
लन्डन । गैर आवासीय नेपाली संघ यूके
(एनआरएनए यूके) ले गत ३१ मार्चमा अल्डरसटमा आपतकालिन कोषका लागि पहिलो पटक गरेको ‘च्यारिटी डिनर वीथ बक्सिङ शो’ सफल भएको ठहर गरेको छ । शुक्रबार सांझ समिक्षा बैठकमा एनआरएनए यूके पदाधिकारीले कार्यक्रम पृथक, भव्य र सभ्य भएको निष्कर्ष निकालेका हुन् । कार्यक्रमले नयां पुस्तालाई एकजुट गराउन र उनीहरुको खेल सम्भावनालाई थप उजागर गरेको पनि टिप्पणी गरेका छन् ।
उक्त च्यारिटी कार्यक्रमका संयोजक एनआरएनए यूके उपाध्यक्ष तथा च्यारिटी विभाग संयोजक प्रेम गाहामगरले मिडियासमक्ष च्यारिटीमा भएको खर्च र आम्दानी सार्वजनिक गरे । उनका अनुसार, २८ हजार १५ पाउण्ड कुल आम्दानी र २३ हजार ४२८ पाउण्ड खर्च भइ आपतकालिन कोषमा ४५८७ पाउण्ड (करिब ६ लाख ७३ हजार ८३० रुपैयां) वचत भएको छ ।
‘खेल आफैंमा खर्चिलो थियो र चुनौतिपूर्ण पनि’, संयोजक गाहामगरले भने, ‘पहिलोपटक उल्लेख्य रकम संकलन नभएपनि अर्को पटक धेरै र व्यवस्थापन पक्ष अझ सुधार गर्न सकिने आत्मविश्वास बढेको छ । खुशी के भने हामीले एनआरएनए यूकेले पनि यस्तो कार्यक्रम गर्न सक्ने रहेछ भन्ने प्रमाणित गरेका छौं ।’
गाहामगरले सहयोगदाता, प्रायोजक, अतिथी, मिडिया लगायत सबैप्रति आभार व्यक्त गरेका छन् ।
बैठकमा एनआरएनए यूके अध्यक्ष योगकुमार फगामीले बेलायतस्थित सबै संघसंस्था र व्यक्तिहरुको सामूहिक प्रयासले कार्यक्रम गर्व गर्न लायक भएको टिप्पणी गरे । ‘कोष त भविष्यमा पनि थपिंदै जाला तर कार्यक्रमले समुदायमा सकारात्मक सन्देश दिएको हाम्रो बुझाइ छ’, अध्यक्ष फगामीले भने, ‘भविष्यमा यसलाई अझ व्यवस्थित र खर्च न्यूनीकरणमा हामी सजग हुनेछौं ।’
फगामीका अनुसार उक्त कार्यक्रममा ४७ संघसंस्थाको प्रत्यक्ष सहभागिता र अप्रत्यक्ष रुपमा कयौंले सहयोग गरे । उनले आगामी मे ६ मा बस्ने संघको चौंथो कार्यसमिति बैठकमा च्यारिटीबारे अझ विस्तृत समिक्षा गरिने बताए ।
बैठकमा एनआरएनए यूके महासचिव आर के त्रिपाठीले बक्सिङ शोसहितको उक्त च्यारिटीले युवा परिचालन, उनीहरुको प्रचुर सम्भावना उजागर र सामुदायिक एकीकरणमा इट्टा थपेको बताए । ‘सधैं एकै खालको कार्यक्रम भन्दा यसपटक केही पृथक गर्ने सोचले कार्यक्रम आंटियो’, त्रिपाठीले भने, ‘सबैको हातेमालोले सफल पनि भयो । यसले अन्य एनसीसीलाई पनि प्रेरित गरेको छ ।’
कार्यक्रममा एनआरएनए यूके सदस्य तथा धर्म विभाग संयोजक होमनाथ पौडेल, मिसेस नेपाल टिमका तर्फबाट मनिषा डंगोल श्रेष्ठ, आस्था जोशी, गिता बस्नेत पाण्डे, अमृता गिरी गजुरेल लगायतले आ आफ्नो अनुभव सुनाएका थिए । मिसेस नेपाल टिमले च्यारिटी एकदम नौलो भएको जनाउंदै आफूहरुलाई त्यसमा विशेष प्राथमिकता दिएकामा एनआरएनए यूकेप्रति आभार व्यक्त गरेको छ ।
उक्त ‘च्यारिटी डिनर वीथ बक्सिङ शो’ लाई बेलायतको नेपाली समुदायले फरक मानेको छ । चार सय १५ जना सहभागी उक्त कार्यक्रममा राजदूत डा. दुर्गाबहादुर सुवेदीसहित ब्रिटिश प्रोफेसनल बक्सरहरु वल्ड नम्बर थ्री जोन राइडर, १९९६ लन्डन एबीए फाइनलिस्ट अलान साउथवीक, ग्रेट ब्रिटेन बक्सिङ टिमका नम्बर २ खेलाडी क्रिस ब्रोक, यूरोपियन च्याम्पियन आदिप राना विशेष अतिथीका रुपमा थिए भने बेलायतका विभिन्न क्लब आवद्ध खेलाडीहरु रिङमा भिडेका थिए ।
तस्विर- शिव भण्डारी
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]