काठमाडौँ-भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको आर्थिक विकास र समृद्धिका लागि नेपालकै आवश्यकता र प्राथमिकतामुताबिक जस्तोसुकै सहयोग गर्न भारत तयार रहेको बताएका छन् । काठमाडौँ महानगरपालिकाले शनिबार आयोजना गरेको सम्मान कार्यक्रममा नागरिक अभिनन्दन ग्रहणपछि सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले नेपालले आफ्नो प्राथमिकता र आवश्यकताका आधारमा तय गर्ने कार्यक्रमलाई सहयोग उपलब्ध गराउन भारत तयार रहेको बताएका हुन् ।
प्रधानमन्त्री मोदीले भने, “नेपालको खुशी भारतको खुशी हो । नेपालको सफलता र खुशीका लागि हरतरहको आवश्यकतामा भारतको साथ रहन्छ ।” उनले विकास र समृद्धिको यात्रामा नेपालसँग काँधमा काँध मिलाएर अगाडि बढ्न आफू तयार रहेको उल्लेख गर्दै रेलमार्ग, सडकमार्ग, एकीकृत जाँच चौकी, प्रसारण लाइन, पेट्रोलियम पाइपलाइन जस्ता विषयहरू अगाडि बढिसकेको प्रष्ट पारे ।
प्रधानमन्त्री मोदीले भने, “नेपालको समृद्धि र विकासका लागि पर्वतारोहीलाई शेर्पाले सहयोग पुरयाए जस्तै भारत शेर्पा भएर काम गर्न तयार छ ।” काठमाडौँलाई रेलमार्गबाट भारतसँग जोड्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम शुरु भएको जानकारी दिदै उनले सो कार्य छिट्टै सम्पन्न हुने विश्वास व्यक्त गरे ।
एकै वर्षमा स्थानीय तह, प्रदेश र संघीय निर्वाचन गरी लोकतान्त्रिक सरकार गठन गरेकामा सो कार्यको सराहना गर्दै उनले अब लोकतन्त्रलाई स्थायित्व प्रदान गर्दै सुखी नेपाली र समृद्ध नेपाल बनाउने माहोल बनेको धारणा व्यक्त गरे । ‘राजा जनकको शस्त्र तोड्ने र स्नेह जोड्ने’ भावना विश्वका लागि नै प्रेरणाको स्रोत बन्न पुगेको प्रधानमन्त्री मोदीको कथन थियो ।
आफू बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणका लागि उपयुक्त समयमा पुनः नेपाल आउने वचनबद्धता प्रकट गर्दै उनले आफूले भ्रमण गरेका जनकपुरधाम, पशुपतिनाथ र मुक्तिनाथ केवल महत्वपूर्ण तीर्थस्थल मात्र नभई नेपाल र भारतबीचको सम्बन्धको पर्वतमाला भएको बताए । नेपालको प्राकृतिक र सांस्कृतिक सम्बन्धका बारेमा काव्यात्मक शैलीमा प्रस्तुत भएका प्रधानमन्त्री मोदीले नागार्जुन र शिवपुरी जंगल, बागमती नदी, हजारौं मन्दिर, मञ्जुश्री गुफा, बौद्ध विहार, कला र संस्कृति रहेको काठमाडौँलाई विश्वको अनौठो शहरको रुपमा चित्रण गरे ।
उनले भने, “पश्चिमतिर धौलागिरि, अन्नपूर्ण र अर्कोतर्फ सगरमाथा र कञ्चनजंगा रहेका छन् । यस्तो दृश्य विश्वमा कही पनि सम्भव छैन । त्यो केवल काठमाडौँमा मात्रै रहेको छ ।”
सबै स्वस्थ हुन्, सबैको कल्याण होस्, कसैलाई पनि दुःख नपरोस् भन्ने शास्त्रको भनाइ र मान्यता जस्तै उनले आफ्नो विदेश नीति सबैलाई साथमा लिएर अगाडि बढ्नेमा आधारित रहेको उल्लेख गरे । उनले खेलको माध्यमबाट पनि जनस्तरमा सम्बन्ध थप प्रगाढ भएको उल्लेख गर्दै हाल भारतमा जारी आइपिएल क्रिकेट प्रतियोगितामा नेपालमा खेलाडी सन्दिप लामिछानेको सहभागिता त्यसैको उदाहरण भएको बताए ।
नागरिक अभिनन्दन समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको विकासमा भारत सधैं सहयोगी रहेको बताउँदै मोदीको बहुआयामिक नेतृत्वमा भारतले गरिरहेको विकासप्रति खुशी व्यक्त गरे । उनले मोदीको स्वच्छ भारत अभियानबाट नेपालका शहरले विकासको काममा प्रेरणा लिन सक्ने उल्लेख गर्दै दुई देशबीचका उच्चस्तरीय भ्रमणबाट आपसी सम्बन्ध अरु गाढा र फराकिलो हुँदै जाने विश्वास व्यक्त गरे ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँलाई जीवन्त र समृद्ध शहरका रुपमा विकास गर्न योजनासहित आफूहरु लागिरहेको अवगत गराए ।
कलात्मक साँचो हस्तान्तरण
प्रमुख शाक्यले भारतीय प्रधानमन्त्री मोदीलाई काठमाडौँ महानगरपालिकाको कलात्मक साँचो हस्तान्तरण गरे । भारतका प्रधानमन्त्री मोदीका लागि काठमाडौँको ढोका सधैं खुला छ भन्ने सन्देश सो साँचोले बोकेको छ । प्रमुख शाक्यले उपहार स्वरुप प्रधानमन्त्री मोदीलाई बुद्धको ५० किलोग्रामको कलात्मक मूर्ति र मयूर झ्याल प्रदान गरे ।
समारोहमा संघीय सरकारका मन्त्रीहरु, प्रदेश नं ३ का मुख्यमन्त्री, यहाँस्थित कूटनीनिक नियोगका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो ।
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
नेपालमा विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार
बेलायतमा मृत्यु भएका नेपाली विद्यार्थी योमन चन्दको शव नेपाल पठाउन सहयोग संकलन
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित