काठमाडौँ, १ मंसिर (रासस) – आसन्न मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा १८८ किसिमका निर्वाचन चिह्न प्रयोग गरिएका छन् ।
प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि १३८ तथा प्रदेशसभाको निर्वाचनका लागि ५० वटा निर्वाचन चिह्न प्रयोग गरिएको निर्वाचन आयोगका कानून शाखाका शाखा अधिकृत धमचन्द्र तिमिल्सेनाले जानकारी दिनुभयो ।
निर्वाचनमा प्रतिनिधिसभाका लागि राजनीतिक दलतर्फ ९० र स्वतन्त्र उम्मेदवारलाई ४८ तथा प्रदेशसभाका लागि स्वतन्त्रतर्फका उम्मेदवारका लागि ५० चुनाव चिह्न प्रयोग गरिएको छ । आयोगमा दर्ता भएका ९० राजनीतिक दललाई प्रतिनिधि र प्रदेशसभाका लागि एउटै निर्वाचन चिह्न दिइएको छ भने स्वतन्त्रतर्फबाट प्रतिनिधि र प्रदेशसभाका लागि उम्मेदवार बनेकाका लागि आयोगले विभिन्न निर्वाचन चिह्न प्रदान गरेको छ ।
विभिन्न चार मतपत्रमा ती चुनाव चिह्न उम्मेदवारलाई प्रदान गरिएको छ । आयोगले चुनाव चिह्नलाई प्रदेशअनुसार उम्मेदवारलाई दिई मतपत्र तयार पारेको छ । निर्वाचनमा प्रयोग हुने चुनाव चिह्न औजारदेखि तरकारीसम्म राखिएको छ ।
प्रतिनिधिसभाका लागि राजनीतिक दललाई गोरुगाडाको चक्का, चुच्चोले चिठी बोकेर उड्न लागेको परेवा, हातमा धानको बाला, कुखुराको भाले, थपडी बजाएको जोडा हात, पृथ्वीलगायत चुनाव चिह्न रहेका छन् । आमूल परिवर्तन मसिहा पार्टी नेपाललाई प्रेमलाई चिनाउन (हृदय) चुनाव चिह्न दिइएको छ । निर्वाचनमा जनावर, फलफूल, चरा, मेसिनलाई पनि चुनाव चिह्न राखिएको छ ।
चरामा सुगा, डाँफे, परेवा, चल्ला लाटोकोसेरो चुनाव चिह्न छन् भने जनावरमा हात्ती, भेडा, माछा, घोडा, कछुवा, बाघ, बाख्रोलगायत रहेका छन् भने फलफूल तथा तरकारीमा केरा, अनार काउली, मकै, भुइँकटहरलगायत छन् ।
यसैगरी राजनीतिक दलबाट प्रतिनिधिसभाको प्रत्यक्ष तथा समानुपातिकका लागि पीपलको पात सुकुन्दा, तारापुञ्ज, दुई थुङ्गा सयपत्रीको फूल, बच्चा काखमा लिएकी आमा, दौडिरहेको युवक, खड्ग, गाग्री बोकेकी महिला, चियादानी, तारापुञ्जलगायतका चुनाव चिह्न प्रयोग गरिएको छ ।
राजनीतिक दलबाट उम्मेदवार दिएका प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एउटै चुनाव चिह्न रहेका छन् भने स्वतन्त्रतर्फबाट उम्मेदवार दिएकाका लागि भने फरक चुनाव चिह्न आयोगले प्रदान गरेको छ । स्वतन्त्रतर्फका लागि चियाको पात, माहुरी, जोडा नरिवल, कुचो, गुलाफको फूल, जोडी चप्पल, डाडुपन्यू, फिरफिरे, हार्मोनियमजस्ता ४८ वटा चुनाव चिह्न प्रदान गरिएको छ ।
यसैगरी प्रदेशतर्फका स्वतन्त्र उम्मेदवारलाई कपाल कोर्ने ब्रस, पेन्सिल कटर र सिसाकलम, पेन्टिङ बुरुस, मोबाइल फोन, मयूरको प्वाँख, बोक्रा छोडाएको केरा, जाँतो, जिपर, काउली, लुगा झुण्डाउने ह्याङ्गर, चुलेसी प्रयोग गरिएको छ ।
उस्तै उस्तै चुनाव चिह्न
यस्तैगरी एउटा आँखा र दुई वटा आँखालाई पनि चुनाव चिह्न दिइएको छ । नयाँ शक्ति नेपाललाई एउटा देब्रे आँखा भएको र नेपाल लोकतान्त्रिक जनता काँग्रेसलाई दुई वटा आँखा चुनाव चिह्न दिइएको छ । नेकपा (माले) र जनसमाजवादी पार्टीलाई हँसिया तारा र नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)लाई हँसिया उस्तै उस्तै चुनाव चिह्न प्रदान गरिएको छ । प्रतिनिधिसभाका लागि स्वतन्त्रतर्फका उम्मेदवारलाई भँगेरा र लाटोकोसेरो तथा नेपाली काँग्रेस (बिपी)को करुवा र अखण्ड सुदूरपश्चिम पार्टी नेपालको चियादानी पनि उस्तै प्रकारका चुनाव चिन्ह रहेका छन ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने