बेलायतलाई अमेरिकी साथ, ६० रूसी कूटनीतिज्ञलाई अमेरिका छोड्न निर्देशन

रुसी पूर्वगुप्तचर सेर्गेइ स्क्रिपाल र उनकी ३३ वर्षकी छोरी युलीआ

वासिङ्टन, संयुक्त राज्य अमेरिका, १२ चैत – बेलायतमा विष सेवन गराएर एक जना पूर्व रूसी गुप्तचर र उनकी छोरीको हत्या प्रयास प्रकरणमा रूसविरुद्ध उभिने नीति अनुरूप प्रतिवद्धता जनाउँदै संयुक्त राज्य अमेरिकाले आफ्नो मुलुकमा कार्यरत ६० कुटनीतिज्ञलाई निष्कासन गरेको छ ।

अमेरिकाले यसै सन्दर्भमा सिटलस्थित रूसी महाबाणिज्य दूतावास बन्द गराउने पनि निर्णय गरेको छ ।

पूर्व गुप्तचर ६६ वर्षका सेर्गेइ स्क्रिपाल र उनकी ३३ वर्षकी छोरी युलीआविरुद्ध भएको हत्या प्रकरणमा बेलायतलाई साथ दिने अमेरिकी नीति अनुरुप उनीहरूलाई देश निकालाको घोषणा गरिएको हो ।

अमेरिकी ट्रम्प प्रशासनले यसबारे रूसलाई जानकारी गराइसकिएको जनाएको छ । निष्कासन भएका रूसी अधिकारीले आगामी एक हप्ताभित्र अमेरिका छोड्नुपर्ने गरी अमेरिकाको यो निर्णय आएको नाम गोप्य शर्तमा अमेरिकी अधिकारीले बताएका छन् ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन तथा उनको प्रशासन विरुद्ध अमेरिकी प्रशासनले गरेको यो महत्वपूर्ण र कडा कदम हो ।

रूसी राष्ट्रपतिमा हालै निर्वाचित पुटिनलाई भण्डै एक हप्ता अघिमात्र फोनमार्फत वधाई ज्ञापन गरेका अमेरिकी राष्ट्रपति ट्रम्पले उक्त समय स्क्रिपालको मुद्दाबारे कुनै प्रसङ्ग उठाएका थिएनन् ।

यसले कतै ट्रम्प क्रेम्लिन प्रशासनप्रति निकै नरम भएका त होइनन् भन्ने प्रश्न उब्जाएको थियो । यसै विषयमा बेलायतले यस पहिले नै २३ जना रसियाली कूटनीतिज्ञलाई निष्कासन गरेको थियो भने जर्मनी र फ्रान्सले पनि पनि सोमबार नै चार चार जना रूसी अधिकारीलाई फिर्ता पठाउने निर्णय गरेका छन् ।

यसैगरी यूरोपेली यूनियनका सदस्य रहेका अन्य राष्ट्रले पनि क्रमशः रूसलाई एक्लाउने नीति अनुरुप कडा कदम चाल्न सहमत भएका ब्रसेल्समा भेला भएका इयू सदस्य राष्ट्रका नेताहरूले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री