउनुभयो । उहाँले पार्टी हाइकमाण्ड, स्थायी समिति र केन्द्रीय समितिसमेत गठन गरिएको जानकारी दिनुभयो ।

राष्ट्रिय सभागृह काठमाडौँमा बिहीबार नेपाल कम्युनिष्ट पार्टीको एकीकरण घोषणा कार्यक्रममा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल । तस्वीर – नवीन पौडेल, रासस
गत असोज १७ गते दुई पार्टीबीच छ बुँदे सहमति भएर वाम गठबन्धन बनाई प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सामूहिक घोषणापत्रमार्फत दुवै दल अगाडि बढेका थिए । दुई पार्टीले संयुक्त रुपमा अगाडि सारेको नीति, कार्यक्रम तथा योजना कार्यान्वयन गर्न पार्टी पंक्तिले देखाएको तदारुकता र अनुशासनसमेत मननयोग्य रहेको नेता नेपालको भनाइ थियो ।
उहाँले दुई पार्टी विधिवत् एकीकरण भई निर्वाचन आयोगमा दर्ता गरिएको उल्लेख गर्दै युगीन घोषणाले राजनीतिक स्थायित्व र समृद्धिको बाटामा लैजान महत्वपूर्ण योगदान गरेको बताउनुभयो ।
समाजवादोन्मुख संविधानको कार्यान्वयन गर्दै सामाजिक-आर्थिक रुपान्तरणको दिशामा अगाडि बढ्न मार्गप्रशस्त गरेको नेता नेपालको भनाइ थियो । नेकपाले शान्तिपूर्ण प्रतिष्पर्धा, मानवाधिकार र विधिको शासनलाई सम्मान गर्दै स्वतन्त्र परराष्ट्र नीति, संयुक्त राष्ट्र संघको मूल्यमान्यतालाई आत्मसात् गरी विश्वका सबै देशसँग सुमधुर सम्बन्ध कायम गर्ने नीति अख्तियार गर्नेछ ।
जनवादी केन्द्रीयता र सामूहिक नेतृत्व प्रणाली अवलम्बन गर्दै जाने र पार्टीको निर्देशित सिद्धान्त माक्र्सवाद र लेनिनवाद रहने जानकारी दिँदै उहाँले राजनीतिक स्थायित्व र दिगो शान्ति कायम गर्दै राष्ट्रिय सुरक्षा र देशभक्तिलाई बढावा दिएर जाने नयाँ पार्टीले लक्ष्य राखेको जानकारी दिनुभयो । उहाँले एकताको महान् अभियानमा सहभागी हुन अरु कम्युनिष्ट पार्टीलाई पनि आह्वान गर्नुभयो ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य जनार्दन शर्माले २० हजार ४४१ दिनपछि एकता प्रक्रिया सम्पन्न भएको जानकारी दिँदै सुशासन कायम गर्दै जनताको अपेक्षा पूरा गरिने उल्लेख गर्नुभयो ।
‘नेपाल कम्युनिष्ट पार्टी’ निर्वाचन आयोगमा निवेदन दर्ता
एकता गर्ने सहमतिपछि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ निर्वाचन आयोग पुगेर ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ता गर्न निर्वाचन आयोगमा निवेदन बुझाउनुभएको छ ।
प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहालले आयोगमा पुगेर आफूहरुले पार्टी एकता गरेको र दल दर्ताका लागि निवेदन दिन आएको बताउनुभयो । सो क्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो, “दुई पार्टीको फरक अस्तित्व समाप्त भयो, यो कानूनी हिसाबले पनि दर्ता हुनु जरुरी छ, अब हामी दुवै पार्टी विधिवत् रुपमा एउटै भएका छौँ ।” उहाँले दुवै पार्टीबाट संयुक्त रुपमा केन्द्रीय कमिटी गठन गरेर दर्ताको निवेदन आयोगमा लिएर आएको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री ओलीले देशको विकास र समृद्धिका लागि पार्टी एकताबद्ध भएको उल्लेख गर्दै भन्नुभयो, “पार्टी एकता भएपछि दर्ता हुनुपर्छ, निर्वाचन प्रक्रियाका लागि पनि त्यो जरुरी छ, यो दलले राष्ट्रिय मान्यता पाउने छ भन्ने विश्वास छ ।” अध्यक्ष ओलीले निर्वाचनमा समयमा आफूहरुले जनताप्रति पार्टी एकता गर्ने र मुलुकको विकास गर्ने भनी गरेको प्रतिबद्धता पूरा गर्न पार्टी एकता गरेको बताउनुभयो ।
सो अवसरमा माओवादी केन्द्रका अध्यक्ष दाहालले पार्टी एकता गर्ने सहमति भएपछि लोकतान्त्रिक प्रक्रियाअनुसार अगाडि बढ्नका लागि दल दर्ता गर्न आएको बताउनुभयो । नेता दाहालले भन्नुभयो, “नयाँ पार्टीको हैसियतले दल दर्ता गर्ने प्रयोजनका निम्ति आएको छौँ, आम जनताको विकास र समृद्धिको चाहना र जनताप्रति पार्टी एकता गर्ने प्रतिबद्धता इमान्दारपूर्वक पूरा गरेका छौँ ।”
अध्यक्षद्वय दुवैले आफूहरुले पार्टी एकता गर्ने निर्णय गरेको कागजात एमालेका नेता तथा पूर्वसभामुख सुवास नेम्वाङमार्फत बुझाएर आवश्यक हस्ताक्षर भएपछि ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो । अध्यक्षद्वयले लोकतन्त्रलाई संस्थागत गर्न र जनतासामु गरिएको प्रतिबद्धता पूरा गर्नका लागि पार्टी एकता गरेको उल्लेख गर्दै सुशासन, स्थिरता र विकासको काम जनताको अपेक्षनुरुपमा अघि बढाउने विश्वास दिलाउनुभयो ।
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले लोकतन्त्र सफल पार्न धेरै दल हुनुभन्दा दलबीच पार्टी एकता हुनु मुलुकका लागि ठूलो उपलब्धि भएको उल्लेख गर्दै आयोगका तर्फबाट बधाई दिनुभयो ।
सो अवसरमा एमालेका नेता माधवकुमार नेपाल, रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, गृहमन्त्री रामबहादुर थापा, प्रवक्ता पम्फा भुसाल, ऊर्जामन्त्री वर्षमान पुन, पूर्वसभामुख ओनसरी घर्तीमगरलगायत दुवै पार्टीका नेताको उल्लेख्य उपस्थिति थियो ।
नेकपाको केका धूम्रबाराहीमा
नवगठित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय हाल धूम्रबाराहीमा रहने भएको छ ।
पार्टीका जनसङ्गठन र जनसम्पर्कका कामहरु भने पेरिसडाँडा रहने नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले बताउनुभयो । धूम्रबाराहीमा पहिले पासाङल्हामु पर्वतारोहण प्रतिष्ठान रहेको स्थानमा तत्कालीन नेकपा (एमाले) को अस्थायी र पेरिसडाँडामा नेकपा(माओवादी केन्द्र) का केन्द्रीय कार्यालय थिए ।
शुक्रबार विघटित पार्टीका सूचनापाटीहरु झिकिने बताइएको छ । निर्वाचन आयोगमा आज दर्ता भएको पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी र दर्ता नं पाँच हजार ६६६ रहेको कार्यालय सचिव श्रेष्ठले जानकारी दिनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
चलचित्र ‘डिजिटाइजेसन’का लागि बोर्डद्वारा आवेदन आह्वान
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन