नर्सिङ एसोसिएसनले प्रसुति केन्द्र बनाउन च्यारिटी गर्ने

लन्डन । नेपलिज नर्सिङ एसोसिएसन यूकेले नेपालको जुम्लामा प्रसुति केन्द्र निर्माण सहयोगार्थ एक च्यारिटी गर्ने भएको छ । आगामी २६ अगष्ट २०१७ सांझ लन्डन साउथ हयारोस्थित हयारो बरो फुटबल क्लवमा कार्यक्रम हुन लागेको हो ।

एसोसिएसनकी महासचिव रस्मिता दर्लामीका अनुसार च्यारिटीमा औपचारिक कार्यक्रम सहित सांस्कृतिक प्रस्तुति, डिनर, डिजे, राफल र अक्सन हुनेछ । जुम्लामा प्रसुति केन्द्र अभावले महिलाहरु अकालमै ज्यान गुमाउन वाध्य भइरहंदा एक केन्द्र स्थापना गरि त्यस भेगका महिलाको स्वास्थ सेवा गर्न लागिएको दर्लामीले बताइन् ।

एसोसिएसनकी अध्यक्ष प्रसुना कंडेलले च्यारिटी कार्यक्रममा आएर मानवीय सहयोग गर्न सबैमा अपिल गरेकी छन् । एसोसिएसनले यस प्रोजेक्ट शुरु गर्न ४० हजार पाउण्ड पठाउने लक्ष्य लिएको छ । बांकी चन्दा क्रमशः पठाइनेछ ।

एसोसिएसनले प्रसुना कंडेलको संयोजकत्वमा यस प्रोजेक्ट सन् २०१४ मा गर्ने योजना बनाएपनि लगत्तै भूकम्पले स्थगित भएको थियो । भूकम्पपछि संस्थाले 
प्रोजेक्टको सट्टा भूकम्प पीडितकै सहयोगको लागि फिल्डमा गएर राहत वितरण तथा उपचार गरेको थियो ।

त्यसपछि संस्थाले भूकम्प अति प्रभावित सिन्धुपाल्चोक र गोरखामा एक एक गरि दुईवटा विद्यालय बनाइसकेको छ । संस्थाले प्रसुति केन्द्र प्रोजेक्टका लागि राधा पौडेलको ‘एक्सन वक्स नेपाल’ संस्थासंग सहकार्य गरिरहेको छ । नर्स समेत रहेकी पौडेलको ‘खलंगामा हमला’ पुस्तकले मदन पुरस्कार पाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री