भक्तपुर, ६ पुस – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई निर्वाचनमा सफलता प्राप्त गरेकामा आज बधाई दिँदै भारत भ्रमणको निम्तो दिनुभएको छ ।
अपराह्न अध्यक्ष ओलीलाई मोदीले टेलिफोन गरी हालै सम्पन्न निर्वाचनमा वाम गठबन्धनले ठूलो सफलता प्राप्त गरेकामा खुशी व्यक्त गर्दै बधाई दिनुभएको हो । भारतीय प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्री ओलीसमक्ष नेपालमा तीन वटै निर्वाचन सम्पन्न भएकामा खुशी व्यक्त गर्नुभएको एमाले केन्द्रीय सचिवालय सचिव प्रदीपकुमार ज्ञवालीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अध्यक्ष ओलीलाई बधाई तथा शुभकामना दिँदै मोदीले यस सफलताले नेपालमा लोकतन्त्रलाई सुदृढ बनाएको तथा निर्वाचनमा हासिल परिणाम र गठबन्धनको जीतले नेपालमा राजनीतिक स्थायित्व कायम भई आर्थिक विकास हुने विश्वास व्यक्त गर्नुभएको जनाइएको छ ।
भारतीय प्रधानमन्त्रीले सरकार गठनलगत्तै भारत भ्रमणका लागि अध्यक्ष ओलीलाई निमन्त्रणा गर्दै आफू उहाँलाई स्वागत गर्न आतुर रहेको र नयाँ सरकारसँग सहकार्य गर्न प्रतीक्षारत रहेको बताउनुभएको थियो ।
अध्यक्ष ओलीले भारतीय प्रधानमन्त्रीलाई आफूलाई प्राप्त बधाई तथा शुभकामनाका लागि धन्यवाद दिँदै आफ्नो ध्यान राजनीतिक स्थायित्व, लोकतन्त्रको सुदृढीकरण, सुशासन र आर्थिक विकासमा केन्द्रित रहेको बताउनुभयो । ‘यसका लागि छिमेकीसँग सुसम्बन्ध कायम गरिनेछ’, नेता ओलीले भन्नुभयो ।
प्रतिनिधिसभामा नवनिर्वाचित सांसद ओलीले खासगरी भारत र चीनसँग शान्ति र समृद्धिका लागि सहकार्य गरिने बताउँदै भारतीय प्रधानमन्त्री मोदीलाई पनि नेपाल भ्रमणका लागि निमन्त्रणा गर्नुभयो । सरकार गठनलगत्तै नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणापत्र पठाइने ओलीले बताउनुभयो । अध्यक्ष ओलीले गुजरातलगायत प्रान्तमा हालै सम्पन्न निर्वाचनमा प्राप्त सफलताका लागि भारतीय जनता पार्टीका नेता मोदीलाई पनि बधाई दिनुभएको थियो ।
निर्वाचन सम्पन्न गरेकामा प्रम देउवालाई मोदीको बधाई
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गरेकामा प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री मोदीले आज बधाई दिनुभएको छ ।
भारतीय प्रधानमन्त्रीले आज प्रधानमन्त्री देउवालाई टेलिफोन गरी ऐतिहासिक निर्वाचन शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गरेकामा बधाई दिनुभएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो । निर्वाचनपछि छिमेकीको नाताले भारतले नेपालमा राजनीतिक स्थिरता र विकास चाहेको प्रधानमन्त्री मोदीको भनाइ थियो ।
दाहाललाई मोदीको बधाई
भारतीय प्रधानमन्त्री मोदीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आज टेलिफोन गरी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम गठबन्धनले सफलता हासिल गरेकामा बधाई दिनुभएको छ ।
अध्यक्ष दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सिनाका अनुसार भारतीय प्रधानमन्त्रीले आज अपराह्न ४.३० बजे टेलिफोन गरी निर्वाचनमा विजय हासिल गरेकामा बधाई दिनुभएको हो ।
सो क्रममा अध्यक्ष दाहालले आफूलाई बधाई दिएकामा भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद दिनुभएको थियो । टेलिफोन वार्तामा नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा समेत कुराकानी भएको जनाइएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त