भूपू गोर्खालाई श्रीमति मार्न खोजेकामा १४ वर्ष जेल सजाय

लन्डन । एउटा ब्रिटिश अदालतले आफ्नै श्रीमतिको ज्यान 
मार्ने उद्योग गरेकोमा एकजना भूतपूर्व गोर्खा सैनिकलाई १४ वर्षको जेल सजाय सुनाएको छ ।

हाल ब्रिटेनको स्वीन्डनमा बसोबास गर्ने ४२ वर्षीय विकास गुरुङले गत २९ डिसेम्बरमा १८ इन्च लामो खुकुरी प्रहार गरि ३७ वर्षीया श्रीमति कामना गुरुङलाई मरणासन्न बनाएका थिए । झन्डै २ महिना अस्पतालमा उपचार गराएपछि कामना घर 
फर्केकी छिन् ।

२३ वर्ष गोर्खा रेजिमेन्टमा सेवा गरेर अवकास लिएका विकासको अन्य महिलासंग सम्पर्क रहेको थाहा पाएपछि 
नर्स कामनाले पनि इन्टरनेटमार्फत केटा साथी बनाएकी थिइन् । उनले २० वर्ष यताको सम्वन्ध विच्छेदका लागि श्रीमानसंग कुरा गर्छु भनेकै दिन उनी माथि श्रीमानले हमला गरेका थिए । कामनाले आफूले नछोडोस् भनेर श्रीमानले उनीप्रति हिंसात्मक व्यवहार गरेको बताएकी छन् ।

ब्रिटेनबाट प्रकाशित हुने डेली मेल समाचारपत्रका अनुसार आफूलाई नराम्रो संग कुटपिट गरेपछि कामनाले आपतकालीन सेवा ९९९ मा फोन गरेकी थिइन् । उनले फोनमा कुरा गरिरहेका बेला विकासले उनी माथि जथाभावी खुकुरी प्रहार गर्न सुरु गरेका थिए र फोनमा रेकर्ड गरिएको उनको चित्कार अदालतमा सुनाइएको थियो । तत्कालै उनको घर पुगेका प्रहरीले कामनालाई रगतको आहालमा भेटेका थिए । त्यसपछि स्वास्थ्यकर्मी आएर उनलाई अस्पताल लगेका थिए । कामनाको शरीरभर घाउ लागेको थियो भने प्रहार रोक्न खोज्दा उनको हात छिया छिया भएको थियो ।

विकासले आवेशमा आएर ज्यानै लिने उद्देश्यले श्रीमतिमाथि 
खुकुरी प्रहार गरेको स्वीकारेको समाचारमा उल्लेख छ ।
ब्रिटेनले बसोबास गर्न अनुमति दिएपछि ४० हजार भन्दा बढि भूतपूर्व गोर्खा सैनिक तथा तिनका परिवार ब्रिटेनका विभिन्न क्षेत्र मा बसोबास गरिरहेका छन् । तर, केहि वर्ष यता घरेलु हिंसाका घट्नाहरु बढि रहेको भनि ब्रिटिश अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् । इकान्तिपुर

प्रतिक्रिया

सम्बन्धित सामाग्री