सगुनमा अन्तर्राष्ट्रिय मिडिया कम्पनीको एकैपटक ५० 
करोड लगानी


लन्डन । सोसियल कमर्स प्लेटफर्म ‘सगुन’ मा अन्तर्राष्ट्रिय मिडिया हाउसको एकैपटक ५० करोड लगानी थपिएको छ । एचटी ओभरसिज प्रालि (एचटी सिंगापुर) ले सगुनमा ५ मिलियन अमेरिकी डलर बराबरको लगानी गर्ने घोषणा गरेको सगुनले जनाएको छ ।

उक्त मिडिया कम्पनीले भारतको सबैभन्दा पुरानो एवं चर्चित अंग्रेजी पत्रिका ‘हिन्दूस्तान टाइम्स्’ र ‘मिन्ट’, हिन्दी भाषाको ‘हिन्दूस्तान’ सहित कयौं एफएम रेडियो सञ्चालन गरिरहेको छ । एचटी ओभरसिजले सगुनमा लगानी गरेसंगै अब आफ्ना चर्चित मिडियामार्फत सगुनको विश्वव्यापी 
प्रवर्धनसमेत गर्नेछ । यसका लागि उसले हिन्दूस्तान टाइम्स र यसको मातहतमा सञ्चालित सञ्चारमाध्यमलाई उपयोग गर्ने सम्झौता भएको छ ।

एचटी सिंगापुरसंगको यो सम्झौतापछि सगुनको पहुंच भारतसहित दक्षिण एसियाका ४६० मिलियन इन्टरनेट प्रयोगकर्तासम्म पुग्ने अपेक्षा गरिएको छ । सम्झौताबारे जानकारी दिंदै सगुनले आफ्नो ‘सोसियल स्मार्ट कार्ड’ को विकासलाई निरन्तरता दिइरहेको जनाएको छ । उक्त स्मार्ट कार्ड सन् २०१८ को अन्त्यसम्म प्रयोगकर्तालाई उपलब्ध गराउने अठोट सगुनले गरेको छ ।

सगुनका प्रयोगकर्ताले स्मार्ट कार्डमार्फत किनमेल, कुपन र उपहार किन्दा पैसा कमाउन समेत सक्नेछन् ।

गत जनवरीमा एन्ड्रोयड मोवाइल एप ल्याइसकेको सगुनले छिट्टै ‘आइओएस एप’ समेत विकास गर्ने जनाएको छ । सगुनको एन्ड्रोयड मोवाइल एप ५ लाख ८० हजार जनाले डाउनलोड गरिसकेका बताइएको छ । स्मार्ट कार्ड र आइओएस एपले सामाजिक सञ्जालको क्षेत्रमा नयां क्रान्ति ल्याउने सगुनको दावी छ ।

सगुनका संस्थापक तथा प्रमुख कार्यकारी गोविन्द गिरीले यो सम्झौताले आफूहरु निकै उत्साहित भएको बताए । ‘सम्झौताले हामीलाई ठूलो संख्यामा भारतीय प्रयोगकर्तासंग जोड्नेछ, जो संसारमै दोस्रो ठूलो इन्टरनेट बजार हो’- उनले भने ।

अहिले सगुनका १६ लाख प्रयोगकर्ता छन् भने यसले २ अर्ब ८० करोड सामाजिक सञ्जाल प्रयोगकर्तालाई उत्कृष्ट सामाजिक सञ्जालको रुपमा सेवा दिने लक्ष्य लिएको छ ।

‘हाम्रो लगानीले सामाजिक सञ्जालको क्षेत्रमा सगुन कतिसम्म उत्कृष्ट छ भन्ने प्रस्ट पार्छ’- हिन्दूस्तान टाइम्सका इक्विटी टिमका प्रमुख अतिभ चड्डाले भने- ‘अब प्रयोगकर्ताले सगुनबाट झन् उत्कृष्ट सामाजिक सञ्जालको अनुभव प्राप्त गर्नेछन् । हामी यो सहकार्यबाट निकै उत्साहित छौं ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री