काठमाडौँ, २७ माघ – स्थायी शिक्षकको जागिर छाडेर पूर्णकालीन राजनीतिमा होमिएको तीन दशकपछि सानुकुमार श्रेष्ठ प्रदेशसभा सदस्य हुँदै प्रदेश सभामुख बन्नुभएको छ ।
आफ्ना राजनीतिक समकालीन कतिपय साथी यसअघि नै पार्टीका पदाधिकारी र मन्त्रीसमेत भइसके पनि विचलित नभई पदभन्दा जिम्मेवारी पूरा गर्न कटिबद्ध श्रेष्ठ नेकपा (एमाले) नेतृत्वको निर्देशनबमोजिम सभामुखमा उम्मेदवारी दिन राजी हुनुभएको हो ।
प्रदेश नं ३ को अस्थायी मुकाम हेटौँडामा आज बसेको प्रदेशसभाको दोस्रो बैठकमा त्यागी र स्वच्छ छविका श्रेष्ठ निर्वाचित हुनुभएपछि प्रदेश सदस्यले बधाई दिनेक्रम चलिरहेको छ ।
एमाले वैकल्पिक पोलिटब्यूरो सदस्य श्रेष्ठले आफू मुख्यमन्त्रीकै आकांक्षी भए पनि पार्टी नेतृत्वले सभामुखमा उम्मेदवारी दिन निर्देशन दिएकाले त्यसलाई शिरोधार्य गरेको बताउनुभयो ।
श्रेष्ठ प्रदेशसभा सदस्यको निर्वाचनमा काठमाडौँ क्षेत्र २ प्रदेशसभा (क) बाट निर्वाचित हुनुभएको हो । सो प्रदेश क्षेत्रमा काठमाडौँ महानगरपालिका– ९ र ३२ पर्छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको सहमतिअनुसार सभामुखमा एमाले र उपसभामुखमा माओवादी केन्द्रले उम्मेदवारी दिएको हो ।
कूल ११० सदस्य रहेको यस प्रदेशसभामा एमालेसँग मात्रै बहुमत (५८ सदस्य) छ । श्रेष्ठ एमालेको हाल वैकल्पिक पोलिटब्यूरो सदस्य, उपत्यका इञ्चार्ज र प्रदेशको प्रचार विभाग प्रमुख हुनुहुन्छ । सभामुख भएपछि पार्टीको जिम्मेवारी के गर्ने भन्ने निर्णय भइसकेको छैन ।
विसं २०१६ मा कीर्तिपुरको मच्छेगाउँमा जन्मिनुभएका श्रेष्ठ हाल नरेफाँट (कोटेश्वर) मा बस्नुहुन्छ । उहाँले अर्थशास्त्रमा स्नातक तथा राजनीतिशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएको छ ।
विसं २०३४ मा भूमिगत नेकपा (माले) बाट श्रेष्ठ कम्युनिष्ट राजनीतिमा लाग्नुभएको हो । उहाँ निरन्तर सोही आन्दोलनमा हुनुहुन्छ । विद्यार्थीकाल र पिपलबोट अनशन (२०३७) मा गरी पटक–पटक जेलनेल भोग्नुभएका श्रेष्ठले पञ्चायतकालमा पद्मरत्न तुलाधरको विजय जुलुशमा पञ्चायत पक्षधरको निर्मम कुटाई र यातना खानुभएको थियो ।
काठमाडौँ जिल्ला विकास समितिका पूर्वसभापति श्रेष्ठ २०६४ को संविधानसभाको पहिलो निर्वाचनमा काठमाडौँ क्षेत्र नं १० मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रतिस्पर्धी हुनुभयो । त्यसबेला दुई पार्टीको अघोषित तालमेलका कारण प्रचण्डको विपक्षमा प्रचारमा नगई पराजय स्वीकार्नुभयो ।
आफ्नो क्षेत्रमा श्रेष्ठले एकीकृत वाग्मती सभ्यताको विकास, ग्रिन बेल्ट निर्माण, सुकुम्बासी व्यवस्थापन, अस्पताल विकास र शिक्षामा सुलभताजस्ता मुद्दा उठाउनुभएको थियो । यस्तै वाग्मतीमा झोलुङ्गे पुल विस्थापन गरी पुल निर्माण, करिडोर विकास, केवल बस सेवालाई पुनः उठाउनुभएको थियो । अब ती काम सभामुखका रुपमा पूरा गर्न पहल गर्ने उहाँले प्रण गर्नुभएको छ ।
अभिनेत्रीको काँधमा चलचित्र, बदलिँदै पुरानो सोच
संविधान संशोधनमा एनआरएनएले माग्यो विश्वभरका नेपालीको राय
अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश
‘मोफा मित्र’ मोबाइल एपमार्फत कन्सुलर सेवा लिन विदेशमा रहेका नेपालीलाई परराष्ट्रमन्त्रीको आग्रह
९ बुँदे ‘कोलोराडो घोषणापत्र’ जारी गर्दै सकियो नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र