उपत्यकाबाट ३५ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाको मध्यभागमा बग्ने विष्णुमती नदीलाई व्यवस्थित बनाउन डोजरले सफा गरिँदै । तस्बिर – पूर्णप्रसाद मिश्र, रासस

काठमाडौँ, २५ कात्तिक (रासस) – उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३५ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

वाग्मती सफाइ महाअभियानको २३५ औँ हप्तामा आज पशुपतिनाथ मन्दिर अघिको वाग्मती नदी किनार र कैलाश डाँडामा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तिलगंगा महिला समूहलगायत संस्थाका ६०० भन्दा बढीको सहभागिता रहेको वाग्मती सफाइ महाअभियानका अभियानकर्मी एवं अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिकी सञ्चालक समिति सदस्य माला खरेलले जानकारी दिनुभयो ।

सफाइमा वाग्मती सफाइ सद्भावना दूत एवं नायिका मनिषा कोइराला, अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकाललगायत ५१० भन्दा बढी अभियन्ताको सक्रियता थियो ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइको १९५ औँ हप्तामा आज हनुमान घाट र गोठाटार पुल वरपर सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा राम्रो जोरपाटी, हाम्रो जोरपाटी र पुडासैनी मैत्री समाजलगायत संस्थाका गरी १०० जनाभन्दा बढी अभियानकर्मीको सहभागिता थियो ।

रुद्रमती सफाइको १९२ औँ हप्तामा आज रातोपुल–कालोपुल शहीदमार्ग हुँदै ज्ञानेश्वरको आनन्द भैरव मन्दिरसम्म सफाइ गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले बताउनुभयो । सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन भयो । सफाइमा समाज, वातावरण संरक्षण अभियान र प्रसिद्धि कला समूहलगायतको संस्थागत सहभागिता थियो ।

महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्कीलगायत २०० भन्दा बढी अभियानकर्मीको सफाइ अभियानमा सक्रियता थियो । रुद्रमती सफाइ अभियानले आइतबार बिहान कालोपुलको सार्वजनिक जग्गा मिचेर बनाइएका छाप्रा भत्काउने कार्यक्रम रहेको पनि उपाध्यक्ष गिरीले बताउनुभयो ।

विष्णुमती सफाइको १६३ औँ हप्तामा टोखा नगरपालिका–११ महादेवटार हाइटमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा २५० जनाभन्दा बढी अभियन्ताको सहभागिता रहेको अभियानकर्मी बिजेन्द्र लामाले जानकारी दिनुभयो ।

मनोहरा नदी सफाइको ३३ औँ हप्तामा आज हनुमन्ते र मनोहरा दोभानस्थित नरेफाँट क्षेत्र वरपर सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा महानगरपालिका–३२ का अध्यक्ष नवराज पराजुलीलगायत १०० भन्दा बढी अभियानकर्मी सहभागिता थियो ।

चक्रपथ सफाइको ३१ औँ हप्तामा नयाँ बसपार्कको आकाशेपुलदेखि गोंगबु चोकसम्म सफाइ गरी १५ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । ग्रिनहिल सिटी अस्पतालको संयोजनमा भएको सफाइमा ३०० भन्दा बढी अभियन्ताको सहभागिता थियो । सफाइमा सशस्त्र र नेपाल प्रहरी लगायत स्थानीय संस्थाको सहभागिता रहेको अभियन्ता लोकबहादुर टण्डनले जानकारी दिनुभयो । चक्रपथको ग्रीनल्याण्ड क्षेत्रमा पनि आजैदेखि सफाइ शुरु भएको छ ।

यसैगरी मीनभवन आलोकनगर सफाइको ३१ औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी प्रमिला पौडेलले बताउनुभयो । सफाइमा ५० भन्दा बढी महिलाको सहभागिता थियो ।

यसैगरी चक्रपथ बाफल खण्ड सफाइको १३ औँ हप्तामा कलंकी–स्युचाटारसम्म सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत स्थानीय संघ संस्थाको पनि संस्थागत सहभागिता रहेको संयोजक ताराबहादुर कुँवरले जानकारी दिनुभयो ।

विसं २०७० जेठ ५ गते शनिबारदेखि वाग्मती सफाइ महाअभियान शुरु भएपछि देशभर सफाइ गर्ने जागरण आएको छ । फलस्वरुप अहिलेसम्म ४२ स्थानमा सफाइ भइरहेको वाग्मती सफाइ महाअभियानले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री