
राष्ट्रपति विद्यादेवी भण्डारी, उहाँको सम्मानमा संयुक्त राष्ट्र सङ्घका लागि स्थायी प्रतिनिधि दीपक धितालले शुक्रबार जेनेभामा आयोजना गर्नुभएको स्वागत कार्यक्रममा सम्बोधन गर्नुहुँदै । तस्बिर ः सुरेन्द्रबहादुर नेपाली, जेनेभा, रासस
जेनेभा, ३ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली राजनीतिमा अनुभव नभएका महिलालाई पूर्ण प्रतिस्पर्धामा भाग लिन लगाएको अवस्थामा भन्दा सकारात्मक विभेदअन्तर्गत थोरै आरक्षण दिइएको अवस्थामा उनीहरूको राजनीतिक संलग्नतामा व्यापक सुधार भएको बताउनुभएको छ ।
संयुक्त राष्ट्र सङ्घका लागि स्थायी प्रतिनिधि दीपक धितालले आफ्नो सम्मानमा शुक्रबार आयोजना गर्नुभएको स्वागत कार्यक्रममा राष्ट्रपति भण्डारीले पूर्ण प्रतिस्पर्धा समान रूपमा सक्षम व्यक्तिहरूबीच मात्र हुनसक्ने बताउँदै शताब्दीयौँदेखि विभेद गरिएका र अनुभव नभएका महिला तथा सक्षम र अनुभवी व्यक्तिबीच प्रतिस्पर्धा गर्नु उचित नहुने बताउनुभयो ।
राष्ट्रपति भण्डारीले विसं २०४९ अगाडि स्थानीय निकायका करिब दुई लाख पदमध्ये केवल १३६ मा मात्र महिला विजयी भएको देखिएकामा विकेन्द्रीकरणअन्तर्गत निर्वाचनमा २० प्रतिशत महिलालाई उम्मेदवार बनाउनुपर्ने व्यवस्थाबाट ३६ हजार महिला विजयी भएको र थप चार हजार महिला मनोनीत हुँदा करिब ४० हजार महिला राजनीतिक पदमा स्थापित भएको उदाहरण प्रस्तुत गर्नुभयो । उहाँले यसरी नै अनुभवले खारिएर महिलामा राजनीतिक प्रतिस्पर्धात्मक क्षमता बढेको बताउनुभयो ।
राष्ट्रपति भण्डारीले वर्तमान संविधानअन्तर्गत निर्वाचनमा महिला उम्मेदवारी ४० प्रतिशत अनिवार्य बनाउँदा र प्रमुख तथा उपप्रमुखमध्ये एक पदमा महिला उम्मेदवारी अनिवार्य बनाउँदा हालैको निर्वाचनबाट धेरै महिला उपप्रमुखमा निर्वाचित भएको बताउँदै अब उनीहरूले पनि न्यायाधीशसरह अधिकार प्राप्त गरेको उल्लेख गर्नुभयो ।
उहाँले संसद्का लागि ३३ प्रतिशत स्थानमा महिला उम्मेदवारीको व्यवस्थाले ३३ प्रतिशत स्थानमै महिलाले विजय हासिल गरेको बताउँदै सभामुख र उपसभामुखमा एक पद तथा राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक पद महिलाले प्राप्त गर्दा उनीहरूलाई अनुभवी तथा व्यावहारिक बनाउने बताउनुभयो ।
राष्ट्रपति भण्डारीले अब आर्थिक विकास गरी लोकतन्त्रको फाइदा जनतालाई उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रवासी नेपाली मुलुकको सद्भावना दूत भएको बताउँदै उनीहरूले जनस्तरका साथै सरकारी र कूटनीतिक स्तरमा समेत प्रभाव पार्नसक्ने र विदेशमा सिकिएको सीप स्वदेशमा उपयोग गर्न सकिन्छ भन्नुभयो ।
यहाँ आयोजना भइरहेको ‘१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्व शिखर बैठक’ लाई सम्बोधन गर्न यहाँ आउनुभएका राष्ट्रपति भण्डारी सहभागी कार्यक्रममा स्विट्जरल्यान्डमा बसोबास गर्ने नेपाली समुदायका सदस्य, अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सम्मेलनका लागि नेपाली प्रतिनिधि तथा राष्ट्रपति भण्डारीका भ्रमण दलका सदस्य पनि उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रममा स्विट्जरल्यान्डका लागि नेपाली राजदूत धितालले अन्तर्राष्ट्रिय श्रम सङ्गठनमा नेपालको सहभागिता र नेपालले प्राप्त गरेको उपलब्धिका विषयमा जानकारी गराउनुभएको थियो ।
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा…
नेपाल निर्वाचन : मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा, रास्वपा पहिलो स्थानमा
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग