जुम्लामा मातृशिशु केन्द्र बनाउन नर्सहरुको च्यारिटी डिनर

लन्डन । नेपलिज नर्सिङ एसोसिएसन यूकेले जुम्लाको अति विकट पत्थरखोलामा बर्थिङ सेन्टर (मातृशिशु केन्द्र) निर्माणमा आर्थिक सहयोग जुटाउन शनिबार एक च्यारिटी डिनर कार्यक्रम गरेको छ । लन्डन साउथ हयारोस्थित हयारो बरो फुटबल क्लवमा च्यारिटी डिनर भएको हो ।

कार्यक्रममा ६ हजार २८७ पाउण्ड संकलन भएको र २८४६ पाउण्ड रकमको प्रतिवद्धता आएको जनाइयो । मातृशिशु केन्द्र निर्माणका लागि करिब ४० हजार पाउण्ड लाग्ने अनुमान छ ।

एसोसिएसन अध्यक्ष प्रसुना कंडेलको सभापतित्वमा भएको उक्त च्यारिटी डिनरमा प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदीले एसोसिएसनको मानवीय कार्यको प्रशंसा गरे । उनले अहिले नेपालले प्राकृतिक प्रकोपको पीडा झेलिरहेको स्मरण 
गर्दै बेलायतका नर्सहरुले भूकम्पका बेला गरेको उद्दार तथा राहत कार्यको पनि सरहाना गरेका थिए ।

महासचिव रस्मिता दर्लामीले सञ्चालन गरेको पहिलो चरणको औपचारिक कार्यक्रममा रोयल कलेज अफ नर्सिङ, फोरम कमिटी मेम्बर एवं अल पाकिस्तान नर्सेस एसोसिएसनकी अध्यक्ष जेबा आरिफ, एनआरएनए युरोप संयोजक कुल आचार्य र नेपलिज 
डक्टर्स एसोसिएसन यूकेका अध्यक्ष डा. सविन जोशीले पनि शुभकामना दिए ।

एसोसिएसनकी अध्यक्ष कंडेलले सबै दाताहरुप्रति आभार व्यक्त गर्दै आफूहरुको प्रोजेक्टमा साथ दिन अपिल गरिन् ।

कार्यक्रममा उपाध्यक्ष विनोदविकास सिम्खडाले मातृशिशु केन्द्र निर्माण प्रोजेक्ट र संस्थाका हालसम्मका क्रियाकलापबारे प्रिजेन्टेसन दिए भने कोषाध्यक्ष गंगा साम्पांग र सहकोषाध्यक्ष यमुना घलले उक्त प्रोजेक्टका लागि हालसम्म संकलित रकम र सहयोग गर्ने माध्यमबारे प्रकाश पारेका थिए । कार्यक्रममा ब्रेन्ट काउन्सिल मेयर भगवानजी चौहान उपस्थित भएपनि व्यस्तताले छिट्टै बाहिरिए ।

बेलायत र नेपालको राष्ट्रिय गीतपछि पारिका आलेले शास्त्रीय नाच प्रस्तुत गरेर स्वागत गरेकी थिइन् । सुनिता गौतमले सञ्चालन गरेको दोश्रो चरणको सांस्कृतिक कार्यक्रममा विभिया श्रेष्ठले नेवारी नाच प्रस्तुत गरिन् । उक्त अवसरमा एसोसिएसनले नाटक समेत प्रस्तुत गरेको थियो । दीपक थापा र प्रतिभा शाहीले गायन प्रस्तुत गरे भने बिनु लामिछाने, प्रिमा भट्टराई, प्रतिष्ठा त्रिपाठी, श्रेया-सुस्मिताले नृत्य देखाए । रफी श्रेष्ठले बांसुरीको धुन प्रस्तुत गरिन् । लक्ष्मी राई (लारा) ले लिलाम बढाबढ गराएकी थिइन् ।

एसोसिएसनले आजीवन सदस्यहरु र प्रायोजकलाई सम्मान 
एवं स्वयंसेवकहरुलाई प्रशंसापत्र प्रदान गरेको थियो ।

महाभूकम्पका बेला नेपाल गएर राहत तथा उद्दारमा खटिएको एसोसिएसनले त्यस लगत्तै सिन्धुपाल्चोक र गोरखामा एक एकवटा विद्यालय पुनर्निर्माण गरिसकेको छ । एसोसिएसनले बेलायत र नेपालमा निरन्तर निशुल्क हेल्थ क्याम्प सञ्चालन पनि गर्दै आएको छ ।

तस्विरः बीरेन्द्र श्रेष्ठ

प्रतिक्रिया

सम्बन्धित सामाग्री