अन्तर कोरिया वार्ता अर्को हप्ता गर्न उत्तर कोरिया सहमत

सोल, १० चैत – उत्तर कोरियाले अन्तर कोरिया उच्चस्तरीय वार्ता अर्को हप्ता गर्न शनिबार सहमति जनाएको छ ।

दुर्लभ मानिएको अन्तर कोरिया शिखर सम्मेलनको व्यवस्थापनका बारेमा छलफल गर्न उच्चस्तरीय वार्ता हुन लागेको दक्षिण कोरियाको एकता मन्त्रालयले जनाएको छ ।

उच्चस्तरीय वार्तामा दुवै देशका तर्फबाट तीन-तीन जना प्रतिनिधि सहभागी गराइने मन्त्रालयले तयारी गरेको छ ।

पान्मुन्जोमको एक ठाउँमा बिहीबार वार्ता हुने र त्यही वार्तामार्फत् आउदो अप्रिलको अन्त्यतिर शिखर सम्मेलन गर्ने गरी तयारी गरिने भएको छ ।

दक्षिण कोरियाले अब हुन गइरहेको उच्चस्तरीय वार्तामा शिखर सम्मेलनको मिति र एजेण्डाका बारेमा छलफल गर्न उत्तर कोरियासँग गत बुधबार प्रस्ताव राखेको थियो ।

‘युनिफिकेसन फेभिलियन विल्डीङ’ मा हुने वार्तामा दक्षिण कोरियाली प्रतिनिधि मण्डलको नेतृत्व एकता मन्त्री चो म्योउङ र उत्तर कोरियाको तर्फबाट उहाँका समकक्षी रि सन ग्वाङले नेतृत्व गर्नुहुने भएको छ ।

दुई देशको शिखर सम्मेलनमा भने दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन र उत्तर कोरियाका नेता किम जोङ उनका बीचमा भेटवार्ता गराउने लक्ष्य राखिएको छ ।

गत फेब्रुअरी ९ देखि २५ सम्म दक्षिण कोरियामा सम्पन्न ओलम्पिक खेलकुदमा उत्तर र दक्षिण कोरियाका प्रतिनिधिको सहभागिताबाट दुई देशको सम्बन्धमा पछिल्लो समय निकै सुधार आएको महसुस गरिएको छ ।

दुई देशकाबीचमा सम्वन्ध सुधार हुँदै गएपछि उत्तर कोरिया र अमेरिकाको सम्वन्धमा पनि नाटकिय हिसाबले सुधार आएको छ ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उत्तर कोरियाका नेतासँग अमेरिकाले वार्ता गर्न तयार रहेको बताउनुभएको छ । उहाँले उत्तर कोरियाले आणविक अस्त्रको उत्पादन रोक्ने बाचा गरेका कारण वार्ताका लागि आफू उत्साहित भएको केही समय अगाडि बताउनुभएको थियो ।

राष्ट्रपति ट्रम्पले त्यस वार्ताका लागि जापान, दक्षिण कोरिया र चीनको पनि समर्थन र सहयोग रहेको खुलासा ट्वीटमार्फत नै गर्नुभएको छ ।

उत्तर कोरियाली नेता किम जोङ उन र राष्ट्रपति ट्रम्पबीच आगामी मे अन्तिमतिर भेटवार्ता हुने कार्यक्रम पनि सोही समयमा तय भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री