नयां गृहमन्त्रीको यस्तो अठोट

Home minister sharma

नवनियुक्त गृहमन्त्री जनार्दन शर्मा गृहमन्त्रालयमा पदभार ग्रहण गर्नुहुँदै । तस्बिर ः रत्न श्रेष्ठ, रासस ।

काठमाडौँ, २४ जेठ । गृहमन्त्री जनार्दन शर्माले सुरक्षा सङ्गठनमा देखिएका समस्याहरु निराकरण गर्न सिपाहीसम्मको सुझाव लिएर आवश्यक नीति निर्माण र सङ्गठनको पुनःसंरचना गरिने बताउनुभएको छ ।

आज गृहमन्त्रालयमा पद बहालीपछि कर्मचारी तथा सुरक्षा निकायलाई निर्देशन दिँदै गृहमन्त्री शर्माले भन्नुभयो – “तपाईंहरुको इमान्दारितालाई सम्पूर्णरुपमा जनताको सेवामा प्रयोग गर्नेछु । गृहमन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रय अनुसन्धान विभागलाई राजनीतिक उद्देश्यका लागि चलखेल गर्ने, सरकारको नीति र योजना कार्यान्वयनमा भेदभाव गर्ने र अनुशासन तोड्ने कार्यमा छुट दिने छैन ।”

उहाँले सुरक्षा निकायको चेन अफ कमाण्डमा कडाइ गरिने तथा प्रचारबाजी गर्ने, वक्तव्य दिने, अनावश्यक अन्तर्वार्ता दिने जस्ता प्रवत्तिको अन्त्य गरिने प्रष्ट पार्नुभयो ।

गृहमन्त्री शर्माले भन्नुभयो, “जनताले चाहेजस्तो नेपाल प्रहरी हुनेछ । जनताले चाहे जस्तो सशस्त्र प्रहरी बल हुनेछ । देशले चाहेजस्तो अनुसन्धान विभाग हुनेछ । देशको संवेदनशील विषय हेर्ने अनुसन्धान विभागलाई आवश्यक पुनःसंरचना गरिनेछ ।”

मूल्याङ्कनको माध्यम परिवर्तन गरी जनता र सिपाहीबाट गरिएको मूल्याङ्कनलाई सही मूल्याङ्कन मानिने उहाँले जानकारी दिनुभयो । मन्त्रालय र यसअन्तर्गतका निकायको परिवर्तन र सुधारको सम्बन्धमा केही दिनमै योजना सार्वजनिक गरिने दृढता पनि उहाँले व्यक्त गर्नुभयो ।

मन्त्री शर्माले पहिलो निर्णयको रुपमा दोस्रो चरणको स्थानीय तहको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र सफलतापूर्वक सम्पन्न गर्न गृह मन्त्रालय र सुरक्षानिकाय र समस्त कर्मचारीलाई निर्देशन दिनुभयो ।

यस्तो छ गृहमन्त्री शर्माको जीवनी 

रुकुम जिल्लाको मुसिकोट नगरपालिका–५ (तत्कालीन खलङ्गा गावि सेरीगाउँ)मा स्कन्द शर्मा र नर्मदा शर्माको जेठो सन्तानको रुपमा गृहमन्त्री जनार्दन शर्माको विसं २०२० सालमा जन्म भएको हो ।

यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा ऊर्जा मन्त्रालयको नेतृत्व सम्हालेर विद्युतभार कटौतीमा महत्वपूर्ण भूमिका खेलेर चर्चा बटुल्नुभएका शर्मा स्थानीय तहको दोस्रो चरणको निर्वाचन, सङ्घ र केन्द्रको निर्वाचनका लागि शान्ति सुरक्षाको महत्वपूर्ण भूमिका निभाउनुपर्ने गृह मन्त्रालयको जिम्मेवारीमा आइपुग्नुभएको छ ।

यसअघि पहिलोपटक विसं २०६५ सालमा प्रचण्ड प्रधानमन्त्री हुँदा शान्ति तथा पुनःनिर्माण मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका शर्मासँग माओवादी जनसेनाको डेपुटी कमान्डरको भूमिका निभाएको अनुभव छ ।

उहाँ त्रिभुवन विश्वविद्यालयमा एमए अध्ययन गर्दागर्दै सशस्त्र सङ्घर्षका क्रममा २०५२ सालदेखि भूमिगत हुनुभयो । शर्माले जेटिए भई पाँच वर्ष काम पनि गर्नुभयो ।

उहाँ संविधानसभाको पहिलो र दोस्रो निर्वाचनमा रुकुम क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री