मतदातालाई प्रधानमन्त्री र उपराष्ट्रपतिले दिए धन्यवाद

देउवा

काठमाडौँ, १४ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो चरणअन्तर्गत आज भएको स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न सहयोग पुरयाउने सबैमा धन्यवाद व्यक्त गर्नुभएको छ ।

संविधानले नेपालको सार्वभौम अधिकार नेपाली जनतामा निहित गरेकाले लोकतन्त्रमा जनताले मुलतः निर्वाचनका माध्यमबाट नै आफ्नो सार्वभौम अधिकारको प्रयोग गर्ने गरेको बताउँदै उहाँले भन्नुभयो – “जनताले आफ्नो निर्णायक शक्तिको प्रयोग चुनावमार्फत् गर्दछन्, यस अर्थमा नेपाली जनताले प्राप्त गरेको सार्वभौम अधिकारको प्रयोग गर्ने अवसरका रुपमा यस निर्वाचनलाई लिन सकिन्छ ।”

प्रधानमन्त्री देउवाले संविधानको स्वीकार्यता बढाई मधेसी, थारु, आदिवासी जनजातिलगायतको सहभागिता सुनिश्चित गर्ने अभिप्रायले प्रदेश नं २ मा तेस्रो चरणमा स्थानीय तहको निर्वाचन गर्न लागेको प्रष्टयाउँदै प्रदेश नं. २ का जनसमुदायलाई आफ्ना जनप्रतिनिधि चुन्ने कार्यको तयारीमा सक्रियतापूर्वक लाग्न विशेष अपिल गर्नुभयो ।

निर्वाचन जस्तो ऐतिहासिक लोकतान्त्रिक अभ्यासमा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोग र समझदारीप्रति हार्दिक आभार व्यक्त गर्दै उहाँले आगामी दिनमा पनि सदाझै सहयोग र सद्भावको अपेक्षा गर्नुभएको छ ।

उपराष्ट्रपतिबाट सम्पूर्ण मतदातालाई बधाई तथा धन्यवाद

उपराष्ट्रपति नन्दबहादुर पुन । तस्बिर ः प्रदीपराज वन्त,रासस

उपराष्ट्रपति नन्दबहादुर पुनले दोस्रो चरणको स्थानीय तह निर्वाचन मतदाताको भव्य सहभागिता र उल्लासमय वातावरणमा सम्पन्न भएकोमा हामी नेपालीहरु गौरव गर्दछौँ भन्नुभएको छ ।

उपराष्ट्रपतिले आज धन्यवाद सन्देश जारी गर्दै स्थानीय तह देशको समृद्धि र सुदृढ लोकतन्त्रको आधारस्तम्भ भएकाले यसले लोकतन्त्रलाई सुदृढ गर्नुका साथै समृद्धि नेपालको ढोकासमेत खोल्ने बताउनुभयो ।

सन्देशमा उहाँले भन्नुभएको छ –“सिंहदरबार केन्द्रित अधिकार र स्रोतसाधनलाई जनताको घर, आँगनमा पुरयाउने, जनताले आफ्नो शासन आफँै गर्ने, स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई महाउत्सवका रुपमा लिएर सहभागी भई आफ्नो सार्वभौम मताधिकारको प्रयोग गर्नुहुने सम्पूर्ण मतदातालाई म बधाई तथा धन्यवाद दिन चाहन्छु ।”

सानातिना छिटफुट घटनाबाहेक निर्वाचन शान्तिपूर्ण एवम् ऐतिहासिक रुपमा सम्पन्न भएकोमा नेपाल सरकार, निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, सञ्चारकर्मी, पर्यवेक्षक र स्वयम्सेवक लगायतलाई उपराष्ट्रपति पुनले धन्यवाद ज्ञापन गर्नुभयो ।

उहाँले स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न हुनु संविधान कार्यान्वयनका लागि ऐतिहासिक सफलता भएको बताउँदै सरकार र राजनीतिक दल आपसी संवाद, सहमति र सहकार्यका माध्यमबाट समस्या समाधान गर्दै तेस्रो चरणको निर्वाचनमा जुट्ने तथा तेस्रो चरणको निर्वाचन पनि साँच्चिकै महाउत्सवकै रुपमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री