काठमाडौँ, ३० वैशाख । आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतदानका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा भएको छ ।
झन्डै दुई दशकपछि यही वैशाख ३१ गते हुन गइरहेको स्थानीय निर्वाचनमा मतदान गर्न मतदाता व्यग्र प्रतीक्षामा छन् । सो निर्वाचनअन्तर्गत गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उपप्रमुख तथा दुवै तहका वडाध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य गरी जम्मा सात पदका लागि निर्वाचन हुँदैछ ।
प्रदेश नं ३, ४ र ६ अन्तर्गत ३४ जिल्लाका दुई सय ८३ स्थानीय तहमा पहिलो चरणको निर्वाचन हुँदैछ । सो निर्वाचनमा छ हजार छ सय ४२ मतदान केन्द्रमा आवश्यक मतदान सामग्री तथा कर्मचारीसहित मतदान अधिकृत सम्बन्धित मतदान केन्द्रमा पुगिसकेका छन् ।
नेपालको संविधान कार्यान्वयन मात्र होइन स्थानीयस्तरसम्म सङ्घीयता कार्यान्वयनका लागि कोसेढुङ्गा मानिएको निर्वाचनले जनताको सुख–दुःख हेर्ने तथा घर छेउको सरकारको नेतृत्व गर्ने जनप्रतिनिधि निर्वाचित गर्नेछ ।
अपाङ्गता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई मतदानमा प्राथमिकता दिने व्यवस्था गरिएको आयोगका प्रवक्ता शर्माले जानकारी दिनुभयो । दृष्टिविहीन वा शारीरिक अशक्तता भएका मतदाताले आफैंँ मत सङ्केत गर्न नसकेमा परिवारका सदस्यले मतदान अधिकृतको स्वीकृति लिएर वा मतदान अधिकृतको सहयोगमा मत सङ्केत गर्न सक्नेछन् ।
निर्वाचन गोप्य मतदानको प्रक्रियाद्वारा एक पद एक मतका आधारमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा हुँदैछ । निर्वाचनबाट चार महानगरपालिका, एक उपमहानगरपालिका, ९२ नगरपालिकाका प्रमुख उपप्रमुख तथा एक सय ८६ गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष निर्वाचित हुँदैछन् ।
त्यस्तै कुल दुई हजार पाँच सय ९८ वडामा पाँच जनाका दरले १३ हजार पाँच सय ५६ प्रतिनिधि निर्वाचित हुनेछन् । निर्वाचनमा कुल ४९ हजार तीन सय ३७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । तीमध्ये ६१ प्रतिशत पुरुष र ३९ प्रतिशत महिला छन् । निर्वाचनमा एक सय ६० महिला र एक सय ६९ पुरुष उम्मेदवार निर्विरोध निर्वाचित भइसकेको आयोगले जनाएको छ । पहिलो चरणको निर्वाचनमा ४९ लाख ५६ हजार नौ सय २५ मतदाताले मतदान गर्दैछन् ।
गृह मन्त्रालयले निर्वाचनको सबै सुरक्षा व्यवस्था तयारी गरेको छ । मन्त्रालयका अनुसार पहिलो चरणको निर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान प्रहरी गरी ६४ हजार प्रहरी परिचालन गरिएको छ । त्यस्तै नेपाली सैनिक पहिलो चरणको निर्वाचनको सुरक्षाका लागि करिब ३१ हजार खटाइएको छ । काठमाडौँ, हेटाँैडा, पोखरा र सुर्खेतमा निर्वाचनका लागि हेलिकोप्टर तयारी अवस्थामा राखिएको जनाइएको छ ।
मतदान कसरी गर्ने
निर्वाचनमा मतपत्र बदर नहोस् भनेर आयोगले मतदाता शिक्षा अभियानमार्फत मतपत्र र मतदान गर्ने तरिकाका बारेमा सचेतना अभियान अघि बढाएको छ ।
निर्वाचनमा छ आकारका मतपत्र छन् । सबैभन्दा बढी ६८ लहर (चुनाव चिह्न) भएको काठमाडौँलगायत जिल्लाको मतपत्र छ भने सबैभन्दा सानो थोरै दल दर्ता भएको मनाङलगायत जिल्लामा १८ लहर भएको मतपत्र छ । अन्य जिल्लामा ४४, ३६, २८ र २२ लहर भएको मतपत्र रहेको आयोगले जनाएको छ ।
मतपत्रमा पहिलो ठाडो लाइनमा अध्यक्ष वा प्रमुख, दोस्रो लाइनमा उपाध्यक्ष वा उपप्रमुख, तेस्रो लाइनमा वडाध्यक्ष, चौथौ लाइनमा महिला सदस्य, पाँचौँ लाइनमा दलित महिला सदस्य तथा छैटांै र सातौं ठाडो लाइनमा दुई अन्य खुला वडा सदस्यका लागि चिह्न रहेको छ ।
संसद्मा प्रतिनिधित्व गर्ने दलका उम्मेदवारका लागि मतदातालाई उम्मेदवार पहिचान गर्न सहज होस् भनेर छैटौँ लाइनमा एक चुनाव चिह्न र सातौँमा एकै दलका दुई चुनाव चिह्न राखिएको छ । खुला दुई वडा सदस्यका बारेमा मतदातालाई पहिचान गर्न उम्मेदवारको वर्णानुक्रमानुसार पहिलोलाई एक चिह्न र दोस्रोलाई दुई चिह्नको व्यवस्था गरिएको आयोगले जनाएको छ । स्वतन्त्र उम्मेदवारका लागि भने सबै लाइनमा एकै चुनाव चिह्न राखिएको छ ।
मतदानका लागि मतदाताले सबै मतपत्रका सबै लाइनमा स्वस्तिक छाप नै लगाउनुपर्छ । सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको मतपत्रबाट मतदान गरेमा, औँठाछाप लगाई वा स्वस्तिक छापबाहेक अन्य चिन्ह वा छाप लगाई मत सङ्केत गरिएको मत बदर हुन्छ । उम्मेदवारको निर्वाचन चिह्न रहेको कोठामा मत सङ्केत नगरी अन्यत्र मत सङ्केत गरेमा र निर्वाचित गर्नुपर्ने सङ्ख्याभन्दा बढी उम्मेदवारको निर्वाचन चिह्न भएको कोठामा छुट्टाछुट्टै मत सङ्केत गरेमा पनि मत बदर हुन्छ ।