भारतमा बालिका बलात्कार गर्नेलाई मृत्युदण्ड दिने कानून अनुमोदन

नयाँ दिल्ली, भारत, ८ वैशाख – भारत सरकारले बालिकामाथि बलात्कार गर्ने व्यक्तिलाई मृत्युदण्ड दिने कानून शनिबार अनुमोदन गरेको छ ।

हालै भारतको जम्मु काश्मिरमा एक आठ बर्षीया बालिकामाथि भएको बलात्कारको घटना र भारतमा दैनिक करिब ५० जनाको दरमा बलात्कारका घटना हुन थालेपछि सरकारले बलात्कारीलाई मृत्युदण्ड दिने कानूनलाई अनुमोदन गरेको हो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले कमनवेल्थ शिखर सम्मेलनबाट फर्केलगत्तै शनिबार उक्त कानूनबारे छलफल गर्न मन्त्रीपरिषद् बैठक बोलाउनुभएको थियो । उक्त बैठकबाट बलात्कारीलाई मृत्युदण्ड दिने कानूनलाई अनुमोदन गरिएको हो ।

जम्मुकाश्मिरमा एक कलिली बालिकामाथि भएको उक्त घटनाको निन्दा गर्दै देशैभर विरोध प्रदर्शन भएपछि प्रधानमन्त्री मोदीले उक्त कानूनी प्रावधान अघि सार्नुभएको थियो । मन्त्रीपरिषद्को उक्त निर्णयलाई सरकारले विचार विमर्शका लागि भारतीय राष्ट्रपतिसमक्ष पेश गर्ने बताइएको छ ।

पछिल्लो निर्णयले किशोरीमाथि हुने बलात्कारको सजायलाई पनि थप कडा पारेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री