एनआरएनए यूकेको नेपाल हाउस प्रोजेक्ट छायांमा, 
पराजितहरु सदस्यमा मनोनित

लन्डन । एनआरएनए यूकेले बेलायतमा सामुदायिक भवन (नेपाल हाउस) निर्माणको महत्वकांक्षी योजना छाडेको छ । मुछेत्र गुरुङले यही एजेण्डाले अध्यक्ष जितेपछि केही अगाडि बढेको योजना योगकुमार फगामी नेतृत्वले ओझेल पारेको हो । उपाध्यक्ष छंदा फगामी आफैं उक्त योजनाको संयोजक थिए ।

एनआरएनए यूकेको आइतबार सम्पन्न सातौं कार्यसमितिको पहिलो बैठकले विभिन्न विषयगत विभाग संयोजक सहित ५ जनालाई सदस्यमा मनोनित गरेपनि नेपाल हाउसबारे केही उल्लेख भएन । सातौं कार्यसमितिको कार्ययोजनामै परेन नेपाल हाउस । तर, प्रवक्ता रमेश सराङकोटीले पुराना 
प्रोजेक्टलाई निरन्तरता दिने संघको योजना कायमै रहेको दावी गरेका छन् ।

अध्यक्ष योगकुमार फगामीको अध्यक्षतामा सम्पन्न बैठकले मनोनित गरेका ५ कार्यसमिति सदस्यहरुमध्ये चारजना पराजित उम्मेदवार छन् । पूर्व मिस यूके नेपाल गौमाया गुरुङबाहेक राजन खकुरेल, महेश गिरी, मनिष खड्का, र डा. दिलिप यादव सदस्य मनोनित भएका हुन् ।

बैठकले संघको मौजुदा विधानको धारा ३१ को उपधारा ३१.१, ३१.१४ मा टेकेर विषयगत समिति एवं विभागका संयोजकहरु तोकेको छ जसमा संघ संस्था संयोजन विभाग संयोजक पुनम गुरुङ, कल्याणकारी विभाग (च्यारिटी) संयोजक प्रेम गाहा मगर, आर्थिक विभाग संयोजक सचिन श्रेष्ठ, प्रकाशन एवं प्रचार प्रसार विभाग संयोजक रमेश सराङकोटी, उद्योग व्यवसाय एवं प्रवर्धन विभाग संयोजक सुरोज मास्केलाई तोकिएको छ ।

त्यसैगरि, कानुन तथा नागरिकता निरन्तरता विभाग संयोजक तारानाथ भण्डारी, खोज अनुसन्धान र ज्ञान विज्ञान प्रविधि तथा बुद्धिजिवी विभाग संयोजक अर्कराज तिम्सिना, संगठन सुदृढिकरण 
एवं सदस्यता वितरण विभाग संयोजक शेरबहादुर सुनार, दैवीप्रकोप तथा आपतकालीन सहयोग विभाग संयोजक सुशीला राई, कला संस्कृति तथा धार्मिक संयोजन विभाग संयोजक होमनाथ पौडेल, क्षेत्र संयोजन विभाग संयोजक ललित न्यौपाने, वृद्ध तथा बालबालिका संयोजन विभाग संयोजक बिमला लिम्बु, गोर्खाज समन्वय विभाग संयोजक डा. प्रेम आले, युवा विभाग 
संयोजक लालबहादुर गुरुङ (एलबीजेड), खेलकुद विभाग संयोजक मुकेश राना, आइटी तथा सदस्यता एवं निर्वाचन सरलीकरण विभाग संयोजक पवन शर्मा, भाषा साहित्य विभाग संयोजक नारायण गाउंले, विद्यार्थी तथा अन्य विभाग संयोजक जित रानाभाट, नेपाल सरकार, प्रदेश सरकार, सभासद तथा सरकारी कर्मचारी तथा राजदूतावास समन्वय विभाग संयोजक आरके त्रिपाठी र विनय अधिकारी सहसंयोजक तथा सामूहिक लगानी विभाग संयोजकमा गंगा रानालाई संयोजक तोकिएको छ ।

बैठकले संघको विभिन्न ७ वटा क्षेत्रीय समिति समेत गठन 
गर्ने निर्णय गरेको छ । जसअनुसार इस्ट लण्डन, वेस्ट लण्डन, अल्डरसट (हयाम्पसायर, रेडिङ, क्याम्बर्ली, बेजिङस्टोक), मिडल्याण्ड, स्कटल्याण्ड, वेल्स र नर्दन आयरल्याण्डमा क्षेत्रीय समिति गठन गरिने छ ।

बैठकले एनआरएनए यूकेको कार्यालय स्थापना गर्ने र कार्यालयका लागि भवन हेर्ने जिम्मा अध्यक्ष फगामी र महासचिव त्रिपाठीलाई लगाउने निर्णय गरेको छ । बैठकले अफगानिस्तान युद्धमा दुवै खुट्टा गुमाएका पूर्व गोर्खा हरि बुढा मगरको सर्वोच्च शिखर सगरमाथा आरोहण अभियान र राष्ट्र राईको तेक्वान्दो खेलकुद कार्यक्रमलाई संस्थाका तर्फबाट सहयोग गर्ने निर्णय पनि गरेको छ ।

बैठकले काठमाडौंमा अक्टोबरमा सम्पन्न एनआरएनए विश्व सम्मेलनबाट उपाध्यक्षमा निर्वाचित कुल आचार्य, सहकोषाध्यक्ष सोम सापकोटा र युरोप महिला उपसंयोजक निर्वाचित संगीता मरहट्ठालाई बधाई दिंदै उनीहरुको कार्यकाल सफलताको शुभकामना व्यक्त गरेको छ ।

संघको सल्लाहकारहरु यो कार्यसमितिमा पनि जम्बो हुने भएको छ । कार्यसमितिबाट झण्डै तीन सय नाम सिफारिस भएपछि अध्यक्ष फगामीलाई सल्लाहकार टुंगो लगाउने जिम्मा दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री