लन्डनको २४ तले भवन जब जलिरह्यो…

लन्डन । पश्चिम लन्डनको नटिङहिल नजिक अवस्थित एक २४ तले आवासीय भवनमा बुधबार बिहान भीषण आगलागी भएको छ । आगलागीबाट हालसम्म कम्तीमा १२ जनाको मृत्यु भएको मेट्रोपोलिटन प्रहरीले जनाएको छ । स्कटल्याण्ड यार्डले मृतक 
संख्या बढ्ने बताएको छ । लन्डन एम्बुलेन्स सर्भिसले घाइते ७८ को लन्डनका विभिन्न ६ अस्पतालमा उपचार भइरहेको जनाएको छ । ति मध्ये २० घाइते क्रिटिकल केयरमा छन् ।

नर्थ केन्ङिटनको ल्याटिमेर रोडमा अवस्थित १२० फल्याट रहेको ६८ मिटर अग्लो ग्रेनफेल टावर (अपार्टमेन्ट) मा राती करिब एकबजेतिर लागेको आगलागीबाट कयौं हताहत भएको अनुमान छ । लन्डन फायर कमिश्नर डेनी कोटोनले अकस्मात लागेको आगलागीले हताहती धेरै हुन सक्ने बताउंदै अहिले नै संख्या यकिन नभएको बताइन् । ‘मैले अग्नी नियन्त्रणको काम थालेको २९ वर्षमा यस्तो भीषण आगलागी कहिल्यै देखेको थिइन्’, कोटोनले भनिन्, ‘आगोले २४ तला पुरै जलेको छ ।’ बिहान गरिएको पत्रकार सम्मेलनमा उनले भवनभित्र अझै मानिसहरु 
फंसिरहेका छन् कि भन्नेबारे खोजी भइरहेको र उद्दार जारी रहेको 
बताइन् । उनका अनुसार ६ मिनेटभित्र अग्नी नियन्त्रक घट्नास्थल पुगिसकेका थिए ।

सुतिरहेका बेला उक्त टावर ब्लकमा आगो लागेपछि मानिसहरु बचाउ बचाउ…भन्दै चिच्याइरहेका थिए । कतिपय महिला 
आफ्ना केटाकेटीलाई झयालबाट फालेर सहयोग याचना गरिरहेका थिए । केन्जिङटन एण्ड चेल्सी काउन्सिलका लिडर निक प्याजेट ब्राउनले सयौं मानिस भवनभित्र हुन सक्ने बताउंदै यकिन संख्याबारे जांचबुझ भइरहेको बताए ।

दि टेलिग्राफले भवनभित्र ६ सय बढि रहेको हुन सक्ने उल्लेख गर्दै कतिजना भागेर ज्यान बचाउन सफल भए थाहा नभएको जनाएको छ । केटाकेटी र वृद्धावृद्धा अझै हराइरहेको बताइएको छ । घरवारविहीनका लागि ल्याटीमेर कम्युनिटी सेन्टर, सेन्ट क्लेमेन्टस चर्च, हयारो क्लब र रग्बी पोर्टोबेलो ट्रष्टमा आश्रय दिइएको छ । लोकल च्यारिटीले पीडितलाई आवश्यक राहत सामाग्री वितरण गरेका छन् ।

आगलागी भएको स्थान नेपाली दूतावास नजिक छ । दूतावासका उपनियोग प्रमुख शरदराज आरणले दुःखद घट्ना सुन्नुपरेको जनाउंदै नेपाली हालसम्म प्रभावित भएको खबर नआएको बताए । उनले दूतावास मेट्रो पुलिस र काउन्सिलसंग सम्पर्कमा रहिरहेको समेत जनाए ।

कम्तीमा ४५ दमकलमा आएका दुई सय भन्दा बढि अग्नी नियन्त्रकलाई आगो नियन्त्रणमा लिन हम्मे हम्मे पर्यो । आगो लागेको झण्डै १२ घण्टासम्म पनि भवनमा आगो बलिरहेको देखिन्थ्यो । दोश्रो तलाबाट हेर्दा हेर्दै आगो करिब २० मिनेट 
अवधिमा कसरी तीव्र रुपमा माथि फैलियो भन्नेबारे प्रश्न उठेको छ ।

अधिकारीहरुले आगलागीको कारणबारे अनुसन्धान थालिएको बताएका छन् । प्रधानमन्त्री टेरेजा मेले घट्नाप्रति दुःख व्यक्त गर्दै दिवंगतमा श्रद्धाञ्जलि अर्पण गरेकी छन् । लन्डन मेयर सादिक खानले घट्ना दुःखद र कारुणिक भएको बताउंदै घट्नापछि एकसय भन्दा बढि प्रहरी, एक सय प्यारामेडिक्स र २५० अग्नी नियन्त्रक खटिएको जनाए ।

ग्रेनफेल एक्सन ग्रुपले चार वर्ष यता भवनमा विपत्ति आउन सक्ने जोखिमबारे सम्वन्धित निकायलाई अवगत गराइएपनि वेवास्ता गरिएको दावी गरेको छ । ग्रुपले जोखिमबारे केन्जिङटन एण्ड चेल्सी टिनेन्ट म्यानेजमेन्ट अर्गनाइजेशनलाई अवगत गराएको थियो । गत नोभेम्बरमा पनि भवनको फायर सेफ्टीबारे प्रश्न उठेको थियो । उक्त भवन कुन बेला ढल्ने हो चिन्ता समेत व्यक्त गरिएको छ ।

सन् १९७४ मा निर्मित ल्यानक्यास्टर वेष्ट स्टेट टावर गत वर्ष मे २०१६ मा मात्र करिब दश मिलियन पाउण्ड खर्चमा मर्मत सम्भार र स्तरोन्नति गरिएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री