सात समुद्रपारि बसेर लोकसंगीतमा नेपाली माटो खोज्दै

नेपाली लोक दोहोरी गीत तथा संगीतका सर्जक नवराज पन्त । उहाँका ‘डाँडै फुर्के सल्लो’, ‘मायालुको शहरमा’, ‘पिरतीको खाममा’, ‘मेरो गाउँमा घर छ’ जस्ता लोकदोहोरी गीत चर्चित छन । तस्बिर सौजन्य–नवराज पन्त, रासस

काठमाडौँ, २३ वैशाख – “सात समुद्रपारि भए पनि मलाई मेरै पाखापखेरा प्रिय लाग्छन् । यहीँका भञ्ज्याङ र चौतारी सुन्दर लाग्छन् । धवलागिरि र माछापुच्छ्रेको छाया मन पर्छ”, यो भनाइ हो सर्जक नवराज पन्तको ।

चार वर्षदेखि अमेरिकाको मेरिल्याण्डमा रहेर पनि नेपाली पाखा,पखेराको सपना देख्ने पन्तले सिर्जना गर्नुभएको ‘डाँडै फुर्के सल्लो’, ‘मायालुको शहरमा’, ‘पिरतीको खाममा’, ‘मेरो गाउँमा घर छ’ जस्ता लोकदोहोरी गीत चर्चित छन् । रासससँग कुरा गर्दै पन्त भन्नुहुन्छ, “मैले मेरै गाउँपाखाको भाका लेखेँ, लोकगीतको नाममा छाडा संस्कृति मौलाएको बेला फरक धारबाट गीत लेख्ने जमर्को गरेँ । आज दर्शक, स्रोताले सफल बनाइदिनुभएको छ, यसैमा खुशी लाग्छ ।”

उहाँ मेरिल्याण्डमा बसेर सेतो धवलागिरिले पाखापखेरामा प्रकाश छरेको, माछापुच्छ्रेले फेवातालमा डुबुल्की मारेको, लेकको चिसो पानीले तिर्खा मेटाएको तथा रोधी घरमा बसेर मौलिक नेपाली लोकभाका घन्काएको सपना देख्नुहुन्छ । उहाँले लेखेका गीतले यस्तै भन्छन् । नेपाली लोकसंगीतमार्फत उहाँले नेपाल, नेपाली संस्कृति, वेशभूषा र राष्ट्रियताका लागि हरदम कलम चलाउँदै आउनुभएको छ ।

विसं २०४२ चैत १० गते बागलुङमा जन्मनुभएका पन्त घरको बार्दलीबाट देखिने धवलागिरि र माछापुच्छ्रेलाई नै विम्ब वनाएर लोकगीतको सिर्जना गरेको सुनाउनुहुन्छ । लोकगायक वसन्त थापा भन्नुहुन्छ, “पन्त नयाँ विषयवस्तुलाई उठान गर्नुहुन्छ । उहाँका शब्दमा सिर्जनात्मकता छ । पुरानो विषयलाई नयाँ परिवेशअनुरुप बनाउन सक्ने सोच र क्षमता उहाँका शब्दमा पाइने हुँदा म उहाँका गीत गाउन प्रोत्साहित हुन्छु ।”

“संस्कार र संस्कृति जोगाउनु हरेक नागरिकको कर्तव्य ठान्ने पन्तले आफ्नो चार वर्ष लामो अमेरिका बसाइपछि पनि स्वदेशमा रहने नेपालीले मातृभूमिप्रति लगाउन सक्ने गुनभन्दा कम योगदान गर्नुभएको छैन”, थापा थप्नुहुन्छ, “पन्तमा अदम्य साहस, इमान्दारी र निर्भीकता छ, यसलाई शब्दमा उतार्न उहाँसँग सीप छ, जोश र जाँगर पनि छ । पश्चिमा गीतसंगीतले बिगारेको नेपाली समाजलाई आफ्नो संस्कार र संस्कृतिप्रति पनि सचेत बन्दै अघि बढ्ने बोध गराएको छ ।”

हुन त कतिपयले आफ्नो कलालाई जीविकोपार्जनको माध्यम वनाएका हुन्छन् तर पन्त भन्नुहुन्छ, “कला प्रकृतिले दिएको अनुपम उपहार हो, यसलाई दुई छाक खान र व्यक्तिगत फाइदाका लागि मात्र प्रयोग गर्नु हुँदैन । कलाकारमा सेवाभाव, आफ्ना संस्कार तथा संस्कृतिप्रति गहिरो अध्ययन र माया रहेन भने न त कलाकारको प्रगति सम्भव छ न कला नै फस्टाउन सक्छ”, पन्त भन्नुहुन्छ, “कोही कवि, गायक वा सङ्गीतकार बन्छु भन्दैमा त्यो सम्भव हुँदैन ।”

पन्तका कैयौँ गीत आफूले गाएको बताउँदै गायक थापा भन्नुहुन्छ, “किन किन मलाई त उहाँको शब्दमा जादु छ जस्तो लाग्छ ।”

उहाँका ‘धौलागिरि हिमालको छाया कहाँ होला’ भन्ने बोलका गीतले लोकसङ्गीत क्षेत्रकै उचाइ थपिदिएको थापा बताउनुहुन्छ । लोकगायक तथा संगीत सर्जक कुलेन्द्र विक भन्नुहुन्छ, “पन्तका सिर्जनाले नेपाली लोक पारखीको मनमस्तिष्कमा अमिट छाप छाडेका छ । उहाँका शब्द मौलिक छन् र नेपालीको जनजिब्रोमा सजिलै बस्न सक्छन् । विदेशमा बसेरै पनि लोकसङ्गीतप्रति ठूलो योगदान गरिरहनुभएका पन्त लोकसाहित्य बुझेका सर्जक हुन् ।”

पन्त अमेरिका पुग्नु आफ्नो बाध्यता मान्नुहुन्छ । “मलाई देश छाडेर विदेश जाने पटक्कै मन होइन । त्रिभुवन विश्वविद्यालयबाट एमबिबिएस गरेपछि केही समय अध्यापन पेशामा लागेँ । निजी क्षेत्रमा अध्यापन गर्दा पैसा पनि खासै नपाइने र घरको आर्थिक स्थिति त्यति मजबुत नभएकाले साथीको लहैलहैमा अमेरिका आउने सोच बनाएँ”, उहाँ भन्नुहुन्छ ।

नेपाली खोलानाला र पाखापखेराका सुसेलीलाई शब्दमा उतार्ने क्षमता राख्ने पन्तको हालै आफ्नो ‘धौलागिरि हिमालको छाया… ” भन्नेगायक थापा र विष्णु माझीको स्वरमा प्रकाशित पछिल्लो गीतको श्रव्यदृश्य सामग्रीसमेत युट्यूबबाट सार्वजनिक भएको छ ।

अभ्यास डिजिटल रेकर्डिङमार्फत बजारमा ल्याइएको तथा थापा, ओबी रायमाझी, करिश्मा ढकाल र रीना थापाको अभिनय रहेको उक्त गीतमा प्रकाश भट्टले निर्देशन गर्नुभएको छ । “म विशेष गरी अमेरिकाका विभिन्न शहरमा घुम्दा, हिँड्दा र काम गर्दा नै लोकगीतको शब्द र लय बनाउँछु”, पन्त भन्नुहुन्छ, “नेपालप्रतिको अगाध माया प्रकट हुन्छ ।”

उहाँ लोक गीतसङ्गीतमा विकृति नभित्र्याउन र नेपाली माटोको सुगन्ध खोज्न सबैमा आग्रह गर्नुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री