लन्डन । पश्चिम लन्डनको नटिङहिल नजिक अवस्थित एक २४ तले आवासीय भवनमा बुधबार बिहान भीषण आगलागी भएको छ । आगलागीबाट हालसम्म कम्तीमा १२ जनाको मृत्यु भएको मेट्रोपोलिटन प्रहरीले जनाएको छ । स्कटल्याण्ड यार्डले मृतक संख्या बढ्ने बताएको छ । लन्डन एम्बुलेन्स सर्भिसले घाइते ७८ को लन्डनका विभिन्न ६ अस्पतालमा उपचार भइरहेको जनाएको छ । ति मध्ये २० घाइते क्रिटिकल केयरमा छन् ।
नर्थ केन्ङिटनको ल्याटिमेर रोडमा अवस्थित १२० फल्याट रहेको ६८ मिटर अग्लो ग्रेनफेल टावर (अपार्टमेन्ट) मा राती करिब एकबजेतिर लागेको आगलागीबाट कयौं हताहत भएको अनुमान छ । लन्डन फायर कमिश्नर डेनी कोटोनले अकस्मात लागेको आगलागीले हताहती धेरै हुन सक्ने बताउंदै अहिले नै संख्या यकिन नभएको बताइन् । ‘मैले अग्नी नियन्त्रणको काम थालेको २९ वर्षमा यस्तो भीषण आगलागी कहिल्यै देखेको थिइन्’, कोटोनले भनिन्, ‘आगोले २४ तला पुरै जलेको छ ।’ बिहान गरिएको पत्रकार सम्मेलनमा उनले भवनभित्र अझै मानिसहरु फंसिरहेका छन् कि भन्नेबारे खोजी भइरहेको र उद्दार जारी रहेको बताइन् । उनका अनुसार ६ मिनेटभित्र अग्नी नियन्त्रक घट्नास्थल पुगिसकेका थिए ।
सुतिरहेका बेला उक्त टावर ब्लकमा आगो लागेपछि मानिसहरु बचाउ बचाउ…भन्दै चिच्याइरहेका थिए । कतिपय महिला आफ्ना केटाकेटीलाई झयालबाट फालेर सहयोग याचना गरिरहेका थिए । केन्जिङटन एण्ड चेल्सी काउन्सिलका लिडर निक प्याजेट ब्राउनले सयौं मानिस भवनभित्र हुन सक्ने बताउंदै यकिन संख्याबारे जांचबुझ भइरहेको बताए ।
दि टेलिग्राफले भवनभित्र ६ सय बढि रहेको हुन सक्ने उल्लेख गर्दै कतिजना भागेर ज्यान बचाउन सफल भए थाहा नभएको जनाएको छ । केटाकेटी र वृद्धावृद्धा अझै हराइरहेको बताइएको छ । घरवारविहीनका लागि ल्याटीमेर कम्युनिटी सेन्टर, सेन्ट क्लेमेन्टस चर्च, हयारो क्लब र रग्बी पोर्टोबेलो ट्रष्टमा आश्रय दिइएको छ । लोकल च्यारिटीले पीडितलाई आवश्यक राहत सामाग्री वितरण गरेका छन् ।
आगलागी भएको स्थान नेपाली दूतावास नजिक छ । दूतावासका उपनियोग प्रमुख शरदराज आरणले दुःखद घट्ना सुन्नुपरेको जनाउंदै नेपाली हालसम्म प्रभावित भएको खबर नआएको बताए । उनले दूतावास मेट्रो पुलिस र काउन्सिलसंग सम्पर्कमा रहिरहेको समेत जनाए ।
कम्तीमा ४५ दमकलमा आएका दुई सय भन्दा बढि अग्नी नियन्त्रकलाई आगो नियन्त्रणमा लिन हम्मे हम्मे पर्यो । आगो लागेको झण्डै १२ घण्टासम्म पनि भवनमा आगो बलिरहेको देखिन्थ्यो । दोश्रो तलाबाट हेर्दा हेर्दै आगो करिब २० मिनेट अवधिमा कसरी तीव्र रुपमा माथि फैलियो भन्नेबारे प्रश्न उठेको छ ।
अधिकारीहरुले आगलागीको कारणबारे अनुसन्धान थालिएको बताएका छन् । प्रधानमन्त्री टेरेजा मेले घट्नाप्रति दुःख व्यक्त गर्दै दिवंगतमा श्रद्धाञ्जलि अर्पण गरेकी छन् । लन्डन मेयर सादिक खानले घट्ना दुःखद र कारुणिक भएको बताउंदै घट्नापछि एकसय भन्दा बढि प्रहरी, एक सय प्यारामेडिक्स र २५० अग्नी नियन्त्रक खटिएको जनाए ।
ग्रेनफेल एक्सन ग्रुपले चार वर्ष यता भवनमा विपत्ति आउन सक्ने जोखिमबारे सम्वन्धित निकायलाई अवगत गराइएपनि वेवास्ता गरिएको दावी गरेको छ । ग्रुपले जोखिमबारे केन्जिङटन एण्ड चेल्सी टिनेन्ट म्यानेजमेन्ट अर्गनाइजेशनलाई अवगत गराएको थियो । गत नोभेम्बरमा पनि भवनको फायर सेफ्टीबारे प्रश्न उठेको थियो । उक्त भवन कुन बेला ढल्ने हो चिन्ता समेत व्यक्त गरिएको छ ।
सन् १९७४ मा निर्मित ल्यानक्यास्टर वेष्ट स्टेट टावर गत वर्ष मे २०१६ मा मात्र करिब दश मिलियन पाउण्ड खर्चमा मर्मत सम्भार र स्तरोन्नति गरिएको समाचारमा जनाइएको छ ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]