बेलायती राज्यमन्त्रीद्वारा रेडक्रस भण्डारण कक्ष अवलोकन

बेलायतका परराष्ट्र तथा राष्ट्र मण्डल मन्त्रालय अन्तर्गत एसिया प्रशान्त क्षेत्र हेर्ने राज्यमन्त्री मार्क फिल्डले नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखामा रहेको राहत सामग्री भण्डारण कक्षको अवलोकन गरी जानकारी लिँदै । तस्विर – रमेश गिरी, भक्तपुर, रासस

भक्तपुर, २३ वैशाख – बेलायतको परराष्ट्र तथा राष्ट्रमण्डल मन्त्रालयअन्तर्गत एसिया प्रशान्त क्षेत्र हेर्ने राज्यमन्त्री मार्क फिल्डले नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखामा रहेको राहत सामग्री भण्डारण कक्ष (कन्टेनर क्षेत्र) को आज एक कार्यक्रमका बीच अवलोकन गर्नुभएको छ ।

दुईदिने नेपाल भ्रमणका क्रममा उहाँले ‘गोरखा भूकम्प’पश्चात् बेलायत सरकारको सहयोगमा ब्रिटिस रेडक्रससँगको सहकार्यमा स्थापित गोदाम कक्षले भूकम्प प्रभावितलाई पुरयाएको सेवा, गोदाम व्यवस्थापन र रक्तसञ्चार सेवाका बारेमा जानकारी लिनुभएको थियो ।

नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका सभापति मनोजकुमार थापाले राज्यमन्त्री मार्क फिल्डसहित नेपालका लागि बेलायती राजदूत रिचर्ड मोरीस, नेपालस्थित बेलायती रेडक्रसका राष्ट्रिय व्यवस्थापक जिल क्लेमेन्टस्लाई भक्तपुर रेडक्रसले भूकम्पपश्चात् सञ्चालन गरेका प्रतिकार्य कार्यक्रमका गतिविधि र त्यसले समुदायमा पारेका सकारात्मक प्रभावकाबारेमा जानकारी गराउनु भएको थियो ।

उहाँले भक्तपुर रेडक्रसले जिल्ला विपद् प्रतिकार्य समूहको परिचालन गरी जिल्ला शाखा तथा २१ वटै उपशाखाबाट तत्काल विपद् प्रभावितलाई राहत सामग्री वितरणको व्यवस्था मिलाएको जानकारी दिनुभयो ।

ब्रिटिस रेडक्रसकी राष्ट्रिय व्यवस्थापक जिलले ब्रिटिस रेडक्रसले सञ्चालन गरेको परियोजनाको बारेमा जानकारी गराउनुभएको थियो । भ्रमणका क्रममा उत्थानशील नगर प्रवर्धन र सहभागिता कार्यक्रमका कार्यक्रम व्यवस्थापक रुद्रप्रसाद अधिकारी तथा जिल्ला कार्यक्रम संयोजक दिनेश थापाले गैह्रखाद्य राहत सामग्रीअन्तर्गत वितरण गरिने सामग्रीको सूचीलगायत जिल्ला शाखाको राहत वितरण प्रक्रियाबारे अवगत गराउनुभएको थियो ।

राहत सामग्री भण्डारण कक्ष बेलायत रेडक्रसको सहयोगमा सञ्चालित सुरक्षित समुदायका लागि भूकम्प पूर्वतयारी कार्यक्रमअन्तर्गत २०७१ सालमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाद्वारा निर्माण गरिएको थियो ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री