
अल्ट्रा धावक तथा हिमाल आरोही स्व. सञ्जय पण्डितको पार्थिव शरीरमा मंगलबार राष्ट्रिय झण्डा ओडाइ श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, १० साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले पृथक धावक तथा हिमाल आरोही सञ्जय पण्डितको पार्थिव शरीरमा आज राष्ट्रिय झण्डा ओढाई सम्मान गर्नुभएको छ ।
श्रद्धाञ्जलिका लागि पण्डितको शव राखिएको स्थल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् परिसरमा पुगी प्रधानमन्त्री देउवाले श्रद्धाञ्जलि व्यक्त गर्नुभयो । अमेरिकाको अलास्का राज्यमा अवस्थित डेनाली हिमाल आरोहणका क्रममा २९ वर्षीय आरोही पण्डितको गत असार २ गते लेक लागेर निधन भएको थियो । एक महिनाभन्दा बढी समयपछि उहाँको शव गए राति काठमाडौँ ल्याइएको थियो । आज बिहान १० बजे पण्डितको शव श्रद्धाञ्जलिका लागि राखिएको थियो ।
सो अवसरमा प्रधानमन्त्री देउवाले प्रतिभाशाली पण्डितको निधनले राष्ट्रलाई क्षति पुगेको बताउनुभयो । “सञ्जय पण्डितजीको नेपालको पहिचानलाई चिनाउने आरोहणका क्रममा अमेरिकाको अलास्कामा दुःखद निधन भयो । यसले सबै नेपालीलाई चोट पुगेको छ । उहाँको आत्माको चिरशान्तिको कामना गर्दछु,”, उहाँले भन्नुभयो ।
सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री कृष्णबहादुर महरा, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता डा रामशरण महत तथा नेकपा(माओवादी केन्द्र)का वर्षमान पुनले पण्डितलाई श्रद्धाञ्जलि दिनुभएको थियो । पण्डितलाई श्रद्धाञ्जलि व्यक्त गर्न विभिन्न राजनीतिक दलका नेता, शुभेच्छुक, सर्वसाधारण, राष्ट्रिय खेलाडी तथा खेलप्रेमी र आरोहणमा संलग्न व्यक्तिहरु त्रिपुरेश्वर पुगेका थिए ।
लेक लागेर बिरामी हुनुभएका पण्डितको डेनाली आरोहण गर्ने क्रममा निधन भएको थियो । उहाँ पहिलादेखि नै चिसोका कारण बिरामी परेकाले परिवारले आरोहण नगर्न भने पनि आरोहणमा गएको पण्डितका भाइ देवेन्द्र वर्माले बताउनुभयो । वर्माका अनुसार पण्डितले दुई हजार ४०० किमी म्याराथन र सात वटै महादेशका प्रमुख हिमाल आरोहण गर्नुभएको छ । डेनाली हिमालको उचाइ २० हजार १५६ फिट अर्थात् छ हजार १४४ मिटर छ । पण्डितको १७ हजार २०० फिट उचाइमा निधन भएको थियो । पण्डितले यसअघि पनि एक पटक उक्त हिमाल चढिसक्नुभएको थियो । मौसम खराबीले पण्डितका शव ल्याउन ढिलो भएको बताइएको छ ।
विसं २०६५ देखि साहसिक यात्रा सुरु गर्नुभएका पण्डितले प्युठानको स्वर्गद्वारीबाट काठमाडौँको दूरी ४७ घण्टा २० मिनेटमा पार गर्नुभएको थियो । उहाँले अन्य थुप्रै दौड पूरा गर्नुभएको छ । नेपाल–चीन सिमाना तातोपानी खासादेखि काठमाडौँ तथा गोरखादेखि काठमाडौँसम्म पनि उहाँले दौड पूरा गर्नुभएको थियो ।
त्यसपछि हिमाल आरोहण शुरु गर्नुभएका पण्डितले सगरमाथा दुई पटक सफल आरोहण गरिसक्नुभएको छ । सातै महादेशका सर्वोच्च शिखर चढ्ने निर्णयअनुरुप पण्डितले अफ्रिकाको छानाका रुपमा चिनिएको माउन्ट किलिमान्जेरोको सफल आरोहण गर्नुभएको थियो । दक्षिण एशियाकै तीव्र गतिका आरोही सञ्जयले युरोपको सर्वोच्च शिखर माउन्ट एल्बरुसको सफल आरोहण गर्दै चुचुरोमा छ मिनेट तीन सेकेन्ड अर्धनग्न बसी नयाँ कीर्तिमान कायम गर्नुभएको थियो ।
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपाल निर्वाचन : समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कुन पार्टीलाई कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा