एनआरएनए यूके अध्यक्ष फगामीलाई प्रश्न

नवनियुक्त अध्यक्ष योगकुमार फगामी

पाठकहरु केही समय हराएको थिएं, फेरि सामिप्यमा आउने कोशिस गर्दैछु । सुस्ताएको हो बिलाएको होइन ।
आजको यो लेख एनआरएनए यूकेको चुनावी रस्साकस्सी र हाम्रो आशा एवं नवनियुक्त अध्यक्ष योगकुमार फगामीका चुनौतीका पहाडहरुबारे लेख्दै छु ।

फगामी दाईलाई बधाई टक्रयाउंदै लेख शुरु गर्न मेरा पाठकहरुसंग अनुमति माग्दछु । पाठकहरु, राजनैतिक नेतृत्व र नेताको चाकरी एवं दौडधुप र एउटा झुन्ड तयार गरि आफ्नै पैसा हालेर सदस्यताको पासो हान्ने 
प्रवृत्तिको सिन्डिकेटलाई तोड्दै एनआरएनए यूके 
प्रजातान्त्रिक अभ्यासमा लागेको अनुभूत भएको छ । हिराधन राई र कृष्ण तिमल्सेनाहरु यो अभ्यासको उपविजेता रहेको यो लेखकले ठहर्छ ।

फगामी दाई विगत म कोट्याउंदिन त्यहां दुःखाई मात्रै छ, पीडा मात्रै छ । त्यहां सट्टेबाजका केही अपवाद बाहेक गुलामहरु मात्र छन् । मलाई नामै लिंदा पनि झर्को लाग्छ ।  विगत दुःखदायी छ । झ्यालीहरुले लंगुरे बुर्जा खेलाएको जस्तो गोटी कहिले तल फर्कन्छ कहिले दाहिने । पीडा छ म त्यता जान चाहन्न् ।

फगामी दाई म २५ पाउन्ड तिरेर सदस्यता लिने कोशिस नै गरिन बरु मैले तराईका बाढी पीडितलाई दान गरें । 
२ परिवारको सवा दिनका लागि पेट भरियो होला, 
मेरो सन्तुष्टि त्यही रहयो ।

दाई केही कारण दिनुस् कि मलाई सदस्य बन्न प्रेरित 
गरोस् । मेरो दैनिकी र नेपालप्रतिको मायालाई जोडिने माध्यम बनोस् भन्ने मेरो आशा हो । म घोत्लिएर सोच्छु केही पाउंदिन सिवाय पदेनहरुको नेपालबाट आउने नेताहरुको चाकडी र दूतावासको कार्यक्रमहरुमा प्रमुख अतिथी र नेपालमा कालो धनलाई सेतो बनाउने गुटको सेवा पाउन मोलमोलाई र नेताको छेउमा उभिएर फोटो सेसन गर्नेहरुको भीड र लंका हांक्ने गफ ।

जनमानसको यो भ्रमलाई चिरेर अब कसरी अगाडि बढ्नुहुन्छ ? पहिलाकाहरुले भन्दा काम गरेर पृथक कसरी बन्नुहुन्छ र म जस्ता हजारौं युवालाई समेटेर कसरी सदस्य बन्न प्रेरित गर्नुहुन्छ ? म लगायत मेरा हजारौं पाठक उत्तर खोजिरहेका छन् ।

अनुमानित रुपमा बेलायतमा दुई लाख नेपाली छन् । १० पाउन्ड सदस्यता शुल्क राखिदिनु भयो र दुई लाख सदस्य बने १० लाख पाउन्ड उठ्छ । स्वविवेकले दान गर्नेहरु पनि निस्केलान । त्यो १० लाख तब मात्र उठ्छ जब त्यो दुई लाख नेपालीलाई हजुरले सांस्कृतिक, राजनैतिक र सामाजिक चरित्र मिसाएर अनि घुलाएर लैजानु भयो भने त्यो सम्भव छ ।

लेखक अञ्जन बगाले

फगामी दाई दुई वर्ष कटाउन मुस्किल नहोला । काम 
गर्नेका निमित्त दुई वर्ष आफैंमा थोरै समय हो । फगामी दाई विरोधीहरुको स्वरलाई समाजले सुनिदिने हो भने कुल मतदाता संख्याको जम्मा ३५ प्रतिशतको प्रतिनिधित्व हुन आउंछ । कुल खसेको मतलाई आधार मान्दा ४५ प्रतिशत हुन आउंछ । अनुमानित नेपालको संख्यालाई मान्दा १ प्रतिशत भन्दा कम हुन आउंछ । मलाई यो पनि थाहा छ कि माथिका तथ्यांकहरु तर्क मात्र हुन् । चुनावको मैदानमा उत्रिसकेपछि एउटै भोटको अन्तर ले विजय ठहर्छ, यो सर्वस्वीकार्य छ ।

तर्क र वितर्कलाई थाती राख्दै तपाईको फेसबुक 
प्रोफाइलमा उपविजेताहरुको पनि तस्बीर देख्दा खुसी लाग्यो । त्यो सबैलाई समेटेर जाने अर्को प्रण पनि हो । सकारात्मक कुराको स्वागत गर्दछु ।

फगामी दाई मनको दुविधाबीच रहेर मेरो मनभित्र निम्न 
प्रश्नहरु तेर्सिएकाले मेरा पाठकलाई उत्तर दिनु भए आभारी हुने थिएं ।

१) नेपालमा लगानी भित्रयाउने हजुरका के योजना छन् ?
२) नेपालमा लगानी भित्रयाउन हजुरको टिममा कस्ता कस्ता विशेषज्ञहरु छन् ? बैंकिंग र कर्पोरेट क्षेत्रबाट ।
३) नेपालको राजनैतिक झन्झटलाई सल्टाउन सक्ने कस्ता मान्छेहरुको त्यहां मिश्रण छ ?
४) नेपालमा लगानीका सम्भावनाहरुको पहिचान कसरी गर्नुभएको छ ?
५) पर्यटन, हाइड्रो, कृषि, शिक्षा, स्वास्थ्य, उद्योग, अलैंची, अदुवा, कफी निर्यात लगायत कलकारखाना कति खोल्ने कति लगानी लैजाने र नेपालमा कति नेपालीलाई रोजी 
रोटी निर्माण गर्ने योजना बुन्नु भएको छ ?
५) नेपाल सरकारको ब्युरोक्रेसीसंग समन्वय गरेर लगानी गर्न दूतावाससंग कसरी समन्वय गर्दै हुनुहुन्छ ?
६) जनताले परम्परागत माइन्ड सेटलाई बेवास्ता गर्दैछन् । नयां के पस्कन सक्नुहुन्छ ?
७) द्धैध नागरिकता नेपाल सरकारले किस्तामा दिएको छ । यो कानुन पूर्ण लागू गर्न के कस्ता योजना छन् तपाईंसंग ?
८) गोर्खाहरुका समस्या ज्वलन्त छन् । कसरी मिलाउनु हुन्छ ?
९) बीबीसी, आइटिभी र अन्तर्राष्ट्रिय सञ्चार जगतमा नेपालको प्रचार प्रसार गर्ने तपाईंसंग के रणनीति र योजना छन् ?

उल्लेखित कुराहरु म लगायत मेरा पाठकहरु जान्न चाहन्छन् । जनताले आग्रह गरेका छन् गुट उपगुटमा 
नफंसिदिनुस्, साझा भइदिनुस् । समुदाय र जातको हिलो छयाप्नेहरुसंग बचेर सारा नेपालीको भइदिनुस् । नेपालले जित्छ नेपालीले जित्छ । कुरा बढि गर्ने काम नगर्नेहरुको झुन्डले हजुरलाई भ्रममा राखि राख्न सक्छन् । बिचौलिया गरेर दैनिकी चलेको हुन्छ उनीहरुको । बच्नु पर्ने हजुर हो बच्दिनुस् कुरा भन्दा काममा विश्वास गर्दिनुस् ।

समय गतिशील छ, युवाहरु हिरा हुन् महंगो हुन्छ त्यसलाई बांध्ने सुनले हो दाई । शोभा त्यसैमा छ । आगे हजुरको मर्जी ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री