काठमाडौँ, ३१ वैशाख – नेपालमा तीनवटै तहको निर्वाचन भई राजनीतिक स्थिरता कायम भएको सन्दर्भमा कसरी आर्थिक सम्वृद्धि हासिल गर्न सकिन्छ भन्ने विषयमा जर्मनीको कोलोन शहरमा हालै सम्पन्न २९ औँ ‘नेपाल दिवस’ का अवसरमा गहन छलफल भएको छ ।
जर्मन नेपाल मैत्री संघले नेपाल पर्यटन बोर्ड, जर्मनीस्थित नेपाली दूतावास र जर्मनीको म्युजियम कल्चर अफ दि वल्डर्सको सहकार्यमा आयोजनामा गरेको सो समारोहमा विदेशमा रहने नेपाली तथा नेपाललाई सहयोग गर्न चाहने विदेशीलाई कसरी परिचालन गर्ने भन्ने सम्बन्धमा विभिन्न कार्यपत्रहरु प्रस्तुत गरिएको थियो । यस वर्षको नेपाल दिवसको मुख्य विषय ‘अबको बाटो’ रहेको थियो ।
सो अवसरमा जर्मनीका लागि नेपालका राजदूत रमेशप्रसाद खनालले नेपालमा शान्ति र स्थिरतासँगै अब पर्यटनको विकास र वैदेशिक लगानी आकर्षित गर्न पहल गरिने बताउनुभयो ।
त्यस्तै कोलोन शहरका लर्ड मेयर हेनरिट्टे रेकर तथा नेपालका लागि जर्मन राजदूत रुडोल्फ सेफरले अब नेपालको विकास शीघ्र हुन सक्ने धारणा राख्दै शुभकामना व्यक्त गर्नुभयो ।
नेपालका लागि अवैतनिक महावाणिज्य दूत एवम् संघका अध्यक्ष रामप्रताप थापाले समारोहमा मैत्री संघमा आवद्ध थुप्रै सदस्यहरु डाक्टर, इन्जिनियर, राजनीतिक नेताहरु, कलाकारहरु, समाजसेवी सामाजिक संघ संस्थाका प्रतिनिधिको उपस्थितिले आगामी दिनमा नेपाललाई फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले दुई देशको सम्बन्ध विस्तारमा पुलको काम गर्ने यो संस्थाले नेपालको दुर्गम भेगमा विभिन्न विकासमूलक कामका साथै सांस्कृतिक उत्थानमा सहयोग पु¥याउदै आएको जानकारी दिनुभयो ।
समारोहमा नेपालबाट सहभागी हुन जानुभएका वरिष्ठ अधिवक्ता परशुराम कोइरालाले नेपालको मुलुकी ऐनमा हालै भएको संशोधनका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने प्राडा सीतु श्रेष्ठले नेपालको स्वास्थ्य अवस्था, प्राडा मल्लकराज श्रेष्ठले स्वास्थ्य पर्यटन, इन्जिनियर विमलराज गोसाइँले भूकम्पपछिको पुनःनिर्माणको अवस्था र डा चिरन पोखरेलले वन्यजन्तु पर्यटनका बारेमा अवगत गराउनुभएको थियो ।
जर्मनीमै कार्यरत दिल गुरुङ र सन्तोष भट्टराईले नेपाललाई विश्वकै पर्यटकीय गन्तव्य मुलुकको रुपमा परिचित गराउनुपर्नेमा जोड दिनुभयो भने तथ्यांक विशेषज्ञ वसन्त थापाले नेपाल अब स्मार्ट मुलुकका रुपमा विकास गर्न सकिन्छ भन्ने बारेमा अवधारणा प्रस्तुत गर्नुभएको थियो ।
जर्मनीको वैदेशिक सहायता मन्त्रालयको नेपाल डेस्क अफिसर आन्नेटे फ्रिकले प्राविधिक शिक्षा, ऊर्जा, स्वास्थ्य क्षेत्रमा जर्मनीबाट नेपालमा भएका विकास सहयोगका बारेमा प्रकाश पार्दै आगामी दिनमा पनि यस किसिमको सहयोग बढाउँदै लैजाने बताउनुभयो ।
समारोहमा प्रा बियाट्रिस क्नेर, गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष जीवा लामिछाने, वर्तमान उपाध्यक्ष कुमार पन्तलगायतका वक्ताहरुले आर्थिक विकाससम्बन्धी प्रस्तुति दिनुभएको थियो ।
सो अवसरमा जर्मनीका कानूनविद् प्राडा आस्त्री फुन्केको संयोजकत्वमा जर्मन नेपाल लयर्स फोरमको पनि गठन गरिएको थियो ।
सो अवसरमा नेपालको लोक संस्कृति झल्किने लोक नृत्य प्रस्तुत गरिनुको साथै नेपालसम्बन्धी पुस्तक प्रर्दशनी गरिएको थियो । कार्यक्रममा जर्मनीस्थित विभिन्न प्राज्ञिक तथा व्यावसायिक क्षेत्रका विज्ञ तथा जर्मनीमा वसोवास गर्ने नेपालीको सक्रिय सहभागिता रहेको थियो ।
जर्मन नेपाल मैत्री संघले नेपाल तथा जर्मनीबीच जनस्तरको सम्बन्ध अरू बलियो पर्ने उद्देश्यले गएको २९ वर्षदेखि आफ्नो स्थापना दिवसको अवसरमा नेपाल दिवस मनाउँदै आइरहेको छ । करिब ४५ वर्षअघि स्व क्रेट्समारले आठ जना सदस्यबाट सुरु गरेको यो संस्थामा अहिले हजारभन्दा बढी सदस्य रहेका छन् ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी