लन्डनमा पृथ्बी जयन्ती


लन्डन । लन्डनमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९६ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले लन्डनको सडबरी टाउनस्थित हिमालयन क्लबमा एक कार्यक्रमबीच ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’ मनाएको हो ।

दोश्रो जनआन्दोलनपछि नेपाल सरकारले पृथ्बी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सार्वजनिक विदा कटौती गरेर यसलाई उपेक्षा गरेपनि यसै वर्षदेखि फेरि सार्वजनिक विदासहित नेपालमा राष्ट्रिय महत्वका साथ दिवस मनाएको थियो । कार्यक्रममा सहभागीले नेपाल सरकारले राष्ट्र निर्माताको योगदान सम्झेर पुन जयन्ती मनाउन थालेकामा खुशी व्यक्त गरे ।

कार्यक्रममा प्रमुख अतिथी लन्डनस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख शरदराज आरणले पृथ्बी नारायण शाहले नेपाल निर्माण र राष्ट्रिय एकताका लागि गरेको योगदान स्वरुप सरकारले सार्वजनिक विदा दिएको स्मरण गर्दै शाहको ऐतिहासिक, राजनीतिक र सामाजिक आयामको चर्चा गरे ।

आरणले नेपाल संघीय गणतान्त्रिक मुलुक भइसकेपनि इतिहास, ऐतिहासिक मुल्य मान्यता संरक्षण गर्नुपर्छ भन्ने नेपालीको सुन्दर पक्ष भएको उल्लेख गरे । आरणले नयां नेपाल निर्माणमा शाहको जस्तै दिव्योपदेश र राष्ट्रिय एकता सन्देश अहिले पनि आवश्यक भएको चर्चा गर्दै सबै नेपालीलाई एउटै साझा फूलबारीमा रमाउन आग्रह गरे ।

विशेष अतिथी समाजसेवी डा. राघवप्रसाद धिताल (ओबिइ) ले सरकारले यस वर्षदेखि औपचारिक रुपमा पृथ्बी जयन्ती मनाउन शुरु गरेकामा खुशी व्यक्त गरे । डा. धितालले नेपाल राष्ट्रको स्वतन्त्रता, राष्ट्रिय एकता र भौगोलिक अखण्डता के हुने हो भन्ने चिन्ता बढेको बताउंदै नेपालका प्रमुख दल र नेताहरुलाई जातीय, पार्टीगत र निजी स्वार्थ त्याग्न आग्रह गरे ।

कार्यक्रममा गोर्खाली बुद्धिजिवी एवं लेखक विकलचन्द्र आचार्यले गोरखा जिल्लाको ऐतिहासिक पृष्ठभूमिको चर्चा गर्दै शाहवंशीय राजाहरु 
द्रव्य शाह देखि पृथ्वीनारायण शाहसम्मको व्यक्तित्व माथि प्रकाश पारे । उनले शाह वंशमा सबैभन्दा धेरै वर्ष राज्य गर्ने राजा पृथ्वीपति शाहको १२ भाई छोराहरुको समय देखि गोरखाको सैनिकले प्रसिद्धि कमाएको समेत विवेचना गरे ।

पृथ्वीनारायण शाहको नेतृत्व एवं त्यसबेला सबै गोर्खालीहरुको अदम्य साहस 
एवं सहयोगले नेपाल एकीकरण सफल भएको पनि आचार्यले बताए ।

कार्यक्रमका सभापति एवं आयोजक संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतका अध्यक्ष भरत रोका क्षेत्रीले आफ्नो संगठनले देशको विषम परिस्थितिमा पनि सन् २००७ देखि लन्डनमा वर्षेनी पृथ्वी जयन्ती मनाउंदै आएको स्मरण गर्दै सरकारले यस वर्षदेखि सार्वजनिक विदा दिइ राष्ट्रिय महत्व दिएकामा आभार व्यक्त गरे । क्षेत्रीले आगामी वर्ष देखि लन्डनस्थित नेपाली दूतावासलाई कार्यक्रम गर्न माग गरे ।

कार्यक्रममा गैर आवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुल आचार्य, वरिष्ठ सञ्चारकर्मी खगेन्द्र नेपाली, गायक योगेश्वर अमात्य, एनआरएनए यूके उपाध्यक्ष ललित न्यौपाने, प्रवासी नेपाली मञ्च बेलायतको नर्थ वेष्ट लन्डन अध्यक्ष अर्जुन चापागाईं, साहित्यकार सुरेशजंग शाह, हरिसिंह थापा, पत्रकार फडिन्द्र भट्टराई, पूर्व डिएसपीहरु बाचस्पति रेग्मी र शिवजी श्रेष्ठ, कृष्णजंग शाह लगायतले मन्तव्य व्यक्त गर्दै नेपाल एकीकरणका सूत्रधार पृथ्बी नारायण शाहको योगदानलाई केही दलका नेताले बिर्सेपनि राष्ट्र निर्माता सबै नेपालीको मन मस्तिष्कमा रहेको बताए । उनीहरुले शाहले विभिन्न भूभाग एकीकरण गरि आधुनिक नेपाल निर्माण गरेको इतिहास समेत स्मरण गरेका थिए ।

चेतमान केसीले सञ्चालन गरेको उक्त कार्यक्रममा हेमन्त पौडेलले स्वागत मन्तव्यसहित पृथ्बी नारायणको व्यक्तित्वबारे चर्चा गरेका थिए । कार्यक्रममा मन्तव्य शुरु हुनुअघि शाहको तस्विरमा सबै अतिथीहरुले माल्यार्पण गरेका थिए भने मदन थापाले 
मंगलधुन बजाएका थिए । पत्रकार फडिन्द्र भट्टराईले कविता वाचन गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री