बेलायतबाट न्यानो माया बटुलेर फर्किए नेपाल आइडल


लन्डन । बेलायतका ५ शहरमा कन्सर्ट गरेर ‘नेपाल आइडल’ बिजेताहरु सोमबार दिउसो नेपाल फर्किएका छन् । १५ तारिख फर्कने पूर्व निर्धारित कार्यक्रम भएपनि उनीहरु एउटा विज्ञापनमा अभिनय गर्नुपर्ने जरुरी भएपछि आजै नेपाल फर्किएका हुन् ।

नेपाल आइडल बुद्ध लामा, फस्ट रनर अप निशान भट्टराई, सेकेन्ड रनरअप प्रताप दास र ‘होस्ट’ सुशील नेपाल आज फर्किए भने टप ७ प्रमिला राई र मेन्टर गायक बिबेक श्रेष्ठ बुधबार फर्कने कार्यक्रम छ ।

‘नेपाल आइडल लाइभ इन यूके’ कार्यक्रम अल्डरसट, फोकस्टन केन्ट, लन्डन हयारो, रेडिङ र प्लमस्टिडमा भएको थियो । ति कार्यक्रमहरुमा कम्तीमा तीन हजार दर्शक प्रत्यक्ष सहभागी भएको एकजना आयोजक राजाराम गिरीले बताए । ‘समग्रमा कार्यक्रम सोचे भन्दा बढि सफल भयो’, गिरीले भने, ‘झण्डै ५५ हजार बजेटको कार्यक्रम महिना दिनको बीचमा सफल बनाउन ठूलो चुनौति थियो । तर, बेलायतस्थित प्रमुख नेपाली संघसंस्था र मिडियाको साथ पाएर हामी सफल भयौं ।’ गिरीले स्तरिय कार्यक्रम दिन सके दर्शक अभाव नहुने कुरा नेपाल आइडल शोले प्रमाणित गरेको बताउंदै सबै सहयोगीप्रति आभार व्यक्त गरेका छन् ।

‘हामीले व्यवसायिक भन्दा पनि स्तरिय र पृथक कार्यक्रम दिने उद्देश्य पुरा गरयौं, नेपाल आइडल ब्राण्डलाई बेलायतवासी नेपालीले फेरि स्थापित गरिदिए’, अर्का आयोजक ज्ञाम गुरुङले बताए ।

संसारा ग्रुप अन्तर्गत मनकामना मनी ट्रान्सफर, पोखरा ट्राभल तथा मुनटाज इन्टरनेशनलको संयुक्त आयोजनामा कन्सर्ट भएको थियो । उमेशराज मोक्तान, सपनकुमार राई र दीपक थापाले कार्यक्रमको सह आयोजना गरेका थिए ।

आयोजकले नेपाल आइडल विजेताहरु न्यानो माया र अनेकौं उपहार बोकेर खुशी हुंदै फर्किएको बताएका छन् । कन्सर्टका अवसरमा आफन्तजन र शुभचिन्तकहरुले नेपाल आइडड उत्कृष्टहरुलाई आइफोन, आइप्याड, सुनको औंठी जस्ता उपहार दिएका थिए भने केही संस्थाले बेग्लै कार्यक्रम गरेर नगद समेत प्रदान गरे ।

‘बेलायतको मल्टिपल भिजा पाउनु उनीहरुको करिअरमा पनि महत्वपूर्ण थियो’, गिरीले भने, ‘अब ति नवप्रतिभाहरुलाई अरु देश जान झन् सहज हुने छ ।’

‘नेपाल आइडल लाइभ कार्यक्रम’ मा रेडिङ शो बाहेक अन्यत्र धागो ब्याण्डले लाइभ संगीत दिएको थियो भने साउण्ड सिस्टम हेम बिष्ट र स्क्रिन प्रोजेक्सन कुशल श्रेष्ठले जिम्मा लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री