दुई हजार ५७ स्थानका मतपेटिका जिल्ला सदरमुकाम ल्याइयो

उत्तरी गोरखाको चुमनुब्री र धार्चे गाउँपालिका अन्तर्गत विभिन्न २८ वटा मतदान केन्द्रको मत पेटिका हेलिकोप्टरबाट सोमबार गोरखा सदरमुकाम ल्याइँदै । गोरखाको २८२ वटा मतदान केन्द्रमा आइतबार शान्तपूर्ण तवरले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएको छ । तस्बिर – प्रशन्न पोखरेल, गोरखा, रासस

काठमाडौँ, ११ मंसिर (रासस) – निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि पहिलो चरणमा आइतबार मंसिर १० गते मतदान सम्पन्न भएका ३२ जिल्लाका दुई हजार ९१७ मतदानस्थलमध्ये दुई हजार ५७ मतदानस्थलका मतपेटिका सम्बन्धित जिल्लाका सदरमुकाममा संकलन भइसकेको जनाएको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारीअनुसार सदरमुकाममा ल्याउन बाँकी रहेकामध्ये १२९ मतदानस्थलका मतपेटिका हेलिकप्टरबाट जिल्ला सदरमुकाममा ल्याउने तयारी भइरहेको छ ।

यसैगरी, अन्य ७४१ मतदानस्थलका मतपेटिका पैदल मार्गबाट जिल्ला सदरमुकाममा ल्याउने क्रम जारी रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मंसिर १० गते सम्पन्न मतदानमा ६५ प्रतिशत मतदान भएको थियो ।

उत्तरी गोरखाको मतपेटिका हेलिकप्टरबाट सदरमुकाम ल्याइयो

गोरखा, ११ मंसिर – उत्तरी गोरखाको चुमनुब्री र धार्चे गाउँपालिकाअन्तर्गत २८ वटा मतदान केन्द्रमा आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा खसालिएको मतसहितको मतपेटिका हेलिकप्टरमार्फत आज गोरखाको सदरमुकाम ल्याइएको छ ।

नेपाली सेनाको एमआई १७ हेलिकप्टरबाट मतपेटिका र निर्वाचन अधिकृतसहित कर्मचारी सदरमुकाम ल्याइएको हो । मतपेटिका लिन लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका गोरखा सभापति हरिबहादुर घले, वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का नेता चूडामणि खड्का, सहायक प्रमुख जिल्ला अधिकारी केशवराज शर्मालगायतको टोली उत्तरी गोरखा पुग्नुभएको थियो ।

यसअघि निर्वाचन गराउन मतदानका लागि आवश्यक सामग्री र मतदान अधिकृतलाई हेलिकप्टरबाट उत्तरी गोरखा पठाइएको थियो । गोरखामा आइतबार सम्पन्न मतदानमा ६२ प्रतिशत मत खसेको अनुमान गरिएको छ । स्थानीय तह निर्वाचनमा यहाँ ७२ प्रतिशत मत खसेको थियो ।

चुमनुब्रीका विभिन्न २० वटा र धार्चे गाउँपालिकाका आठवटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ढुवानी गरी सदरमुकाम ल्याइएको जिल्ला निर्वाचन अधिकारी नारायण सापकोटाले जानकारी दिनुभयो । सडकमार्ग र हवाईमार्गबाट ल्याइएका मतपेटिका सुरक्षित तवरले भण्डारण गरिएको छ । मंसिर २१ गतेदेखि मतगणना शुरु हुने जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार स्थानीय तह निर्वाचनमा भन्दा कम मत खस्नुको कारणमध्ये राजधानीलगायत अन्य क्षेत्रमा रोजगारीमा रहेकाहरुले बिदा नपाउनु र वर्णानुक्रमअनुसार मतदातालाई साविकको भन्दा फरक केन्द्रमा पुगेर मतदान गर्नुपर्नेजस्ता झन्झटले कम मत खसेको हो ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री