लन्डनको मुटु ट्राफलगर स्क्वायरमा गुन्जियो बुद्धम शरणम गच्छामी…

लन्डन । वर्षेनी करिब ५० लाख पर्यटक पुग्ने लन्डनको मुटु ट्राफलगर स्क्वायर यहांको प्रमुख दश आकर्षणभित्र छ । घुमफिर बाहेक अरु बेला हत्तपत्त नेपालीको पहुंच नरहने उक्त पर्यटकीयस्थल शनिबार सांझ नेपालमय बन्यो ।

त्यसको प्रत्यक्ष साक्षी थिए बेलायतका कयौं नेपाली, विदेशी कुटनीतिज्ञ र रमिता हेर्न छिरेका पर्यटक पनि ।

वरपर रंगी बिरंगी ध्वजा पताका र नेपालको राष्ट्रिय झण्डा फहराइरहेका छन् । श्रृंगारपटार देख्दा लाग्थ्यो बौद्ध गुम्बातिर धार्मिक महोत्सव भइरहेको छ । ओम मानी…को ध्वनीले धेरैको ध्यान खिचेको छ । राष्ट्रिय पोशाकमा सजिएका महिला र सज्जनहरुसंग सेल्फी खिच्ने विदेशी पनि त्यहीं देखिएका थिए ।

बुद्ध जयन्ती समारोहले यी सबै माहोल जुटिरहेको थियो ।

बुद्ध फाउण्डेसन यूके र कपिलवस्तु समाज यूकेको आयोजना तथा लन्डनस्थित नेपाली दूतावास, एनआरएनए यूके, नेपाल पर्यटन बोर्ड बेलायत आदि संस्थाको सहकार्यमा लन्डनको मुटुमा बुद्ध जयन्ती मनाइयो । कार्यक्रमलाई बेलायतका ८० भन्दा बढि नेपाली संघसंस्थाले प्रत्यक्ष अप्रत्यक्ष सहयोग गरेका थिए ।

बुद्ध जन्मस्थलबारेका भ्रम चिर्न, पर्यटन प्रवर्धन र नेपाली कला 
संस्कृति झल्काउन कार्यक्रम गरिएको आयोजकले बताए । बुद्ध जन्मेको ठाउंबारे अल्झिरहन वा यसलाई प्रष्टयाइरहन आवश्यक नभएको बताउने पनि थिए कार्यक्रममा ।

सांझ ६ देखि ९ बजेसम्म सञ्चालित उक्त कार्यक्रममा विश्व शान्तिको कामना गर्दै दीप प्रज्वलन गरियो भने धर्मगुरुहरुले बुद्ध सन्देशबारे प्रवचन दिए । विभिन्न नेपाली सांस्कृतिक प्रस्तुति र नाटकले कार्यक्रममा बेग्लै रौनकता थपेको थियो ।

उक्त अवसरमा पण्डित निलहरि घिमिरे र लामा गुरु धर्म गुरुङबाट धार्मिक मन्त्रोचारणसहित पूजाबाट कार्यक्रम सुरु गरिएपछि नेपाल तथा बेलायतका राष्ट्रिय गान बजाइएको थियो ।

बेलायती सांसद मिसेल डोनेलनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बेलायती सांसद सिमा मल्होत्रा, लन्डनस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, बेलायतका लागि कुवेती राजदूत खालिद अब्दुल्लाजिज अल दुवाइसान, म्यानमारका राजदूत यू क्याउ ज्वार मिन, लाओस राजदूत सायाकाने 
सिसोउभोंग, साइप्रसका राजदूत लगायत स्थानीय मेयर, काउन्सिलरहरु र अन्य विशिष्ट व्यक्तित्व सहभागी थिए ।

बेलायतका लागि नेपाली राजदूत सुवेदीले स्वागत मन्तव्य राख्दै बुद्धको जन्मस्थल नेपालको लुम्बिनी भएकोबारे प्रष्टिकरण दिइरहन आवश्यक नभएको बताए । उनले बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्वमाझ शान्ति, सद्भाव, अहिंसा, सहिष्णुता र सहअस्तित्वको एक अन्तर्राष्ट्रिय केन्द्रका रुपमा विकास गर्न मित्र राष्ट्रहरुलाई आग्रह समेत गरे ।

समारोहमा प्रमुख अतिथी सांसद डोनेलन, सांसद सिमा मलहोत्रा, बेलायतका लागि म्यानमार, लाओस र कुवेतका राजदूत, लन्डन बरो अफ बार्नेट काउन्सिलका मेयर ब्रायन सालिंगर, लुइसम काउन्सिलका चियर ओबाजिमी लगायतले शुभकामना मन्तव्य दिंदै बुद्धको शान्ति सन्देशको सान्दर्भिकता दर्शाएका थिए ।

मुख्य आयोजक बुद्ध फाउण्डेशन यूकेका अध्यक्ष दीपक श्रेष्ठले बुद्ध सन्देश विश्वमाझ लैजान र नेपालको पर्यटन प्रवर्धनका लागि कार्यक्रम गरिएको बताए ।

कार्यक्रमका प्रमुख तथा विशिष्ट अतिथीहरुलाई बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी, पर्यटन बोर्डका मानार्थ जनसम्पर्क प्रतिनिधि पशुपति भण्डारी, एनआरएर्न आइसिसी सहकोषाध्यक्ष सोम सापकोटा लगायतले आयोजकका तर्फबाट मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रम गणेश खड्का र गौमाया गुरुङले सञ्चालन गरेका थिए भने संयोजक सूर्य गुरुङले संक्षिप्त मन्तव्य राख्दै कार्यक्रमबारे जानकारी गराए ।

कार्यक्रममा विभिन्न गीत संगीत, नृत्यसहितका सांस्कृतिक कार्यक्रम देखाइएको थियो । सो अवसरमा अहिंसाको सन्देश प्रवाह गर्ने एक नाटक समेत मञ्चन गरियो भने गायक गंगा थापा, श्रेया राई लगायतले गीत प्रस्तुत गरे । मौलिक नेपाली संस्कृति झल्काउने कुमारी नाचको प्रस्तुति आकर्षक देखिन्थ्यो ।

तस्विरहरु- शिव भण्डारी

प्रतिक्रिया

सम्बन्धित सामाग्री