ट्रम्पद्वारा कोरियाली सीमा क्षेत्र नै शिखर सम्मेलनका लागि प्रस्ताव

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

वासिङ्टन, संयुक्त राज्य अमेरिका, १७ वैशाख – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जङ–अनसँग हुने भनिएको शिखर वार्ता कोरियाली सीमाक्षेत्रमा नै गर्न सकिनेतर्फ सङ्केत गर्नुभएको छ ।

ट्रम्पले सोमबार ट्वीटरमा लेख्नुभएको छ, “बैठकका लागि कैयौँ मुलुकहरू उचित भनी व्यक्त भएका छन् । तर तेस्रो मुलुकभन्दा उत्तर र दक्षिण कोरियाको सीमास्थित शान्ति-स्वतन्त्रता गृह नै शान्ति र स्थायित्वका लागि धेरै प्रतिनिधिमुलक हुन सक्दैन र ?”

उत्तर कोरिया र दक्षिण कोरियाको सैन्य निषेधित क्षेत्र तथा सिमानामा रहेको कोरियाली युद्धविरामस्थल पानमुनजोममा रहेको शान्ति गृहमा गत शुक्रबार नेता किम र दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ–इनबीच ऐतिहासिक शिखर सम्मेलन भएको थियो ।

दुई कोरियाबीच सन् १९५३ मा युद्धविराम भएदेखि नेता किम दक्षिण कोरियाली भूमिमा पाइला टेक्ने पहिलो कोरियाली नेता हुनुहुन्छ । नेता किमले दक्षिण कोरियाली राष्ट्रपति मुनसँगै सिमानाको दक्षिणी भागबाट शान्ति गृहमा प्रवेश गर्नुभएको थियो ।

कोरियाली प्रायदीपलाई पूर्णरूपमा आणविक निशस्त्रीकरण गर्न कोरियाली प्रतिवद्धताका लागि अमेरिकी राष्ट्रपति ट्रम्प र किमबीचको शिखर सम्मेलनको तयारी भइरहेको छ । सोलका अनुसार उत्तर कोरियाले आफ्ना आणविक हतियार परीक्षणस्थललाई केही हप्ताभित्रमा बन्द गर्ने र यसको पुष्टिका लागि अमेरिकी विज्ञलाई निमन्त्रणा गर्ने वाचा गरेको छ ।

यदि संयुक्त राज्य अमेरिकाले उत्तर कोरियाविरूद्ध घुसपैठ नगर्ने वाचा गर्ने हो भने प्योङयाङलाई आणविक हतियारको आवश्यकता नरहने नेता किमले मुनसँगको कुराकानीमा बताएका दक्षिण कोरियाली अधिकारीले बताएका छन् ।

आफ्नो देशमा गर्न इन्डोनेसियाको आह्वान 

जाकर्ता, १७ वैशाख – ट्रम्प र किम जोङ अनबीच हुन लागेको शिखर सम्मेलन आफ्नो देशमा गर्न इन्डोनेसियाले आह्वान गरेको छ ।

शिखर सम्मेलनका लागि आवश्यक सम्पूर्ण व्यवस्था गर्न आफ्नो देश तयार रहेको इन्डोनेसियाको भनाई छ ।

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गर्ने प्रयासलाई आफूहरुले पनि सहयोग गर्न चाहेको सोमबार बताउनुभयो ।

उहाँले उत्तर कोरियाका राजदूत एन क्वाङ आइआइ र दक्षिण कोरियाका राजदूत किम चाङबोमसँग स्टेट प्यालेसमा सोमबार भेटेर शिखर सम्मेलन इन्डोनेसियामा गर्न प्रस्ताव गर्नु भएको हो ।

“यदि उत्तर कोरियाका सर्बोच्च नेता किम र अमेरिकी राष्ट्रपति ट्रम्प बीच भेटवार्ताको तयारी भएको हो भने त्यसको आयोजना हामी गरिदिन चाहन्छौं,” राष्ट्रपति विडोडोले भन्नुभयो ।

दुई देशका राजदूतहरुसँगको भेटपछि आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति विडोडोले शिखर सम्मेलनकालागि आफूहरू तयार र इच्छुक रहेको बताएको जानकारी दिनुभयो ।

उहाँले आफ्नो देशको प्रस्तावलाई सम्वन्धित नेताहरूले सकारात्मकरूपमा लिने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

यसअघि थाइल्याण्डले दुई पक्षीय वार्ताका लागि आफ्नो देशमा आउन आग्रह गरेको थियो ।

गत मंगलबार थाइल्याण्डका विदेश मन्त्री डोन प्रामुडवीनैले उहाँहरुको शिखर वार्ताका लागि स्वयमसेवी तरिकाले सवै व्यवस्था गर्न थाइल्याण्ड तयार रहेको बताउनु भएको थियो ।

राष्ट्रपति ट्रम्पले नेता किमसँग आउदो जुनमा वार्ता हुनसक्ने यसअघि नै बताउनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री