‘भाग्यले बांचेकाहरु’ का निर्देशक र निर्मात्री सम्मानित

तस्विरः मिलन तमु

लन्डन । चर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बांचेकाहरु’ का निर्देशक गणेश पाण्डे र निर्मात्री शारदा गैरेलाई बेलायतमा अभिनन्दन गरिएको छ ।

लमजुङ समाज यूकेले अल्डरसटमा एक कार्यक्रम गरी निर्देशक पाण्डे र निर्मात्री गैरेलाई सम्मान गरेको हो । शुक्रबार सांझ आयोजित कार्यक्रममा समाजका अध्यक्ष बोहत गुरुङले लमजुङमा जन्मेर संसारभर नेपालको नाम राख्न सफल भएको भन्दै निर्देशक पाण्डे र उनकी धर्मपत्नीसमेत रहेकी निर्मात्री गैरेलाई सम्मानपत्रसहित सम्मान गरे । कार्यक्रममा लमजुङ समाजका सल्लाहकार एकेन्द्र गुरुङले निर्देशक पाण्डेको व्यक्तित्वका बारेमा चर्चा गर्दै आगामी दिनमा पनि उत्कृष्ट डकुमेन्ट्री निर्माणका लागि शुभकामना दिए ।

कार्यक्रममा लमजुङ समाजका साथै आमा समूहका तर्फबाट उनीहरुलाई सामूहिक रुपमा खादा लगाएर सम्मान गरिएको थियो । कार्यक्रममा ‘भाग्यले बांचेकाहरु’ पनि प्रदर्शन गरिएको थियो । ‘भाग्यले बांचेकाहरु’ हेर्दा धेरैको आंखा रसाएका थिए ।

‘भाग्यले बांचेकाहरु’ बेलायतका विभिन्न शहरमा

यसैबीच भाग्यले बांचेकाहरु बेलायतको विभिन्न शहरमा प्रदर्शन हुंदैछ । उक्त वृत्तचित्र आइतबार उत्तरी आयरल्याण्डको बेल्फास्टमा नेपाली समुदायले प्रदर्शन गर्दैछ । प्रदर्शनमा भाग लिन ‘भाग्यले बांचेकाहरु’ का निर्देशक पाण्डे र निर्मात्री गैरे उत्तरी आयरल्याण्ड पुगेका छन् ।

यसैगरी, सहारा क्लब यूकेले आगामी शनिबार सांझ ७ उलवीचस्थित ट्रामसिड थियटर र आइतबार सांझ ७ बजे अल्डरसटस्थित एम्पाएर हलमा प्रदर्शन गर्ने भएको छ ।

भाग्यले बांचेकाहरु गत साता बेलायतको संसद भवनमा प्रदर्शन भएको थियो । भूकम्पमा चमत्कारिक रुपमा बांच्न सफल नेपालीहरुको कथामा बनेको ‘भाग्यले बांचेकाहरु’ ले एक दर्जन अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको छ । वृत्तचित्र विश्वका १३ वटा भाषामा अनुवाद भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री