प्रियंका ‘हयाप्पी डेज’ को रेड कार्पेट प्रिमियरका लागि लन्डन आउंदै

लन्डन । व्यस्त नायिका प्रियंका कार्की ‘हयाप्पी डेज’ को रेड कार्पेट प्रिमियर शोका लागि लन्डन आउने भएकी छन् । शनिबार सांझ उनी लन्डन आइपुग्ने उक्त फिल्मका प्रस्तुतकर्ता वी पी खनालले जानकारी दिए । प्रियंकाको फिल्ममा लिड रोल छ । व्यस्तताका कारण प्रियंकाको बेलायत बसाइ ज्यादै थोरै छ ।

यही १२ नोभेम्बर आइतबार दिउसो प्रिन्सेस हल, अल्डरसटमा विशेष तामझामका साथ प्रिमियर शो हुंदैछ । लिमोजिनमा उत्रने कलाकारहरुलाई पाइपर ब्याण्ड र दर्शकले स्वागत गर्ने कार्यक्रम छ । बेग्लै कार्यक्रमका लागि बेलायत आएका लोकप्रिय कलाकारहरु धिरेन शाक्य, जितु नेपाल, प्रदीप खड्का, दीया पुन लगायत कलाकारहरुको समेत उक्त शोमा विशेष उपस्थिति हुने खनालले बताए । राजदूत डा. दुर्गाबहादुर सुवेदीले कार्यक्रम 
उद्घाटन गर्नेछन् ।

‘हयाप्पी डेज’ नेपालमा भने माघ १२ देखि प्रदर्शन हुनेछ ।

मिलन चाम्सले निर्देशन गरेको ‘हयाप्पी डेज’ मा बेलायतका नेपाली व्यवसायीहरुको लगानी छ । नेपालबाट आएका कलाकार र प्राविधिकहरु ४६ दिनसम्म बेलायतमै बसेर फिल्मको छायांकन भएको थियो । स्कटल्याण्ड, वेल्स र इंग्ल्याण्डका रमणीय दृश्यहरु चलचित्रमा देख्न सकिनेछ । बेलायतमा ९५ प्रतिशत छायांकन गरिएकाले उक्त चलचित्रको लगानी अढाइ करोड रुपैयां पुगेको निर्माण पक्षले बताउंदै आएको छ ।

यसको प्रस्तोता वी पी खनाल र निर्माताहरुमा खनाल, हिरल जोशी, भवानी शर्मा, मिलन चाम्स र डा. अशोक बन्साल छन् । यो समूहले अब वर्षेनी फिल्म निर्माणलाई निरन्तरता दिने अठोट गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री