बेलायतमा ग्लोबल आइएमई बैंकको सम्पर्क कार्यालय

लन्डन । ग्लोबल आइएमई बैंक लिमिटेडको बेलायतमा सम्पर्क कार्यालय खुलेको छ । नेपालीहरुको अत्यधिक बसोवास रहेको अल्डरसटस्थित युनियन स्ट्रिटमा स्थापना गरिएको उक्त कार्यालय आइतबार एक औपचारिक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवी नेपालले रिबन काटेर उद्घाटन गरे ।

उक्त कार्यालयबाट नेपालको जुनसुकै शाखामा खाता खोल्न र आफ्नो रेमिट्यान्स भुक्तानी सिधै आफ्नो बैंक खातामा गर्न सकिने बैंकले जनाएको छ । आफूलाई चाहिएको बेला ग्लोबल आइएमई बैंक लिमिटेडको देशभर रहेका शाखा वा एटिएममार्फत सजिलै रकम निकाल्न पनि सकिने छ ।

उद्घाटन समारोहलाई सम्वोधनका क्रममा रसमोर मेयर सोफिया चौधरीले आफ्नो बरोमा नेपाली व्यवसाय थपिएकामा खुशी र बधाई दिंदै नेपाली समुदायले बेलायतको अर्थतन्त्रमा समेत योगदान गरिरहेको उल्लेख गरिन् ।

समारोहमा उक्त बैंकका अध्यक्ष चन्द्र ढकाल, बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, स्थानीय काउन्सिलरहरु, गैरआवासीय नेपाली संघ आइसीसी उपाध्यक्ष कुल आचार्य, प्रमोटर शेयर होल्डरहरु कमल पौडयाल, उत्तम नेपाल, ग्रेटर रसमोर नेपलिज कम्युनिटी अध्यक्ष जीव बेल्वासे लगायत सहभागी थिए । अध्यक्ष ढकालले अतिथीहरुलाई पुष्प गुच्छाले स्वागत गरेका थिए ।

ग्लोबल आइएमई बैंकको यो सम्पर्क कार्यालय भएपनि भविष्यमा नेपाल सरकार र नेपाल राष्ट्र बैंकको सहयोग भए बैंक शाखा नै खोल्ने आफूहरुको लक्ष्य भएको अध्यक्ष ढकालले बताए ।

बैंकका सीइओ जनक शर्मा पौडयालले स्वागत मन्तव्य 
गर्दै ग्लोबल आइएमई बैंक सन् २००७ मा स्थापित नेपालको ‘क’ वर्गको वाणिज्य बैंक भएको जानकारी दिए । उनले यस बैंकको अष्ट्रेलियाको सिड्नी र भारतपछि यूके तेश्रो सम्पर्क कार्यालय भएको बताए ।

उद्घाटनपछि एम्पायर हलमा आयोजित समारोहमा प्रमुख अतिथी नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवी नेपालले ग्लोबल आइएमई बैंकको सम्पर्क कार्यालय स्थापनाले नेपालको 
बैंकिङ सेक्टरको उपस्थिति अन्तर्राष्ट्रिय स्तरमा समेत बढ्दै गएको सन्देश दिएको बताए ।

गभर्नर नेपालले नेपालमा मुद्रास्फिति कम हुंदै गएको र बजार अत्यधिक भएकाले लगानीका प्रशस्त अवसर भएको उल्लेख गर्दै आफ्नो देश आफैंले बनाउनुपर्ने भएकाले बेलायतवासी नेपालीलाई आफ्नो सीप, अनुभव र क्षमता स्वदेशमा खर्चन आव्हान गरे । ‘देश संघीयतामा गएको छ र यो ज्यादै खर्चिलो छ’, उनले भने, ‘चुनौतिबीच पनि हरेक क्षेत्रमा अवसर छ । उद्यमशीलता विकासका लागि नेपाल सरकार र राष्ट्र बैंक जस्तो सुकै सहयोग गर्न तयार छन् ।’

कार्यक्रममा विशेष अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपालमा स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि स्थायी सरकार बन्ने क्रममा रहेको जनाउंदै बेलायती लगानीकर्तालाई नेपालमा ढुक्कसंग लगानी गर्न आव्हान गरे । 
राजदूतले सरकारको अब एकमात्र राष्ट्रिय एजेन्डा आर्थिक विकास भएको अवगत गराए ।

अध्यक्ष ढकालले बैंकको नेपालभर ११३ शाखा रहेका र ३०० ठाउंबाट आर्थिक कारोबार गर्न सकिने जानकारी दिए । भविष्यमा बेलायतमा बैंकको शाखा नै खोल्ने आफ्नो लक्ष्य रहेको बताउंदै ढकालले नेपालमा सरकार र हरेक व्यक्तिको एजेन्डा आर्थिक समृद्धि भएकाले बेलायतका नेपाली व्यवसायीलाई समेत लगानी गर्न सुझाव दिए ।

कृष्ण गुरुङले सञ्चालन गरेको उक्त कार्यक्रममा एनआरएनए आइसीसी उपाध्यक्ष कुल आचार्य, एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी, ग्रेटर रसमोर नेपलिज कम्युनिटी अध्यक्ष जीव बेल्वासे, रसमोरका क्याबिनेट लिडर डेभिड क्लिफोर्ड, काउन्सिलरहरु अलेक्स क्राफोर्ड र बिल वीथर्स लगायतले बोलेका थिए ।

विप्रेषण आप्रवाह घट्दो

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा उतारचढाव आए पनि विप्रेषण आप्रवाह निरन्तर घटिरहेको तथ्यांकले देखाएको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पाँच महिनाको तथ्यांकमा आधारित भएर आज सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी विवरणमा विप्रेषण आप्रवाह ०.८ प्रतिशतले घटेको उल्लेख छ ।

सबैभन्दा नेपाली मलेसिया गएका तथा साउदी अरेबिया र कतार जाने श्रमिक पनि उल्लेख्य रुपमा घटेका केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो आवको पाँच महिनाको अवधिमा रु तीन अर्ब ४९ करोड बचतमा रहेको चालु खाता समीक्षा अवधिमा रु ४० अर्ब ९५ करोडले घाटामा रहेको छ ।

त्यसैगरी अघिल्लो वर्षको सोही अवधिमा रु २८ अर्ब ७८ करोडले बचतमा रहेको समग्र शोधानान्तर समीक्षा अवधिमा रु नौ अर्ब २७ करोडले घाटामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

तस्विरहरु- शंकर श्रेष्ठ

प्रतिक्रिया

सम्बन्धित सामाग्री