लन्डन । ब्रिटेनको इतिहासमा सबैभन्दा लामो समय राजगद्दी सम्हाल्ने महारानी हुन् एलिजावेथ द्वितीय । सन् १९५२ फेब्रुअरी ६ देखि हालसम्म राजगद्दीमा आसिन छन् उनी । संयुक्त अधिराज्य बाहेक क्यानाडा, अष्ट्रेलिया र न्यूजिल्याण्ड समेतकी रानी एलिजावेथ द्वितीय लाई बेलायतमा संविधानको संरक्षकका रुपमा पनि लिइन्छ ।
बेलायती जनता र विश्वमाझ लोकप्रिय यी महारानीका विश्वासिला सैनिक हुन् गोर्खा । क्याप्टेन ललित गुरुङ (एमभिओ) र क्याप्टेन गणेश तामाङ यतिखेर बेलायती महारानीको सुरक्षामा खटिएका छन् दि क्वीन्स् गोर्खा अर्डर्ली अफिसर्सका रुपमा । बकिङहम प्यालेस होस् वा विभिन्न शहरमा रानी सवारी हुने समारोह, रानीको गार्डिङ जिम्मेवारी हुन्छ ललित र गणेशलाई ।
‘सभा समारोह र पार्टीमा महारानीसंगै हिंडेर सुरक्षा दिने, रानीको रेखदेख र काम पर्दा अगाडि उपस्थित हुने हाम्रो जिम्मेवारी छ’, ललितले भने, ‘रानीलाई गोर्खाप्रति पूर्ण विश्वास छ । रोचक के भने समारोहमा रानीसंग हिंड्दा हामीबाहेक अरुलाई हातहतियार बोक्न निषेध छ ।’
उनीहरुले यो जिम्मेवारी पाएको ९ महिना बितेको छ । अब अगष्टसम्म बांकी छ यस्तो दायित्व । हालसम्म उनीहरु रानीको ३५ वटा औपचारिक कार्यक्रमसहित दरबारमा भएका गार्डेन पार्टी र प्यालेसबाहिर कयौं कार्यक्रममा सरिक भइसके ।
‘हाम्रा बाबु बाजेको विश्वासले गर्दा यस्तो जिम्मेवारी पाएका छौं, गर्व लाग्छ’, ललित दंग हुंदै भन्छन्, ‘यस्तो जिम्मेवारी पाउनु चानचुने होइन । गोर्खा बटालियन अफिसरबाट वर्षेनी उत्कृष्ट दुई जना छान्दा हामी परयौं ।’
रानी आफ्नो मात्र होइन, समस्त ब्रिगेड अफ गोर्खाजको आमा सरह भएको बताउंछन् ललित । ललितका बाजे इन्डियन आर्मीमा थिए । बाबा रिटायर्ड क्याप्टेन (क्यूजिओ) सूर्ज बहादुर गुरुङले पनि रानीलाई गार्डिङ गरेका थिए । ‘हाम्रो पुस्ताले पनि यस्तो मौका पाउंदा गर्व लाग्छ’, उनले सुनाए । ललितका दाई पनि ब्रिटिश आर्मीमै थिए, कलर सार्जन्टबाट अवकास लिए ।
सन् १८७६ बाट दरबारले वर्षेनी दुई जना गोर्खालाई दि क्वीन्स् गोर्खा अर्डर्ली अफिसर्स नियुक्त गर्ने प्रचलन शुरु भएको ललितले बताए । पहिलो र दोश्रो विश्वयुद्धले बीचमा यो रोकिएपनि क्वीन भिक्टोरियाले सन् १९५४, ११ मार्चदेखि फेरि शुरु गरेको इतिहास छ ।
कास्कीको वारचोक गाउंबाट अहिले पोखरा माटेपानी बसाइ सरेको छ उनको परिवार । सन् १९९२ मा ब्रिटिस आर्मीमा भर्ती भएपछि ललित कोसोभो, बोस्निया, सेरालिओन र अफगानिस्तान खटिइसके । अफगानिस्तान युद्धमामात्र तीनपटक खटिएको उनले बताए ।
वानआरजिआरका क्याप्टेन ललितले रानीको कोहीप्रति चासो लिएर सोधखोज र ख्याल गर्ने बानी भएको बताए । गत मार्चमा रानीले दरबारमा ललितलाई मेम्बर अफ द रोयल भिक्टोरियन अर्डर (एमभिओ) पदक दिने बेला सर्भिसका लागि धन्यवाद दिंदै सोधेकी थिइन्, ‘नेपालमा कस्तो छ अहिले ? स्थानीय चुनाव के हुंदैछ ? अहिले ब्रुनाइमा रहेको वानआरजिआर यूके कहिले आउंछ ?’
‘मेरो धेरै अगाडिदेखि गोर्खासंग भावनात्मक सम्वन्ध छ । मेरो विश्वासिलो र उत्कृष्ट रोजाइको आर्मी गोर्खा हुन्’, रानीको भनाइ उधृत गर्दै ललितले भने ।
रानी ९१ वर्ष उमेरको भएपनि ‘फिट एण्ड फाइन’ भएको बताउंछन् उनी । ‘दरबारभित्र कुनै समारोह हुंदा उहां झण्डै डेढ दुई घण्टासम्म लगातार उभिएर गफ गर्न सक्नुहुन्छ’, उनले सुनाए, ‘रानी भन्दैमा घुम्ने, खाने बस्ने, सुत्ने मात्र बानी उहांको छैन् । बिहान साढे ६ बजेतिर उठेर ब्रेकफास्ट खाएपछि निजी चिकित्सक, नर्सले स्वास्थ्य जांच गरेपछि अफिस बसेर नियमित काम गर्नुहुन्छ महारानी ।’
रानीले बकिङहम प्यालेसभन्दा वीन्जर क्यासलमा बस्न मन पराउने उनले सुनाए ।
रानीको समारोह नभएका बेला ब्रिगेड अफ गोर्खाज हेडक्वाटर स्यान्डस्र्टमा कार्यरत हुन्छन् उनी । ललितका एक छोरा, एक छोरी र श्रीमति छन् ।
नेपालमय बन्यो सान् फ्रान्सिस्को [तस्बिरहरु]
एनआरएनएले भन्यो – ‘नेपाल सरकारको नीति तथा कार्यक्रम स्वागतयोग्य’
तमु धीं यूकेले गर्यो गोर्खा कपमा मुख्य विधातर्फ ४० टिम पुर्याउने घोषणा, टिम दर्ताको समय मे १६ सम्म
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?
नेपालको प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस