रुसले अमेरिकासंग लियो बदला, ६० कूटनीतिज्ञलाई देश छोड्न आदेश

मस्को, १६ चैत – संयुक्तराज्य अमेरिकाले आफ्नो मुलुकमा कार्यरत ६० जना रुसी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको घटनापछि त्यसको बदला रुसले पनि लिएको छ । रुसले पनि अमेरिकी कूटनीतिज्ञलाई देश निकाला गरेको छ । यसको जानकारी शुक्रबार रुसी विदेश मन्त्रालयले दिएको छ ।

यसअघि अमेरिकी विदेश मन्त्रालयले गरेजस्तै अमेरिकाका ६० जना कूटनीतिज्ञलाई रुसले पनि देश छोड्न आदेश दिएको समाचारमा जनाइएको छ ।

तर यसलाई अमेरिकाले भने आधारहीन भनेको छ । अमेरिकाले आफ्ना कूटनीतिज्ञहरुलाई रुसले बिना कुनै आधार देशनिकाला गरेको बताएको छ ।

रुसको सहर सेन्ट् पिट्सवर्गमा रहेको अमेरिकी कन्सुलेट कार्यालय बन्द गराउने आदेश रुसी विदेश मन्त्रालयले दिएको छ ।

रुसी विदेशमन्त्री सर्गेइ लाभरोवले ४८ घण्टाभित्र सो कन्सुलेट कार्यालय बन्द गर्न आदेश दिइएको जानकारी शुक्रबार बिहान दिनुभएको हो ।

रुसको उक्त आदेशपछि अमेरिकाको तर्फबाट यो प्रतिक्रिया आएको हो ।

अमेरिकाले रुसी कूटनीतिज्ञहरुलाई उनीहरुको कामका आधारमा देश निकालेको जनाएको छ र भनेको छ– ‘तर रुसले भने बदला लिने मात्र काम गरयो, हाम्रा कूटनीतिज्ञ निकाल्नुपर्ने आधार रुससँग छैन ।’

पछिल्लो समयमा विश्वका कैयौँ देशले रुसी कूटनीतिज्ञलाई निष्कासन गर्ने गरेका छन् । त्यसको बदलामा रुसले पनि ती देशका कूटनीतिज्ञलाई देश निकाला गर्ने गरेको छ ।

सुरूमा अमेरिकाले दुई बृटिश नागरिकमाथि रासायनिक अस्त्र हमलाको आरोप लगाएर ६० जना रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने बताएको थियो ।

त्यसैको जवाफस्वरुप रुसले पनि अमेरिकी कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएको हो । अमेरिकाले त्यहाँको सियाटलस्थित रूसी महावाणिज्यदूतावास बन्द गराएर कूटनीतिज्ञलाई देश छोड्न भनेको हो ।

यता रुसले पनि सेन्ट पिटस्बर्गमा रहेको एक अमेरिकी कन्सुलेट कार्यालय बन्द गराएको हो । यस घटनापछि यी दुई देशबीचको कूटनीतिक सम्बन्धमा थप दरार उत्पन्न हुने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री