बुधबार, असोज ७ २०७७ | Wed, September 23, 2020
नेपालको समय: १८:४९ | UK Time: 14:04

पोर्चुगलमा नेपाल महोत्सवको भव्य तयारी

राजकुमार थापा
२०७४ चैत १४ गते १३:०५

लिस्बन (पोर्चुगल) । युरोपेली मुलुक पोर्चुगलमा ‘नेपाल महोत्सव’ हुने भएको छ । नेपाली नयां वर्ष २०७५ को अवसर पारेर गैर आवासीय नेपाली संघ, पोर्चुगलको आयोजनामा पहिलोपटक नेपाल महोत्सव हुने भएको हो ।

संघले राजधानी लिस्बनस्थित मार्तिम मुनिज पार्कमा यही १५ अप्रिलमा नेपाल महोत्सव गर्न लागेको छ । प्रवासमा नेपाली कला र लोक संस्कृतिको संरक्षण, सम्वर्धन, प्रवर्धन एवं नेपाली पर्यटनको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको संघका अध्यक्ष कुवेर कार्कीले जानकारी दिए । महोत्सव पोर्चुगलको नेपाली समुदायका लागि भव्य कार्यक्रम हुने र सोही अनुसार तयारी गरिएको कार्कीले बताए । महोत्सवमा प्रमुख आतिथ्य ग्रहणका लागि संघले नेपालका संस्कृति, पर्यटन तथा नागरिक उडययन मन्त्री रविन्द्र अधिकारीलाई औपचारिक निम्तो पठाइएको अध्यक्ष कार्कीले बताए ।

नेपाली वाणिज्य दूतावासको संरक्षकत्व एवं नेपाली पर्यटन दूत, नेपाल चेम्बर अफ कमर्शका प्रतिनिधि तथा पोर्चुगलमा क्रियाशील नेपाली संघ संस्थाको सहआयोजनामा नेपाली महोत्सव हुने भएको हो ।

महोत्सव गर्नका लागि यहाँको सरकारी निकायसँग स्वीकृति लिएर व्यापक तयारीमा लागिएको अध्यक्ष कार्कीले बताए । नेपाल महोत्सव हुने भएपछि यहाँका सरकारी निकायसमेत उत्साही भएका छन् । उनीहरुले महोत्सव सफल पार्न सबै खाले सहयोग गर्ने आश्वासनसमेत दिएका कार्कीले बताए । महोत्सवले नेपाली पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुरयाउने अपेक्षा छ ।

महोत्सवमा नेपाली उत्पादन, हस्तकला, नेपाली खाना, नेपाली पोशाक, नेपाल झल्काउने तस्वीरलगायतका १२ स्टल रहने संघले जनाएको छ । त्यस्तै, बुद्ध जन्मस्थल लुम्बिनी, सर्वोच्च शिखर सगरमाथालगायत नेपालको पर्यटकीयस्थलका विषयमा जानकारी दिन र प्रचारप्रसार गर्नका लागि छुट्टै स्टल राखिने समेत अध्यक्ष कार्कीले जानकारी दिए ।

महोत्सवको तयारी तीव्र रुपमा अगाडि बढेको छ । ‘पोस्टर, पम्प्लेट, भिडियो क्लिप, गीत, फेसबुक प्रोफाइल फ्रेम, सोसियल मिडिया र अहिलेको आधुनिक प्रविधिलाई भरपुर प्रयोग गरिरहेका छौं, अझै यसलाई व्यापक र तीब्र बनाइनेछ’- संघका प्रवक्ता प्रभात पौडेलले भने ।

स्थानीय नेपाली मिडियाले पनि प्रचार प्रसारमा ठूलो सहयोग पुरयाइरहेको पौडेलले जनाए । ‘अब हामी यसलाई पोर्तुगिस मिडियामा पनि लैजाने तयारीमा छौं’- पौडेलले योजना सुनाए ।

एक दिने मेलामा नेपालको बारेमा जानकारी दिने, नेपाली कला, लोक संस्कृति र नेपाली पर्यटनको प्रचारप्रसार र प्रवद्र्धन गर्ने तथा नेपाली वेषभूषासहितको सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिने कार्यक्रम छ । यस्तै महोत्सवमा पोर्चुगलमा रहेका ख्यातिप्राप्त नेपाली राष्ट्रिय कलाकारको विशेष सांस्कृतिक प्रस्तुति समेत रहने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक