इपिएल दोस्रो संस्करणको उपाधि विराटनगर वारियर्सले चुम्यो

एभरेष्ट प्रिमियर लिग क्रिकेट ईपीएलको विजेता टिम विराटनगर वारियर्सका कप्तान पारस खडका ट्रफिको साथमा । तस्बिर – प्रदीपराज वन्त,रासस

काठमाडौँ, १५ पुस – यही पुस ३ गतेदेखि शुरु भएको सबैभन्दा धेरै पुरस्कार राशिको घरेलु क्रिकेट प्रतियोगिता ‘एभरेष्ट प्रिमियर लिग’ (इपिएल)को दोस्रो संस्करणको उपाधि विराटनगर वारियर्सले हात पारेको छ ।

प्रतियोगितामा सहभागी काठमाडौं किंग्स इलेभेन, ललितपुर प्याट्रियोट्स, चितवन टाइगर्स, पोखरा राइनोज र भैरहवा ग्लाडिएटर्सलाई पछि पार्दै विराटनगर वारियर्सले उपाधि चुमेको हो । जितसँगै विराटनगरले रु २१ लाख प्राप्त गरेको छ ।

शनिबार दर्शकले खचाखच भरिएको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा राष्ट्रिय टोलीका मुख्य खेलाडी शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा ग्लाडिएटर्समाथि एक रनको रोमाञ्चक जित हात पार्दै राष्ट्रिय टोलीका कप्तानसमेत रहेको पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्सले विराटनगरले उपाधि जितेको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४९ रन बनाएको थियो । एकसय ५० रनको विजय लक्ष्यका साथ भेषवाकरको कप्तानीमा मैदान उत्रिएको भैरहवा ग्लाडियटर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४८ रन मात्र बनाउन सक्यो ।

क्रिकेट खेलको ‘एकै ओभरले हार जित दिलाउँछ’ भन्ने उक्ति आज त्रिवि खेल मैदानमा प्रमाणित भएको छ । ८ औँ ओभरसम्म आफ्नो नियन्त्रण राखेर खेलको अन्तिम २ ओभरमा टिक्न नसक्दा भैरहवा जितबाट विमुख भयो । अन्तिम २ ओभरमा मात्र भैरहवाले ५ विकेट गुमाएको थियो ।

एकसय ५० रनको लक्ष्य पछ्याएको भैरहवाले शुरुवातमा निकै राम्रो गरेको थियो । आठौँ ओभरमा अंशुमान रथले ३६ रन दिएपछि खेल भैरहवाको पक्षमा गएको मानिएको थियो । तर १५औँ ओभरको पहिलो बलमै भैरहवाका कप्तान शरद रन आउट हुन पुगे । त्यसपछि विराटनगर खेलमा फर्कियो । यद्यपि अन्तिम २ ओभर मात्र ११ रन चाहिएको थियो र भैरहवाको जितको सम्भावना कायमै थियो । तर, कप्तान पारस खड्काले १९औँ ओभरको २ रन दिएर २ विकेट लिएपछि भैरहवालाई अन्तिम ओभरमा ९ रन चाहियो ।

अन्तिम ओभरमा अनिल साहको पहिलो बलमै कृष्ण कार्कीले चौका हान्दै जितको आशा कायम राखे पनि दोस्रो बलमा उनी आउट भए । निकै रोमाञ्चक बनेको अन्तिम ओभरको तेस्रो बलमा रन नै थिएनन् । चौथो बलमा भुवन कार्की रन आउट भए भने ५ औँ बलमा पुनित मिश्रको विकेट गुम्यो ।

एभरेष्ट प्रिमियर लिग क्रिकेट ईपीएलको विजेता भएका विराटनगर वारियर्सका टोली विजय पछि ट्रफिको साथमा तस्बिर खिचाउँदै । तस्बिर – प्रदीपराज वन्त, रासस

अन्तिम बलमा भैरहवालाई जितका लागि ५ रन चाहियो तर ३ रन मात्र जोड्न सक्यो र १ रनको नाटकीय जित निकाल्दै विराटनगर च्याम्पियन बन्यो । यसअघि विराटनगरका लागि अंशुमन रथले ४१, कप्तान खड्काले २७, हरिशंकर शाहले २२ तथा प्रनित थापा मगरले १४ तथा करण केसीले ९ रन बनाएका थिए ।

शुरुवातमा राम्रो प्रदर्शन गरे पनि पछिल्ला क्रमका ब्याट्सम्यानहरू सस्तैमा आउट भएपछि विराटनगरले मध्यम योगफल तयार पारेको हो । भैरहवाका लागि पुनित मिश्र र कृष्ण कार्कीले २-२ तथा शरद भेषवाकर र आरिफ शेखले १-१ विकेट लिए ।

यो प्रतियोगितामा पारस खड्काको टिम विराटनगरसँग शरद भेषावकरको भैरहवाको तेस्रो हार हो । भैरहवा समूह चरण र पहिलो क्वालिफायरमा पनि हारेको थियो ।

अघिल्लो वर्ष भएको उक्त प्रतियोगिताको पहिलो संस्करण भने भेषवाकरकै कप्तानीमा रहेको पञ्चकन्या तेजले जितेको थियो । विजेता टोलीले गत वर्ष रु पाँच लाख पुरस्कार प्राप्त गरेको थियो । पुरस्कारको राशि यस वर्षदेखि बढाएर रु २१ लाख पुरयाइएको हो । यो राशि नेपाली क्रिकेटको इतिहासमा सर्वाधिक हो । यसअघि राष्ट्रिय खेलकुद परिषद्ले गत जेठमा आयोजना गरेको प्रधानमन्त्री कपको विजेताले रु २० लाख पुरस्कार पाएको थियो ।

फाइनल खेल हेर्न शनिबार बिहानैदेखि कीर्तिपुर मैदान दर्शकहरूको भीड लागेको थियो । खेल हेर्न साधारण दर्शकको लागि १०० र विद्यार्थीलाई रु ५० शुल्क तोकिएको थियो ।

प्रतियोगितामा काठमाडौँ, ललितपुर, भैरहवा, विराटनगर, वीरगञ्ज र पोखरा गरी ६ टोलीले सहभागिता जनाएको आयोजक जोहोरा स्पोर्टस म्यानेजमेन्टका अध्यक्ष आमिर अख्तरले जानकारी दिनुभयो ।

राष्ट्रिय टिमका कप्तान खड्का तथा राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटाले इपिएल नेपालको ठूलो क्रिकेट प्रतियोगिता भएको बताउँदै यस किसिमको प्रतियोगिताले नयाँ खेलाडीको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतियोगितामा प्रत्येक टिमले तीनजना विदेशी खेलाडीहरू समावेश गर्नुपर्ने नियम रहेको थियो । त्यसमध्ये पाँचवटाले विदेशी खेलाडीसमेत अनुबन्ध गरेका थिए । प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका र हङकङ खेलाडीले पनि विभिन्न टोलीबाट सहभागिता जनाएका थिए । इपिएलमा सहभागीमध्ये पाँच टिमले विदेशी खेलाडीलाई पनि अनुबन्ध गरेका थिए ।

सबै खेलाडी लयमा भएकाले उपाधि जित्यौं– खड्का 
अन्तिम २ ओभर सम्हालिन नसक्दा उपाधि गुमायौँ–भेषवाकर 

प्रतियोगितामा विराटनगरले अपराजित यात्रालाई उपाधि नउचालेसम्म निरन्तरता दिन सक्यो भने भैरहवा लिग चरणका पाँचमध्ये चारवटा खेल जित्दै क्वालिफायरमा छनोट भएको थियो ।

जितपछि प्रक्रिया दिँदै विराटनगरका कप्तान खड्काले भन्नुभयो, “हामीले प्रतियोगिताको पहिलो खेलबाट समातेको लयले लिग चरणका पाँच र क्वालिफायर र फाइनलमा कायम राख्यौँ र उपाधि जित्न सफल भयौँ ।”

एक रनको झिनो अन्तरले पराजित भैरहवाका कप्तान भेषवाकरले आजको खेल हार्नुमा ब्याट्सम्यनको कमजोरी रहेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “अन्तिम १२ बलमा हामीले सम्हालिएर खेलेको भए जित सुनिश्चित थियो । हामीसँग धेरै विकेट थिए तर हामी सम्हालिन सकेनौँ ।”

प्रतियोगितामा सर्वाधिक रन प्रहार गर्ने सूचीको शीर्ष दुईमा विराटनगरका बाबर ३१२ र अंशुमन २६० भए । त्यस्तै बलिङतर्फ १२ विकेट लिएका वसन्त रेग्मी सर्वाधिक विकेट लिनेको सूचीमा परे ।

पहिलो खेलमा काठमाडौँलाई ७ विकेटले पराजित गरेको भैरहवाले दोस्रो खेलमा ललितपुरलाई ४ विकेटले हराएको थियो । तेस्रो खेलमा विराटनगरलाई ३५ रनको नतिजा सुम्पिएको भैरहवाले चौँथो खेलमा पोखरालाई ७ विकेट र अन्तिम खेलमा चितवनलाई ४ विकेटले पराजित गरेको थियो ।

पहिलो प्लेअफमा विराटनगरलाई नतिजा सुम्पिए पनि भैरहवाले बिहीबार सम्पन्न दोस्रो क्वालिफायरको अन्तिम ओभरमा ललितपुरमाथि ३ विकेटको रोमाञ्चक जित हात पार्दै उपाधि भिडन्तमा पुगेको थियो ।

कुन टोली कसको नेतृत्वमा मैदान ? 

काठमाडौँ किङ्स इलेभेनले श्रीलंकाली खेलाडीलाई प्राथमिकता दिएको थियो । उसले कप्तानको जिम्मेवारी नै श्रीलंकाका फरवेज महरूफलाई दिएको छ । उनी श्रीलंकाको राष्ट्रिय टिमबाट एकदिवसीय र टेष्ट क्रिकेट समेत खेलिसकेका खेलाडी हुन् । यो टीममा श्रीलंकाका अक्षय फर्नाण्डो पनि अनुबन्ध रहेका छन् ।

ललितपुर प्याट्रियोट्सले भारतीय खेलाडीलाई मौका दिएको छ । ललितपुरबाट भारतका योगेश नायर, सुबोध भाटी र जयकिसन कोल्सावालाले खेल्नेछन् ।

विराटनगरले हङकङका खेलाडीलाई क्लबमा अनुबन्ध गरेको थियो । हङकङका कप्तान बाबर हायथ र अंशुमन रथले विराटनगर वारियर्सबाट खेलेका छन् ।

चितवनले भारतका सावेज खान र प्रवीण गुप्तालाई अनुबन्ध गरेको छ । त्यस्तै पोखराले पाकिस्तानका आशिफ अलि, ताज वाली र असरुल्लाहलाई अनुबन्ध गरेको छ ।

प्रतियोगितामा काठमाडौँबाट फरबेज मेहरूफ (कप्तान), सोमपाल कामी, सागर पुन, नरेश बुढाऐर, जितेन्द्र मुखिया, राजु रिजाल, अमित श्रेष्ठ, सुशील कँडेल, सिद्धान्त लोहनी, विक्रम भुसाल, अमरसिंह रौटेला र अक्षय फर्नाण्डेजले सहभागिता जनाएका थिए ।

त्यस्तै ललितपुरबाट ज्ञानेन्द्र मल्लको कप्तानीमा मेहबुब आलम, सन्दिप लामिछाने, ललित राजवंशी, कुशल भुर्तेल, शंकर रानापवन, शर्राफ राजवीर सिंह, सोनु तामाङ, प्रतिश जिसीले सहभागिता जनाएका थिए ।

यस्तै, भैरहवाबाट भेषावकरको कप्तानीमा प्रदीप ऐरी, अबिनाश बोहोरा, भुवन कार्की, कृष्ण कार्की, प्रकाश केसी, रोहित पौडेल, हरिशंकर साह, आरिफ शेख, दिपेश श्रेष्ठ र भुपेन्द्र थापाले खेलेका थिए ।

चितवनबाट पृथु बास्कोटाको कप्तानीमा दिपेन्द्र सिंह ऐरी, कमल सिंह ऐरी, शाहव आलम, ललित भण्डारी, सुनम गौतम, योगेन्द्र, कार्की, गौतम केसी, अनिल मण्डल, दिलीप नाथ, भीम सार्की, सन्दिप सुनार, आकाश थापा, प्रविन गुप्ता, सावेज खान र प्रमेश कुमारले खेलेका थिए ।

यसैगरी, पोखराबाट शक्ति गौचनको कप्तानीमा विनोद भण्डारी, सुसन भारी, सन्तोष भट्ट, सुनिल धमला, सौरभ खनाल, विपिन खत्री, राजेश पुलामी, किशोर महतो, नुरुध्वज सेन, विक्रम सोबले सहभागिता जनाएका थिए ।

विजेता विराटनगरबाट राष्ट्रिय टोलीको कप्तानसमेत रहेका खड्काको कप्तानीमा आकाश विष्ट, रामनरेश गिरी, अविनाश कर्ण, करण केसी, प्रनित थापा मगर, सुमित महर्जन, वसन्त रेग्मी, अनिल साह, आशिफ शेख, पुष्प थापा, बाबर हायत र अंशुमन रथ सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री